• Tuesday, May 20, 2025

सुशासन र समृद्धिका लागि राष्ट्रिय सहमति : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, भदौ १० गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउन आफूले सदैव राष्ट्रिय सहमतिमा जोड दिएको बताउनुभएको छ।

मुलुकलाई स्थिरता, स्थायित्वको साथै समृद्धि र सुशासनको नयाँ यात्रामा लैजानुको विकल्प नरहेको उल्लेख गर्दै उहाँले त्यसका लागि राष्ट्रिय सहमति बनाएर अघि बढ्ने प्रयास आफूले गरिरहेको बताउनुभयो।

आइतबार ललितपुरको भैँसेपाटीमा निर्माण गरिएको प्रदेश प्रमुख र मुख्यमन्त्रीको निवास उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले पनि आफ्नो क्षेत्रमा सामाजिक न्याय, सुशासन र समृद्धिको क्षेत्रको कामलाई प्राथमिकताका साथ अघि बढाउने विश्वाससमेत व्यक्त गर्नुभयो।

ललिता निवास प्रकरणको सबै अभियोजन सरकारी वकिलको कार्यालयमा बुझाएको स्मरण गर्दै उहाँले आजको दिनलाई आफूले सुशासनको पक्षमा एक कदम अगाडि बढेको दिनको रूपमा लिएको पनि बताउनुभयो। त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले भवनले नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको चित्र प्रस्तुत गरेको भन्दै त्यसमा सबैले गर्वको महसुस गर्नुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘प्रदेशहरु र स्थानीय जनप्रतिनिधिले पनि आ–आफ्नो कार्यक्षेत्र भित्र सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रालाई अगाडि बढाउने छन् भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु। यो पटक हामीलाई स्थिरता, स्थायित्वको साथै समृद्धिको र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प छैन। मैले यो पक्षमा एउटा समझदारी बनाएर, राष्ट्रिय सहमति बनाएर अगाडि जाने प्रयास गर्दै आएको छु। आजको दिन, कस्तो दिन पनि परेको महसुस गरेँ भने ललिता निवास प्रकरणको सबै अभियोजन आज सरकारी वकिल कार्यालयमा बुझाएको दिन परेको छ। सुशासनको पक्षमा हामी एक कदम अगाडि बढ्ने दिन पनि भन्न सकिन्छ।’’

प्रधानमन्त्री प्रचण्डले प्रदेशको कामकारबाहीलाई अझ बढी प्रभावकारी बनाउन पनि प्रदेश प्रमुख र मुख्यमन्त्रीको निवास उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो। सङ्घीयतामाथि प्रश्न उठाउनेलाई पनि सो निवास निर्माणले बलियो जवाफ दिएको उल्लेख गर्दै उहाँले सङ्घीयताको संस्थागत विकासमा पनि यसले योगदान पुर्‍याएको बताउनु भयो।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘यो हाम्रा प्रदेशलाई प्रभावकारी बनाउने कुरासँग सम्बन्धित छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने सन्दर्भमा बेला मौकामा केही मानिसले प्रश्न उठाउने गर्छन्। त्यसको एउटा जवाफ यो हो जस्तो पनि लागेको छ। भवनको उद्घाटन गर्दैगर्दा, साँचो हस्तान्तरण गर्दैगर्दा, प्रदेश प्रमुखजी र मुख्यमन्त्रीजीलाई मैले एक कदम भए पनि सङ्घीयको संस्थागत गर्ने क्रममा चाहिँ यो हामी अगाडि बढेका छौँ भन्ने मैले महसुस गरेको छु। अब यहाँ रहेर प्रदेश प्रमुख र मुख्यमन्त्रीले आफ्नो जिम्मेवारी र कार्यभारलाई अझ प्रभावकारी ढङ्गले, अझ सफलताका साथ सम्पन्न गर्नुहुनेछ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु।’’

प्रधानमन्त्री दाहालले सङ्घीय मन्त्रीको निवासको कामले पनि केही महिनाभित्रै पूर्णता पाउने बताउनुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter