अनुमति नलिएका पसललाई ग्यास बेच्न रोक
कोकिला ढकाल / इलाम, भदौ ६ गते । जिल्ला प्रशासन कार्यालयले अनुमतिबिना खाना पकाउने ग्यास बेच्ने पसललाई विक्रीमा रोक लगाएको छ । प्रशासनले गरेको अनुगमनमा विक्री अनुमति लिएको नपाइएपछि जिरो किलोमिटर र कुलधारामा रहेका दुई पसललाई ग्यास बेच्न नपाउनेगरी रोक लगाइएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव कोइरालाले कुुलधारको पसलमा ५१ भरी र दुई सय दुई खाली सिलिन्डर ‘सिल’ गरिएको बताउनुभयो । उहाँका अनुसार जिरो किलोमिटरको अर्काे पसलमा पनि ९८ भरी र ६ खाली सिलिन्डर बेच्न रोकिएको छ । दुवै पसलका सञ्चालकलाई तीन दिनभित्र प्रशासन कार्यालयमा हाजिर हुन भनिएको छ ।
अनुगमनक्रममा कतिपय सिलिन्डर म्याद गुज्रिएका पाइएको छ । यस्ता १३ सिलिन्डर अनुगमन टोलीले जफत गरेको छ । म्याद नलेखिएका खानेपानीका ६ जार पनि बरामद गरिएको प्रशासनले जनाएको छ ।