नेपालमा ११ प्रतिशतको मृत्युको कारण क्यान्सर

सिर्जना खत्री / काठमाडौं, माघ २१ गते । नेपालमा कुल मृत्युको ११.११ प्रतिशत मानिसको मृत्यु क्यान्सरले हुने गरेको एक अध्ययनले देखाएको छ ।

विश्व क्यान्सर दिवसको अवसरमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा ११.११ प्रतिशत मानिसको मृत्युको कारण क्यान्सर बनेको जानकारी दिनुभएको हो ।

नेपालमा ४० प्रतिशत भन्दा बढी मृत्यु फोक्सोको क्यान्सर र पाठेघरको मुखको क्यान्सरले गर्दा हुन्छ । डा. मरासिनीका अनुसार नेपालमा प्रत्येक वर्ष करिब २० हजार भन्दा बढी क्यान्सरका नयाँ बिरामी थपिने गर्छन् ।

सन् २०२० मा १६ हजार ६२९ जनाको मृत्यु भएको थियो । नेपालमा सबैभन्दा बढी देखिएको क्यान्सरमा फोक्सो, पाठेघरको मुख, स्तन, आमाशय (पेट) र आन्द्राको क्यान्सर रहेका छन् ।

फोक्सोको क्यान्सर १२, पाठेघरको मुखको क्यान्सर ११, स्तन क्यान्सर १०, आमाशयमा हुने क्यान्सर ८, आन्द्रामा हुने क्यान्सर ५ र अन्य क्यान्सर ५४ प्रतिशत रहेको छ ।

विश्वमा सबैभन्दा बढी मृत्यु गराउने रोग मध्ये क्यान्सर एक हो । विश्वको तथ्यांकअनुसार प्रत्येक ६ जनामा एक जनाको मृत्यु क्यान्सरकै कारण हुने गरेको छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार एक वर्षमा विश्वमा दुई करोड क्यान्सरका नयाँ बिरामी थपिने गर्छन् । सोही अवधिमा ९७ लाख ३६ हजार ५२० जनाको मृत्यु हुन्छ ।

विश्वमा सबै भन्दा बढी फोक्सो, स्तन, कलेजो, पाठेघरको मुखको क्यान्सर देखिने गर्छ । पुरुषमा फोक्सोको क्यान्सर र महिलामा पाठेघर र स्तन क्यान्सरको समस्या बढी देखिएको छ । क्यान्सरको एक तिहाइ कारक सुर्तीजन्य पदार्थको प्रयोग, मद्यपान र शारीरिक निष्क्रियता रहेको छ।

कसरी हुन्छ क्यान्सर ?

क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विवेक आचार्यका अनुसार हाम्रो शरीरमा हजारौँ कोषिका हुन्छन् । कोषिकाको समूहको अस्वाभाविक वृद्धिका कारण क्यान्सर हुन्छ ।

सामान्यतया कोष बढ्ने र उमेर पुगेपछि झर्ने गर्दछन् । कोषिकामा खराबी उत्पन्न भयो भने अनियन्त्रित गाँठागुठी निस्कने गर्दछन् । क्यान्सरलाई अबुर्दरोग पनि भन्ने गरिन्छ । अत्यधिक मद्यपान र सुर्तीजन्य पदार्थको सेवन, अस्वस्थकर आहार, विकिरणको प्रभाव, वंशाणुगत कारण, जीवाणुका कारण, वातावरणीय प्रदूषणका कारण क्यान्सर हुने चिकित्सकको भनाइ छ ।

नियमित रूपमा स्वास्थ्यको जाँच गरेर क्यान्सर प्रारम्भिक चरणमै पत्ता लागेमा उपचार तथा रोकथाम गर्न सकिने डा. आचार्य बताउनुहुन्छ ।

नेपालमा तेस्रो र चौथो अवस्थामा बिरामी अस्पतालमा पुग्ने हुँदा जोखिम बढेको उहाँको भनाइ छ । पहिलो चरणमा पत्ता लागे ९० प्रतिशत, दोस्रो चरणमा ७० प्रतिशत र तेस्रो चरणमा पत्ता लागे ५० प्रतिशत र चौथो चरणमा पत्ता लागे पाँच प्रतिशतको क्यान्सर निको हुन्छ ।

क्यान्सर रोग नियन्त्रण गर्न क्यान्सर सम्बन्धी काम गर्ने विभाग छुटाउनुपर्नेमा डा. आचार्यले जोड दिनुभयो ।

नियन्त्रणमा सरकारको प्रयास

सरकारले ७७ जिल्लामा स्वास्थ्यकर्मीलाई नसर्ने रोग सम्बन्धी क्षमता अभिवृद्धिका तालिम दिइरहेको डा. मरासिनीले जानकारी दिनुभयो । जसले गर्दा क्यान्सरको प्रारम्भिक चरणमै पहिचान र रोकथाम गर्न मद्दत गर्नेछ ।

सरकारले विपन्न नागरिक औषधी उपचार कोषबाट क्यान्सर पीडितका लागि एक लाखसम्मको औषधि उपचारको व्यवस्था गरेको छ । भने प्रदेश सरकारले पनि थप एक लाखसम्मको उपचार सहायता प्रदान गर्दै आएको उहाँको भनाइ छ ।

सुर्तीजन्य पदार्थको सेवनलाई नियन्त्रण गर्न र बेचबिखनलाई नियमन गर्न बनेको ‘सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८, सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) नियमावली २०६८ लगायत निर्देशिका कार्यान्वयनमा छ ।

सरकारले पाठेघरको क्यान्सर रोकथामका लागि ९ देखि १४ वर्षका बालिका लक्षित एचपीभी खोप कार्यक्रमलाई पनि राष्ट्रिय खोप कार्यक्रममा राख्ने तयारी गरिरहेको छ । २०८० मा १० हजार किशोरीलाई एचपीभी खोप लगाइसकेको छ । स्क्रिनिङ तथा रोकथाम सम्बन्धी कार्य व्यवस्थित गर्न सरकारले पाठेघरको मुखको क्यान्सर रोकथाम सम्बन्धी निर्देशिका, २०८० समेत जारी गरिसकेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter