• Monday, May 19, 2025

कांग्रेसको चियापान समारोह; दलहरुप्रतिको आलोचना र टिप्पणीलाई मैले सकारात्मक लिएको छु : सभापति देउवा

काठमाडौँ , कात्तिक ११ गते । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ।

शनिबार कोजाग्रत पूर्णिमाको अवसर पारेर कांग्रेसले चियापान आयोजना गरेको हो। उक्त चियापानमा प्रधानमन्त्रीसहित माओवादी, एमाले, एकीकृत समाजवादी लगायत पार्टीका नेता-कार्यकर्ताहरूको उपस्थिति थियो।

बिपी कोइराला २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले २०३४ सालदेखि चियापान सुरू गरेको हो।

२०३८ सालसम्म बिपीले यसलाई निरन्तरता दिएका थिए। त्यसपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै अहिले कांग्रेस सभापति शेरबहादुर देउवाले चियापान कार्यक्रमलाई निरन्तरता दिएका हुन्।

दलहरुप्रतिको आलोचना र टिप्पणीलाई मैले सकारात्मक लिएको छु : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस लोकतान्त्रिक पार्टी हुनाका नाताले राजनीतिक दलहरुप्रतिको आलोचनालाई सकारात्मकरुपमा लिएको बताएका छन् । बडादसैँ, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसर पारेर कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आादनप्रदान कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ’दलहरुप्रति आएको आलोचना र टिप्पणीलाई मैले सकारात्मक लिएको छु ।’

राजनीतिक दलहरुले आफूलाई जनताका बीचमा लोकप्रियता हासिल गर्न राम्रोसँग काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले सबै राजनीतिक दलप्रति जनताको आशा र भरोसा उत्तिकै कायम रहेको दाबी गरे । सभापति देउवाले भने, ‘राजनीतिक दल र राज्यका संस्थाप्रति विश्वास घटेको छैन ।’

कांग्रेस पार्टीभित्र बेमेल भइरहेको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञाशामा उनले पार्टीभित्र बेमेल रहेको कुरा सत्य नभएको बताए । उनले भने, ‘दलभित्रको फरक मत हुन सक्लान,यसलाई हामीले व्यवस्थापन गरिरहेका छौँ ।’

सो अवसरमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सङ्कटका बेला दल हातेमालो गर्दै अगाडि बढेको विगतका घटना स्मरण गर्दै अबका चुनौतीलाई हल गर्न पनि दल एक हुनुपर्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले दलबिच सद्भाव बाँड्ने परम्पराका रुपमा चियापान कार्यक्रम हुँदै आएको उल्लेख गर्दै चियापानले दलहरुप्रति संवाद आदानप्रदान हुने विश्वास व्यक्त गरे ।

शुभकामना आदानप्रदान कार्यक्रममा सभामुख देवराज घिमिरे, पूर्वसभामुखद्वय दमननाथ ढुङ्गाना र अग्निप्रसाद सापकोटा, नेपालका लागि चिनियाँ राजदूत चेन सङलगायत विशिष्ट व्यक्तित्वको सहभागिता थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter