• Wednesday, May 14, 2025

स्वयम्सेविकाले खोजे अधिकारको संरक्षण

काठमाडौँ, भदौ ७ गते । नेपाल, भारत र पाकिस्तानका सामाजिक कार्यकर्ता (स्वयम्सेविका) ले श्रमिकका रूपमा आफूहरूको अधिकारको सम्मान, संरक्षण र प्रवर्धन गर्न सरकारसँग माग गरेका छन् । पब्लिक सर्भिसेज इन्टरनेसनलले काठमाडौँमा आयोजना गरेको तीन देशका महिला स्वास्थ्य स्वयम्सेविका भेलामा सहभागीले यस्तो माग गरेका हुन् ।

देशको स्वास्थ्य प्रणाली सुधारमा महत्त्वपूर्ण योगदान गरेका स्वयम्सेविकाबाट राज्यले काम पर्याप्त लिएको तर श्रमको मूल्य नदिएको भन्दै स्वयम्सेविकाले मासिक पारिश्रमिकको माग गरेका छन् ।

नेपालमा महिला स्वास्थ्य स्वयम्सेविका, भारतमा ‘आशा’ र पाकिस्तानमा ‘लेडी हेल्थ वर्कर्स’ भनेर चिन्ने गरिन्छ । परिचय देशगत रूपमा फरक भए पनि काम एउटै भएको भन्दै तीनै देशका स्वयम्सेविकाले काठमाडौँमा एक कार्यक्रम आयोजना गरी साझा मागपत्र सार्वजनिक गरेका छन् ।

मागपत्रमा स्वयम्सेविकालाई सार्वजनिक स्वास्थ्यकर्मीको पहिचानसहित मर्यादित पारिश्रमिक नियमित रूपमा उपलब्ध गराइनुपर्ने, आफूहरूको पारिश्रमिक देशको न्यूनतम वेतनभन्दा कम हुन नहुने, पारिश्रमिक निर्धारण गर्दा स्वयम्सेविकाका युनियनसँग छलफल गर्नुपर्ने, श्रम ऐन अन्तर्गत श्रमिकले प्राप्त गर्ने सामाजिक सुरक्षा, पेन्सन, बिरामी बिदा, हेरचाह जस्ता सुविधा आफूहरूले पनि पाउनुपर्ने उल्लेख छ ।

यस्तै स्वयम्सेविकाको सङ्गठनलाई राष्ट्रिय, प्रदेश र स्थानीय तहमा नियमित सामाजिक संवाद सहयात्रीको पहिचान दिनुपर्ने, व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाको ग्यारेन्टी, मर्यादित र सम्मानजनक काम, हेरचाहको अधिकार हुनुपर्नेमा पनि माग गरिएको छ ।

नेपालका महिला स्वास्थ्य स्वयम्सेविकाको सङ्गठन ‘नेभा’ का अध्यक्ष गीतादेवी थिङले महिला स्वास्थ्य स्वयम्सेविकालाई कामको अत्यन्त बोझ भएको तर सरकारले पारिश्रमिकको विषयमा बेवास्ता गरेको बताउनुभयो । राज्यको स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई घर घरसम्म पु¥याउँदै आएका महिला स्वास्थ्य स्वयम्सेविकाका लागि छुट्टै बजेटको व्यवस्था हुनुपर्ने उहाँको भनाइ छ । सो अवसरमा भारतीय स्वयम्सेविका युनियनको प्रतिनिधित्व गर्दै अर्चना मिश्राले आफूहरूले सरकारी कर्मचारीसरह काम गरे पनि पारिश्रमिकमा भने विभेद गरिएको बताउनुभयो । उहाँले आफूहरूलाई कर्मचारी मान्न नै तयार नरहेको भन्दै तर सरकारले सञ्चालन गर्ने स्वास्थ्यसम्बन्धी कार्यक्रमदेखि निर्वाचनसम्म आफूहरू खटिनु परेको गुनासो गर्नुभयो ।

पाकिस्तानको ‘लेडी हेल्थ वर्कर्स’ युनियनको प्रतिनिधित्व गर्दै पन्जाब लेडी हेल्थ वर्कर्स युनियनकी अध्यक्ष इरुम फातिमाले पाकिस्तानमा कसरी सामुदायिक स्वास्थ्यकर्मी सङ्गठित भए र मासिक तलब प्राप्त गर्न सफल भए भन्नेबारेमा जानकारी दिनुभयो ।

नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले महिला स्वास्थ्य स्वयम्सेविकाले श्रम अनुसार पारिश्रमिक नपाइरहेको भन्दै उहाँहरूको अधिकार स्थापित गराउन आफ्नो युनियनले पहल गर्ने बताउनुभयो । उहाँले स्वास्थ्य स्वयम्सेविकालाई सङ्गठित हुन आह्वान गर्दै एकजुट भएर आफ्नो अधिकारको आवाज उठाउन आग्रहसमेत गर्नुभयो । नेपालमा गाउँघरसम्म पुगेर स्वास्थ्य सेवा प्रदान गर्दै आएका महिला स्वास्थ्य स्वयम्सेविकालाई पब्लिक सर्भिसेज इन्टरनेसनलले सङ्गठित हुन प्रशिक्षित गर्दै आएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter