• Friday, May 02, 2025

गाउँमै अदुवाले राम्रो मूल्य पाएपछि किसान मक्ख

बोमलाल गिरी / नवलपुर, पुस ३ गते। नवलपुरको पहाडी क्षेत्रका किसानका लागि नगदेबालीको रूपमा रहेको अदुवा आम्दानीको मुख्य स्रोत भएको छ। विगतका वर्षमा भन्दा यो पटक अदुवाले गाउँमै राम्रो भाउ पाएपछि किसान पनि मक्ख परेका छन्।

नवलपुर बुलिङटार वडा नम्बर ४ देउरालीका तिलबहादुर पुलामी विदेशको राम्रो कमाई छोडेर स्वदेश फर्किएर अदुवा खेती गर्न थाल्नु भयो। विदेशको राम्रो कमाइलाई छोडेर गाउँ फर्केका पुलामीलाई अदुवा खेतीबाट भएको लाभले फेरि फर्केर विदेश जान मन लागेन।

अहिले उहाँले ८ रोपनी पाखो बारीमा अदुवा खेती गर्नु भएको छ। गत वर्ष यति नै क्षेत्रफलमा अदुवा लगाएर त्यसले भाउ नपाउँदा निराश भएका पुलामी अहिले भने मक्ख पर्नु भएको छ।

गत वर्ष एक धार्नी अदुवाले बढीमा ५० रुपैयाँ मात्र भाउ पाएको थियो। तर अहिले गाउँमै काँचो अदुवा धार्नीको एक सय ८० रुपैयाँमा बिक्री भइरहेको छ। घरपरिवारसँगै बसेर वार्षिक दुई लाखभन्दा बढी आम्दानी गर्न सफल भएपछि उहाँलाई फेरी फर्केर विदेश जान मन लागेको छैन।

स्थानीय अर्का युवा प्रेमबहादुर आलेले पनि आफ्नो सबै पाखो बारीमा अदुवा खेती गरेर रमाइरहनु भएको छ। पाखो बारी र जङ्गल फँडानी गरेर ६ रोपनी जग्गामा लगाएको अदुवाले वार्षिक डेढदेखि दुई लाखसम्म आम्दानी दिइरहेको उहाँको भनाइ छ।

पुलामी र आलेजस्तै ८५ घर धुरी रहेको देउरालीका प्राय सबैले अदुवा खेतीलाई मुख्य पेसा बनाएका छन्। र, सबैजसोले नै एकदेखि तीन–चार लाखसम्म आम्दानी गर्न सफल भएको बुलिङटार वडा नम्बर ४ का अध्यक्ष मीनबहादुर आलेले बताउनुभयो।

अरू खेती जस्तो धेरै श्रम गर्न नपर्ने अनि अरू उत्पादन नहुने पाखो बारीमा मलविना पनि अदुवाले राम्रो उत्पादन दिने भएकाले किसान अदुवा खेती तर्फ आकर्षित भएको वडाध्यक्ष आलेले बताउनुभयो।

किसानले काँचो अदुवाले भाउ पाउँदा काँचै बेच्छन् भने त्यसको भाउ घटेको बेला अदुवालाई सुकाएर सुठो बनाएर बेच्ने गरेका वडाध्यक्ष आलेले बताउनुभयो। सुठो धार्नीमा एक हजार रुपियाँसम्ममा बिक्री हुने गरेको छ। सुठो अर्थात् सुकाएको अदुवा मसलाको रूपमा प्रयोग हुने गर्छ। गाउँमै दुई वटा अदुवा सङ्कलन केन्द्र रहेकाले किसानलाई भारी बोकेर सहरसम्म पुग्नु पर्ने झन्झट पनि छैन।

नवलपुरको पहाडी क्षेत्र अदुवा खेतीका लागि परिचित छ। कृषि ज्ञान केन्द्र नवलपुरका अनुसार गतवर्ष यहाँको ९ हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएको थियो। जसबाट नौ हजार आठ सय मेट्रिक टन अदुवा उत्पादन भएको ज्ञान केन्द्रका कृषि अर्थविज्ञ सञ्जय ढकालले जानकारी दिनुभयो। गतवर्ष जिल्लाभरिबाट ३० करोडको अदुवा जिल्ला बाहिर निर्यात भएको कृषि अर्थविज्ञ ढकालले जानकारी दिनुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter