• Monday, May 19, 2025

खोटाङ कलाकार उत्पादन गर्ने नर्सरी हो : मन्त्री किराती

खोटाङ, साउन २९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले खोटाङ कलाकारहरू उत्पादन गर्ने नर्सरी भएको बताउनुभएको छ । खोटाङ कलाकार समाजले आयोजना गरेको ‘खोटाङ प्रतिभा-२०८०’ को फाइनल अडिसन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री किरातीले खोटाङले जन्माएका कलाकारहरू विश्वभर स्थापित भएको बताउनुभयो ।

किरातीहरुको उद्गम थलो खोटाङ नै भएकाले पनि खोटाङ कलाकारको लागि नर्सरी भएको मन्त्री किरातीले दाबी गर्नुभयो । “किरात मुन्दुम आफैँमा सङ्गीतबद्ध हुन्छ । खोटाङ किरातीको उद्गम थलो भएकाले पनि गीत-सङ्गीतमा लाग्ने कलाकारको लागि खोटाङ नर्सरी भएको हो”, पुर्ख्यौली थलो खोटाङ भएका मन्त्री किरातीले भन्नुभयो, “खोटाङ्गे भएकाले मलाई पनि गर्व लाग्छ । पछिल्लो समय खोटाङबाट धेरै प्रतिभा जन्मिएका छन् । उनीहरूलाई बाटो देखाउनु अग्रजहरूको महत्त्वपूर्ण भूमिका हुन्छ ।”

खोटाङ्गे अग्रज कलाकारले चुमेको शिखरलाई नवप्रतिभाहरुले धानेर राख्नुपर्ने पनि मन्त्री किरातीले नवप्रतिभालाई आग्रह गर्नुभयो । कला, संस्कार र संस्कृति संरक्षणमा मन्त्रालयले खेल्नुपर्ने भूमिकाको विषयमा आफू गम्भीर भएको अगाडि बढेको पनि उहाँले जानकारी दिनुभयो ।

खोटाङ कलाकार समाज र खोटाङ सेवा समाज बेलायत (यूके) ले संयुक्त रूपमा आयोजना गरेको ‘खोटाङ प्रतिभा-२०८०’ छनोटको प्रतियोगिताको फाइनल अडिसन राष्ट्रिय नाचघर जमल, काठमाडौँमा सञ्चालन भइरहेको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतिभालाई क्रमशः : नगद दुई लाख दुई हजार, एक लाख एक हजार र ५१ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक खोटाङ कलाकार समाजका अध्यक्ष एवं गायक तथा सङ्गीतकार रूपकुमार राईले जानकारी दिनुभयो ।

प्रतियोगितामा खोटाङ जिल्लाका दश वटै स्थानीय तहबाट गायन तथा नृत्य विद्यामा एक-एक जना गरी २० प्रतिभाले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगिताको गायनतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट प्रदीप राई, हलेसी तुवाचुङ नगरपालिकाबाट अस्विन राई, बराहपोखरी गाउँपालिकाबाट लक्ष्मण परियार, जन्तेढुङ्गा गाउँपालिकाबाट दुर्गा राई, खोटेहाङ गाउँपालिकाबाट विकास राई, दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट दिलीप राई, केपिलासगढी गाउँपालिकाबाट राजेश राई, ऐसेलुखर्क गाउँपालिकाबाट सुमन राई, रावाबेँसी गाउँपालिकाबाट ममता राई र साकेला गाउँपालिकाबाट रवीन दियाली सहभागी छन् ।

नृत्यतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट सलिना भुजेल, हलेसी तुवाचुङ नगरपालिकाबाट स्मृति राई, बराहपोखरी गाउँपालिकाबाट सुवास विश्वकर्मा, जन्तेढुङ्गा गाउँपालिकाबाट करुणा राई, खोटेहाङ गाउँपालिकाबाट कविता श्रेष्ठ, दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट मनिता राई, केपिलासगढी गाउँपालिकाबाट सौलिना तामाङ, ऐसेलुखर्क गाउँपालिकाबाट सरिना राई, रावाबेँसी गाउँपालिकाबाट चिजन मगर र साकेला गाउँपालिकाबाट मेनुका राई सहभागी छन् ।

फाइनल अडिसनलाई रोचक र प्रभावकारी बनाउन जिल्लाका दश वटै स्थानीय तहबाट छनोटमा परेका नवप्रतिभालाई महिना दिनअघि काठमाडौँ झिकाएर प्रशिक्षण दिने कामसमेत गरिएको आयोजक खोटाङ कलाकार समाजका महासचिव पार्वन राईले जानकारी दिनुभयो ।

जिल्लाको ग्रामीण तथा सुदूर गाउँहरूमा लुकेर तथा छलिएर बसेका सयौँ प्रतिभाहरूमध्ये प्रत्येक पालिकाबाट गायन तथा नृत्य विद्यामा तीन÷तीन जना प्रतिभा छनोट गरिएको जनाइएको छ । पालिकास्तरीय प्रतियोगिताबाट दुई विद्यामा ३०/३० जना नवप्रतिभा छनोट गरिए पनि काठमाडौँमा हुने फाइनल प्रतिस्पर्धामा दुवै विद्यामा प्रथम भएका एक/एक जना प्रतिभालाई मात्र सहभागी गराइएको आयोजकले जनाएको छ ।

खोटाङ घर भई काठमाडौँलाई कार्यक्षेत्र बनाएर गीत/सङ्गीतलाई आफ्नो पेसाको रूपमा अङ्गालेका खोटाङ्गे कलाकारहरूले वि.सं.२०७७ मा ‘खोटाङ कलाकार समाज’ गठन गरेको थियो । कला र साहित्यमा रुचि राखेर त्यसैमा आफ्नो भविष्य खोज्दै निरन्तर सङ्घर्ष गरिरहेका खोटाङ्गे कलाकारहरूको साझा मञ्चको रूपमा खोटाङ कलाकार समाज स्थापना गरिएको उनीहरूले बताएका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter