• Saturday, May 03, 2025

सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आँच आउन दिनेछैन् : राष्ट्रपति पौडेल

विराटनगर, पुस ७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने प्रतिबद्धता जनाउनुभएको छ । नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले विराटनगरमा शनिबार गरेको प्रजातन्त्र सेनानी सम्मान तथा उद्योगीको भेलालाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो प्रतिबद्धता जनाउनुभएको हो ।

उहाँले भन्नुभयो, “म तपाईँहरूलाई के विश्वास दिलाउन चाहन्छु भने मेरो तागतले भ्याएसम्म र म रहेसम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन दिने छैन ।” उहाँले आफूलाई संविधानले दिएको जिम्मेवारी निष्ठापूर्वक पालना गर्ने प्रतिबद्धता पनि प्रकट गर्नुभयो ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले निर्देश गरेको समाजवाद उन्मुख अर्थव्यवस्थाको आधार निर्माण गर्न उद्योग व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले स्वाधीन, समुन्नत एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणको आवश्यकतामा जोड दिनुभयो ।

स्वदेशी कच्चा पदार्थमा आधारित र उच्च मूल्य अभिवृद्धि हुने वस्तु तथा सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गर्ने उद्यमीलाई प्रोत्साहन गर्नुपर्ने उहाँको भनाइ छ। “सूचना प्रविधिलाई सहज र सरल नीतिगत आधार तयार गरिदिने हो भने व्यापार घाटा कम गर्न महत्त्वपूर्ण भूमिका निभाउन सक्ने स्थिति छ” उहाँले भन्नुभयो, “मैले यहाँ भन्नै पर्छ, जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्दै वातावरण संरक्षणका साथ हरित अर्थतन्त्र र दिगो विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तह नीजिक्षेत्रसँगको समन्वय र सहकार्यमा अगाडि बढ्नुपर्छ ।”

नेपालमा कृषि क्षेत्रको रूपान्तरण र उद्योग व्यवसायको विस्तार गरी उत्पादन वृद्धि र रोज‌गारी सिर्जना गर्न, निर्यात प्रवर्धन र आयात प्रतिस्थापन गर्न, अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन तथा निरपेक्ष गरिबी निवारण गरी आर्थिक विकास गर्न सरकार एक्लैले सक्ने स्थिति छैन भन्दै राष्ट्रपति पौडेलले निजी क्षेत्रसँग सरकारले साझेदारी गरेमा मात्र यो सम्भव छ भन्नुभयो ।

“सार्वजनिक निजी साझेदारीलाई थप व्यापक र प्रभावकारी बनाउन आवश्यक छ” उहाँले भन्नुभयो । स्वदेशमै, गाउँघरमा सम्मानजनक रोजगारी र आम्दानी सिर्जना नहुँदा सारा जनशक्ति बिदेसिएर आज हाम्रा गाउँघर रित्तिँदै छन् भन्दै उहाँले यो स्थितिलाई रोक्न हाम्रो कृषि, वन र खनिजमा आधारित उद्योगको व्यापक विस्तार गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।

“साथै विदेशी ठुला कम्पनीसँग सहकार्य गरी विकसित देशबाट उद्योगधन्दा ल्याई स्वदेशकै जनशक्तिलाई तालिम उपलब्ध गराउने तथा दक्ष, अर्धदक्ष जनशक्ति निर्माण गरी रोजगारी समस्या समाधान गर्नेतिर हामी लागौँ । यसको नेतृत्व तपाई उद्योगपति र व्यापारीले नै गर्नुपर्ने आवश्यकता छ” राष्ट्रपति पौडेलले भन्नुभयो ।

“कुल लगानीमा दुई तिहाइभन्दा बढी लगानी भएको निजी क्षेत्रलाई विश्वासमा लिएर नीतिगत आधार निर्माण गर्न मौजुदा नीति र कानुनको समीक्षा गरी नयाँ नीति र ऐन निर्माण गर्ने, निजी क्षेत्रमैत्री ऐन, कानुन परिमार्जन गर्ने काम वर्तमान सरकारबाट हुन जरुरी छ” राष्ट्रपति पौडेलले भन्नुभयो ।

उहाँले भन्नुभयो, “उद्योगधन्दा पूर्ण क्षमतामा चल्न सकेको स्थिति छैन । यो समस्याबाट कसरी निस्कने अबको हाम्रो चिन्ता र चासो त्यता केन्द्रित हुनुपर्छ ।”

सरकारले अर्थतन्त्र सुधारका लागि चालेका कदम तथा रणनीति, निजी क्षेत्रको सहयोग स्वरूप बाह्य क्षेत्र मजबुत अवस्थामा रहेको तथा विप्रेषणको वृद्धि दर राम्रो हुनुका साथै शोधनान्तर स्थिति बचतमा रहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले हाम्रोजस्तो देशका लागि विदेशी सञ्चितिको स्थितिले बढी महत्त्व राख्छ भन्नुभयो । “विदेशी सञ्चिति राम्रो अवस्थामा भएको हुँदा अप्ठेरो अवस्थामा लिएका कदमलाई सरकारले बिस्तारै सामान्य गराउँदै लैजानु पर्छ ” राष्ट्रपति पौडेलले भन्नुभयो ।

कोशी प्रदेशको कुरा गर्दा हलेसीका महादेव, ट्याम्केका सिद्धबाबा, पाथीभरा माता, छिन्ताङ् देवी, वराहक्षेत्र, यस प्रदेशका गुम्बा, मठमन्दिर, लोभरकटी किराँत मन्दिरलगायतलाई आकर्षक पर्यटकीय क्षेत्रका रूपमा विकास गरेर राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्न सकिने उहाँले चर्चा गर्नुभयो ।

“यो क्षेत्रमा अगाध सम्भावना छ, चाहे त्यो पर्यटन होस्, उद्योग वा अन्य कुनै । तर हामीमा खाँचो छ केवल अठोटको, प्रतिबद्धताको, इमान्दारिता र नैतिक आचरणको । आज म यसतर्फ सबैको ध्यानाकर्षण गराउन चाहन्छु” राष्ट्रपति पौडेलले भन्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter