निजी विद्यालयले शिक्षामा गरेको लगानीको कदर भएन’

साबित्री गिरी / कोहलपुर, भदौ २३ गते । निजी विद्यालयले गुणस्तरीय शिक्षाका लागि पर्याप्तता लगानी गरेको तर राज्यले सोअनुसार कदर नगरेको वक्ताहरूले बताएका छन् । विद्यालयको अवस्था सुधार, गुणस्तर वृद्धि तथा शिक्षकको क्षमता विकासलगायतका सवालमा निजी विद्यालय अब्बल हुँदा समेत कदर नगरेको उहाँहरूको गुनासो छ ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल बाँके समितिको नवौँ जिल्ला अधिवेशनको उद्घाटन समारोहमा बोल्ने वक्ताहरूले राज्यले सरकारी विद्यालयलाई काखा र निजी विद्यालयलाई पाखा गर्न नहुने सुझाव दिनुभयो ।

नेशनल प्याब्सन बाँकेका अध्यक्ष श्याम कुवरको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालका राष्ट्रिय अध्यक्ष पाण्डव हमालले सरकारको निजी विद्यालयप्रतिको व्यवहार नितान्त विभेदकारी भएको आरोप लगाउनुभयो । सरकारले अघि सारेको शिक्षा विधेयक यथास्थितिमा पारित गर्न खोजे आफूहरूलाई मान्य नहुने उहाँको भनाइ छ ।

पूर्व अध्यक्ष कर्णबहादुर शाहीले निजी विद्यालयले पनि घोकन्ते शिक्षाभन्दा जीवनोपयोगी शिक्षा दिन आवश्यक रहेको बताउनुभयो । उहाँले गुणात्मक शिक्षाका लागि ठुलो धनराशि बाहिरिएको बताउँदै फेरि पनि सरकारले त्यस्तैखालको शिक्षा नीति ल्याउन खोजेको आरोप लगाउनुभयो ।

केन्द्रीय उपाध्यक्ष सुबोधकुमार डाँगीले राज्यले आफ्नो सम्पत्तिमाथि आँखा लगाएको आरोप लगाउनुभयो । राज्यले निजी विद्यालयलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार दुवै परिवर्तन गर्न आवश्यक रहेको उहाँको सुझाव छ ।

कार्यक्रमलाई समापन गर्दै जिल्ला अध्यक्ष श्याम कुवरले गुणस्तरीय शिक्षाका लागि आफूहरूले थालेको प्रयासलाई आगामी दिनमा पनि सशक्त बनाउनुपर्ने बताउनुभयो ।

एनप्याब्सन बाँकेका उपाध्यक्ष चिरन चन्दले सहजीकरण गरेको कार्यक्रममा प्याब्सन बाँकेका यामबहादुर रावत, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बाँकेका रेखा धिताल, शिक्षक महासङ्घ बाँकेका पवन यादवलगायतले धारणा राख्नुभयो । बन्दसत्रले नयाँ कार्यकालका लागि नयाँ कार्य समिति चयन गर्नेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter