• Tuesday, May 20, 2025

एनसेल छानबिन समितिले दूरसञ्चारको अधिकारमाथि हस्तक्षेप गर्दैन : प्रम प्रचण्ड; एनसेलको सेयर खरिदकर्तासँग चिनजान भएको स्वीकार

काठमाडौं, पुस ३ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन गर्न गठित समितिले दूरसञ्चार प्राधिकरणको अधिकारमाथि कुनै हस्तक्षेप नगर्ने बताउनुभएको छ।

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै उहाँले समितिले दूरसञ्चार प्राधिकरणको नियमाकीय अधिकारमा कुनै हस्तक्षेप नगर्ने बताउनुभएको हो।

सांसदहरूले एनसेल छानबिन प्राधिकरण आफैँले गर्नसक्ने भए पनि समिति बनाइएको भन्दै समितिको काम, कारबाहीप्रति आशङ्का व्यक्त गरेका थिए। जवाफमा प्रधानमन्त्री दाहालले एनसेल प्रकरणमा प्राधिकरणले प्रचलित कानुन बमोजिम भए/नभएको सम्बन्धमा नियमन र कारबाही गर्ने बताउनुभयो।

प्राधिकरणलाई कारबाही गर्न कसैले नरोकेको र समिति बनाएर रोक्ने मनसाय पनि नराखिएको उहाँले स्पष्ट पार्नुभयो। उहाँले एनसेल खरिद, बिक्री प्रक्रियामा राजश्व छली, नेपाल सरकारमा स्वामित्व हस्तान्तरणका सम्बन्धमा कानुनी व्यवस्थाको उल्लङ्घन भएको हो कि भन्ने चासो रहेको उल्लेख गर्दै यसबाट नेपालको समग्र दूरसञ्चार क्षेत्रको विकास र वैदेशिक लगानीमा पार्ने प्रभावका बारेमा छुट्टै अध्ययन गर्नुपर्ने आवश्यकता महसुस भएकोले समिति बनाइएको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘नियामक निकाय हुँदाहुँदै सरकारले किन छुट्टै समिति बनाउनुपर्‍यो भन्नेकुरा माननीय सदस्यले राख्नुभएको छ, यसमा म छोटोमा म के मात्रै भन्छु भने नियामक निकायले नियमन गर्ने सम्बन्धमा छुट्टै कानुनी व्यवस्था छ। मलाई लाग्छ, सबैलाई यो कुराको जानकारी छ। सोअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले प्रचलित कानुन बमोजिम भए नभएको सम्बन्धमा नियमन र कारबाही गर्ने नै छ। उसलाई त्यसो गर्न कहीँ यसले रोकेको पनि छैन। रोक्ने मनसाय राखेको पनि छैन। तर यो खरिद, बिक्री प्रक्रियामा राजश्व छली, नेपाल सरकारमा स्वामित्व हस्तान्तरणका सम्बन्धमा कानुनी व्यवस्थाको उल्लङ्घन भएको हो कि भन्ने आम चासो रहेको र यसबाट नेपालको समग्र दूरसञ्चार क्षेत्रको विकास र वैदेशिक लगानीमा पार्ने प्रभावका बारेमा छुट्टै अध्ययन गर्नुपर्ने आवश्यकता महसुस भएकोले जुन दूरसञ्चार प्राधिकरणले मात्रै गर्नसक्ने स्थिति होइन। यसो भएकोले यो समिति बनाइएको हो। यस समितिको काम, कारबाहीबाट नियामकको नियमाकिय अधिकारमा कुनै हस्तक्षेप र असर पार्दैन। यो कुरा सचेत रूपले गरिएको छ। त्यसकारण नियामकले आफ्नो भूमिका कानुनतः पूरा गर्छ। ’’

उहाँले छानबिन समितिको संयोजक टङ्कमणि शर्मा उपयुक्त पात्र भएको पनि बताउनुभयो।

एनसेलको सेयर खरिदकर्ता सतीशलालसँग चिनजान भएको प्रधानमन्त्रीको स्वीकार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर खरिद बिक्री प्रक्रियामा आफ्नो र परिवारको नाम जोड्नु गणतन्त्रमाथिको हमला भएको बताएका छन् । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुदले सोधेका प्रश्नको जवाफ दिँदै उनले आफू र आफ्नो परिवारमाथि लागेको आरोपको अस्वीकार गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘मसँग जोडेर प्रचार, गिरिजाबाबुले धमिजाकाण्डमा गरेको भन्दा प्रचण्डले एनसेल काण्डमा ४८० गुणा बढी भ्रष्टाचार गरेको छ भनेर आरोप लगाएका छन् । त्यो साँचो हो भने त म बाँच्नै सक्दैनथेँ । झुटो भएको थाहा भएकोले म ढुक्क छु । ४८० भने पनि ५ सय हजार बढी भने पनि त्यो साबित त हुनेवाला छैन ।’

प्रचण्डले अगाडि भने, ‘अब मेरो परिवारको सदस्य घट्दै गएर ३ जना रहेका छन् । त्यो मध्ये एक जना भरतपुर नगरपालिकाको मेयर हामी सबैलाई थाहा छ । एउटा छोरी छ । बिचरा त्यो कस्ती छ तपाईंहरुलाई थाहै छ । उसलाई जोडेर बनाएको छ, उचालेको छ, यसलाई म के ठान्छु भने सिस्टम, गणतन्त्रको विरुद्धको हमला हो । त्यसमा म बढो क्लियर छु । किनभने प्रचण्डलाई नराम्रोसँग ह्युमिलेट नगराएसम्म र डिप्रेस नगराएसम्म यो व्यवस्था उल्टिने भएन भन्ने छ एक थरीलाई । त्यसो भएको हुनाले त्यसको जवाफ किन दिने ? केलाई चलाएर केमा के भन्छन् नि । त्यस्तोलाई किन चलाउँछु म ?’

सांसदरुले प्रधानमन्त्रीकी छोरी एवं प्रमुख स्वकीय सचिव गंगा दाहालको पनि सो प्रकरणमा नाम जोडिएकोले वास्तविकता के हो भन्दै प्रश्न गरेका थिए ।

साथै प्रधानमन्त्री प्रचण्डले एनसेलको ८० प्रतिशत शेयर खरिदकर्ता सतीशलाल आर्चायसँग आफ्नो राम्रो परिचय भएको बताएका छन् । आर्चायसँग कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि राम्रो सम्बन्ध रहेको उनले बताए ।

उनले भने, ‘ती मान्छे बेलायतमा कम्पनी खडा गरिएका भनिएका ती मान्छेलाई म चिन्छु । यो भ्रम नहोस् मलाई थाहै छैन भन्ने हैन । मेरो श्रीमती बिरामी भएको बेला २ पटक सिंगापुर गएको छु । तिनै साथीकोमा बसेको पनि छु म । शेरबहादुर देउवा जाँदापनि बस्नुभएको छ । केपी ओली जाँदापनि बस्नुभएको छ । हाम्रो बिचमा कुरापनि हुन्छ तर त्यसको अर्थ राष्ट्र र जनता, कानुनको विरुद्ध, हाम्रो संविधानका विरुद्ध, हाम्रो सिष्टमका विरुद्ध जोसुकै जान्छ भने हामी लड्न तयार भएको हो नि त । त्यसकारण चिनेजानेको नाताले अनुहार हेरेर मानिँदैन । जनताको हित र राष्ट्रको हित नै मुख्य कुरा हो ।’

प्रधानमन्त्री प्रचण्डले दूरसञ्चार ऐनमा जहाँ जहाँ कमजोरी छ त्यसलाई सच्याएर जान सरकार तयार रहेको समेत बताएका छन् । एनसेल खरिदबिक्री प्रकरणमा केही जालझेल छ भन्ने लागेकोले नै छानबिन समिति बनाएको र दोषी देखिएमा सरकारले नछोड्ने प्रचण्डले दाबी गरेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter