• Tuesday, May 20, 2025

जलवायु सम्मेलनः विश्व समुदायको प्राथमिकतामा नेपाल; नेपाललाई आर्थिक सहायता आउनेमा ढुक्क छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, मङ्सिर १७ गते। संयुक्त अरब इमिरेट्स (यूएई)को दुबइमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार साँझ स्वदेश फर्किनु भएको छ। मङ्सिर १३ गते राति ९ बजे यूएई जानुभएका प्रधानमन्त्री प्रचण्ड पाँच दिने भ्रमण सकेर आइतबार स्वदेश फर्किनु भएको हो।

नेपाललाई आर्थिक सहायता आउनेमा ढुक्क छु : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप–२८) मा नेपालको प्रस्तुतिले सकारात्मक तरङ्ग ल्याएको बताउनु भएको छ ।

आइतबार साँझ दुबईमा आयोजित सो सम्मेलनमा भाग लिएर स्वदेश फर्कनुभएका उहाँले नेपालको तर्फबाट आफ्नो प्रस्तुतिले त्यहाँ तरङ्ग ल्याएको दाबी गर्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ सो सम्मेलनमा नेपाललाई सोचेभन्दा पनि बढी सन्तुष्टि मिलेको पनि बताउनु भयो ।

सम्मेलनभर नेपाल, हिमाल र पहाडको विश्वभर धेरै चर्चा भएको प्रधानमन्त्रीको भनाइ छ । उहाँले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले नेपाललाई प्राथमिकतामा राखेकाले आगामी दिनमा अन्तर्राष्ट्रिय समुदायबाट जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाललाई आर्थिक तथा प्राविधिक सहायता आउनेमा आफू ढुक्क भएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘‘कोप २८ पहिला पहिलाको भन्दा फरक, प्रभावकारी हुन्छ भन्ने सबै राष्ट्रहरुको सरकार प्रमुख, राष्ट्र प्रमुखहरुको धारणा थियो । हाम्रा लागि यो अलि नयाँ नै भयो । नेपालको अहिलेसम्म नेपालको छुट्टै पेभिलिएन थिएन यस अघि । पहिलो पटक त्यहाँ पेभिलिएन प्राप्त भएर त्यहाँ हाम्रा युवाहरु, पत्रकारहरु, विज्ञहरु त्यहाँ केन्द्रित भएर त्यहाँ लगातार हस्तक्षेप हुने गरी कार्यक्रम भयो । यो हाम्रा लागि खुशीको कुरा भयो । दोस्रो, संयुक्त राष्ट्र संघका महासभामा गएर हामीले जोड दिएर अन्तराष्ट्रिय समुदायलाई अपिल गर्ने काम गरियो । र, महासचिवलाई नेपाल भ्रमणको निम्तो दिइयो । उहाँले नेपालमा सगरमाथा पुग्ने, अन्नपूर्ण हिमाल पुग्नु, सबैसँग अन्तरक्रिया गर्नु यो सम्मेलनमा नेपालका लागि ठूलो अवसर भयो । यो सामान्य छैन । म पत्रकार साथीहरु र तपाईहरुमार्फत आम नेपाली जनतालाई भन्न चाहन्छु–यो सामान्य छैन । यसको प्रभाव विश्वव्यापी भयो । त्यसैकारण मेरो अध्यक्षतामा जो त्यो राउण्ड टेबल भयो । त्यसमा सबैले नै नेपालको प्रशंसा गर्नुपर्ने जस्तो भयो । नेपालका नाम उल्लेख नगरीकन त बोल्नै नसक्ने जस्तो अवस्था भयो ।

यस्तो त पहिला भएको थिएन भनेर हाम्रै कर्मचारीहरुले पनि भने । त्यस्तो खालको भयो । अनि, हाम्रो मूल स्टेटमेन्ट पनि मैले यहाँ जे भनेको थिए । यो पटक हामी माग्ने जस्तो निरीह भएर प्रस्तुत हुने होइन, हामी आफ्नो अधिकारको निम्ति योद्धाको रुपमा प्रस्तुत हुने भनेको थिए मैले । ठ्याक्क त्यस्तै भयो । सायद तपाईहरुले हिजो मेरो स्टेटमेन्ट सुन्नु पनि भयो होला । त्यसले एउटा सकारात्मक तरंग चाहिँ ल्यायो । दुई जना राष्ट्रपति म बोल्ने बित्तिकै बोल्ने लाममा बसेका थिए, यति खुशी भए । त्यस्तो स्ट्रङ स्टेटमेन्ट आयो, ठिक आयो भन्ने खालको भयो । त्यसकारण यी सबै दृष्टिकोणले र आज बिहानको पनि त्यस्तै भयो । नेपाल यति चर्चामा रह्यो नि अहिले । यो तीन दिन, चार दिन । यति धेरै चर्चामा रह्यो । यसले गर्दाखेरी यो अरु भन्दा फरक भयो भन्ने नै हामीले महसुस गरेका छौं । म त सन्तुष्ट छु । जे सोचेर जस्तो होस् भनेको थिए, त्यस्तै भयो । कतिपय कुरा त त्यो भन्दा पनि राम्रो भयो भन्ने लागेको छ । किनभने अब त्यहाँ अरु सबैसँग कुरा हुँदा पनि हिमाल, पहाड र नेपाल विश्वभरि चर्चामा छ अहिले । पहिला चाहिँ पहाडको नेतृत्व अरुले गरेको रहेछ भन्ने रहेछ त्यहाँ । यो पटक त्यसको लिडरसिप नेपालले लियो भन्ने त्यहाँको आम बुझाई भयो । त्यसकारण हामी नेपालीको निम्ति यो खुशीको कुरा छ । अब महासचिवले हामीलाई प्राथमिकतामा राखिदिएको हुनाले आर्थिक र प्राविधिक सहायता आउने कुरामा पनि ढुक्क हुने स्थिति बनेको छ । त्यसकारण यो अलि नयाँ भयो भन्ने छ ।’’

प्रधानमन्त्री प्रचण्डले कोप सम्मेलनभर नेपालको चर्चा विश्वभर गराउन पनि आफूहरु सफल भएको बताउनु भयो ।

कोप-२८ को उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा नेपाल विश्व समुदायको प्राथमिकतामा परेको बताउनुभयो।प्रधानमन्त्रीले उद्घाटन समारोहमा संयुक्त राष्ट्र संघका महासचिवले जलवायु परिवर्तनको प्रभाव नेपाल र अन्टार्कटिकामा परेको भन्ने अभिव्यक्ति दिएबाट नेपाल विश्वकै नजरमा परेको उहाँले बताउनु भएको हो।जलवायु परिवर्तनको विषयलाई आफ्नो नेतृत्वको सरकारले निकै महत्त्व दिएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले वर्तमान युवा पुस्ता र भावी सन्ततिको जीवनका लागि आफू गम्भीर बनेको बताउनुभयो।

सम्मेलन उद्घाटन सत्रलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्वमै जलवायु परिवर्तनको सबैभन्दा ठूलो प्रभाव नेपाल र अन्टार्कटिकामा परेको उल्लेख गर्नुभयो।

प्रधानमन्त्रीद्वारा उच्चस्तरीय बैठकको अध्यक्षता

प्रधानमन्त्री ‘प्रचण्ड’को अध्यक्षतामा हिमालय : जसले हामीलाई जलवायु प्रकोपबाट बचाउँछ विषयक उच्चस्तरीय गोलमेच बैठक बस्याे ।नेपालले जलवायु सम्मेलनको छुट्टै इभेन्टको अध्यक्षता गर्दै उच्चस्तरीय बैठक सञ्चालन गरेको यो पहिलो पटक हो।बैठकलाई संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले विशेष सम्बोधन गर्नुभएको थियो।एन्डोराका प्रधानमन्त्री जेभियर इस्पोट जमोरा, काजिकिस्तानका विदेशमन्त्री जिन्बेक कुलुबायाभ र भुटानका स्टेट सेक्रेटरीले सम्बोधन गर्नुभएको छ ।

शीर्ष नेतासँग भेटवार्ता

दुबईमा प्रधानमन्त्री प्रचण्डले विभिन्न देशका समकक्षी र राष्ट्र प्रमुखसँग भेटवार्ता गर्नुभएको छ। सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता भयो।भेटवार्तामा भारतीय प्रधानमन्त्री मोदीले कात्तिक १७ गते जाजरकोटमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट पुगेको क्षति तथा भारतले गर्नुपर्ने सहयोगका बारेमा कुरा गर्नुभएको थियो।उहाँहरुको भेटमा दुई पक्षीय हितका बारेमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड र क्युबाका राष्ट्रपति मिगुइल म्यारियो डायज क्यानेलीबिच भेटवार्ता भएको छ।भेटवार्तामा दुई पक्षीय हितका बारेमा कुराकानी भएको छ।

प्रधानमन्त्री प्रचण्डको सम्मानमा नेपाली राजदूतावास अबुधाबीका राजदूत तेजबहादुर क्षेत्रीले स्वागत समारोहको आयोजना गर्नुभएको थियो।उहाँले त्यहाँका प्रवासी नेपालीलाई र व्यापारीलाई समेत सम्बोधन गर्नुभएको छ । प्रचण्डले अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमणसमेत गर्नुभयो।

यूएई भ्रमणमा प्रधानमन्त्रीले जलवायु सम्मेलनलाई सम्बोधनसँगै जनप्रगतिशील मंच युनाइटेड अरब इमिरेट्सको कार्यकर्ता भेलालाई समेत सम्बोधन गर्नुभयो । सँगै नेपाल उद्योग वाणिज्य महासंघ र दुबई चेम्बरद्वारा आयोजित कार्यक्रमलाई समेत प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुभयो । शीर्ष नेतृत्वसँगको भेटसँगै उहाँले दुबई फ्युचर पार्कको अवलोकनसमेत गर्नुभएको छ ।

उहाँले नेपाली समुदायको हितमा भए गरेका काम कारबाहीको जानकारी लिनुहुँदै सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशन दिनुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter