• Tuesday, April 15, 2025

बालकुमारी घटना : मृतकका परिवारलाई १० लाख राहत दिने सरकारको निर्णय; सुरक्षा अधिकारी निलम्बित

काठमाडौं, पुस १४ गते। सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई जनही १०/१० लाखका दरले राहत उपलब्ध गराउने भएको छ।

शनिबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो घटनाका मृतक दैलेखका सुजन रावत र अछामका वीरेन्द्र साहको परिवारलाई १०/१० लाखका दरले राहत उपलब्ध गराउने निर्णय हो।

सो घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो।

बैठकले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना समेत व्यक्त गरेको छ। त्यसैगरी मन्त्रिपरिषद् बैठकले सो घटनामा परी घाइते भएकाको सम्पूर्ण उपचार खर्च पनि सरकारले व्यहोर्ने निर्णय गरेको पनि सञ्चारमन्त्री शर्माले बताउनुभयो।

सो घटनामा निष्पक्ष छानबिन गरेर दोषीलाई कडा कारबाही गर्न र आगामी दिनमा त्यस्ता प्रकृतिका घटना हुन नदिन पनि गृह मन्त्रालयलाई मन्त्रिपरिषद् बैठकले सचेत गराएको छ। सरकारले सो घटनालाई संयमतापूर्वक लिएर शान्ति सुरक्षाको वातावरण बिग्रन नदिन पनि सबैलाई अपिल गरेको छ।

फिल्ड कमान्डर डीएसपी लम्सालसहित मन्त्रीका पीएसओ दनुवार निलम्बित

बालकुमारीमा प्रदर्शनका क्रममा दुई जना युवकको ज्यान गएपछि गृह मन्त्रालयले घटनास्थलमा सुरक्षा कमान्डको जिम्मेवारीमा खटिएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक उमेश लम्साललाई निलम्बन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको सुरक्षामा खटिएका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) प्रहरी सहायक निरीक्षक बोधराज दनुवारलाई निलम्बन गर्ने पनि मन्त्रालयले निर्णय गरेको हो ।

त्यस्तै ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदीलाई निलम्बन गर्ने निर्णय सम्बन्धित मन्त्रालयबाट भएको मन्त्रालयले जानकारी दिएको छ । साथै ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमा र जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षकलाई नेपाल प्रहरी प्रधान कार्यालयमा फिर्ता गरिएको छ ।

शुक्रबार ललितपुर महानगरपालिका वडा नं. ८ बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा अछाम चौरपाटी गाउँपालिका वडा नं. १ घर भई हाल काठमाडौँ बस्ने वर्ष २१ को वीरेन्द्र शाह र दैलेख महाबु गाउँपालिका वडा नं. ६ घर भई हाल भक्तपुर बस्ने वर्ष २३ को सुजन राउतको मृत्यु भएको थियो । गृह मन्त्रालयले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ । नेपाल सरकारका तर्फबाट मृतकका परिवारलाई प्रति परिवार दश लाख राहत रकम उपलब्ध गराउने र उक्त घटनाको छानबिन गर्न मन्त्रालयबाट गठन गरिएको छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

‘यस दुःखद घटनाका सन्दर्भमा गृह मन्त्रालय अत्यन्त संवेदनशील रहेको छ र उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछ । सबै नागरिकहरूले आफ्ना विषयहरू शान्तिपूर्ण रूपमा राख्न पाउने अधिकारको सुनिश्चितता प्रदान गर्न सरकार निरन्तर लागि परिरहेको ब्यहोरा सम्बद्ध सबैमा मन्त्रालय अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter