• Friday, May 02, 2025

बीउ उत्पादनमा आत्मनिर्भर बनाउन माग

रमेश विश्वकर्मा / गुल्मी, मंसिर १८ गते । गुल्मीमा सहभागी एक कार्यक्रमका कृषकहरूले जिल्लालाई बीउ उत्पादनमा आत्मनिर्भर बनाउनुपर्ने माग गरेका छन् । जिल्लाको सदरमुकाम तम्घासमा कृषकलाई व्यावसायिक बीउ उत्पादनका लागि बीउबिजन व्यवसायी अनुमतिपत्र प्राप्त गर्न आवश्यक पर्ने तालिममा सहभागी कृषकहरूले यस्तो बताएका हुन् ।

तालिम कृषकका लागि अत्यन्तै उपयोगी भएको भन्दै बीउको कारोबारमा सहजता ल्याउन आग्रह गरेका छन् । ‘यस जिल्लालाई बीउमा आत्मनिर्भर बनाउन सके मात्र तालिमले सार्थकता पाउनेछ’ तालिममा सहभागी कृषक कृष्णप्रसाद घिमिरेले भन्नुभयो, ‘तालिम लिएका सबै कृषकले बीउ उत्पादन गरेमात्र पनि आयातित बीउ रोक्नुका साथै प्रतिस्थापनका लागि टेवा दिनेछ ।’

मूल बीउ जिल्ला बाहिरबाट धेरै आयात भएको छ । अझै पनि बीउमा आत्मनिर्भर बन्न सकेका छैनौँ । स्थानीय तहले समन्वयकारी भूमिका खेलेर सहयोग पुर्‍याउन आवश्यक रहेको उहाँले बताउनुभयो । कृषि सम्मानित पेसा हो । बाहिरबाट ल्याउने बीउ रोक्न र स्थानीय बीउको प्रवर्द्धनका लागि पहल गर्न जरुरी रहेको उहाँको सुझाव छ ।

बीउबिजन नियमावली, २०६९ को नियम १५ ९ङ० बमोजिम तालिम सञ्चालन गरी सहभागी कृषकलाई परीक्षा समेत लिएर प्रमाणपत्र प्रदान गरिएको बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन ललितपुरका वरिष्ठ बाली विकास अधिकृत मोहनप्रसाद खतिवडाले बताउनुभयो । ‘यसबाट व्यावसायिक रूपमा बीउ उत्पादन गर्ने कृषकहरूका लागि अनुमतिपत्र प्राप्तिका लागि सहज हुन्छ’ उहाँले भन्नुभयो, ‘बीउ उत्पादन र बिक्री वितरणको कार्य सार्वजनिक चासो र खाद्य सुरक्षासँग प्रत्यक्ष जोडिएकाले गुणस्तरीय बीउ उत्पादनमा ध्यान पुर्‍याउन आवश्यक छ ।’

यस जिल्ला मकैको बीउ उत्पादनका लागि अग्रणी जिल्लाको रूपमा परिचित छ । यहाँ उत्पादन भएको बीउले जिल्लालाई आत्मनिर्भर बनाएर निर्यात गर्ने अवस्थामा पुर्‍याउन जरुरी देखिन्छ । प्रायः सेमिनार, गोष्ठी र तालिमहरू केवल कार्यक्रमका लागि कार्यक्रम मात्रै हुनेगरेकाले अब यस्ता तालिमलाई प्रतिफल दिनेगरी फलदायी बनाउनुपर्ने रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।

बीउको कारोबार गर्न इच्छुक कृषकहरूलाई लक्षित गरी बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन ललितपुरको प्राविधिक सहयोगमा तीन दिनसम्म ३५ जना कृषकको सहभागितामा बीउबिजन व्यवसायी अनुमतिपत्र प्राप्त गर्न आवश्यक बीउ उत्पादन तथा व्यवस्थापनसम्बन्धी कृषकलाई तालिम सञ्चालन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ गुल्मीका कार्यालय प्रमुख गङ्गा पोखरेलले बताउनुभयो । यस जिल्लाका लागि ५६१ मेट्रिक टन बीउको आवश्यकता छ । अहिले १५६ मेट्रिक टन मात्र बीउ उत्पादन हुँदैआएको उहाँले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter