• Wednesday, April 23, 2025

टेलिकमले सेवाको गुणस्तर बढाउनुपर्छः मन्त्री शर्मा

काठमाडौं, माघ २२ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकम विश्व परिवेशलाई ध्यान दिएर ग्राहकहरुलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने गरी आफ्नो नीति योजना तथा कार्यक्रमको सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको २० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाल टेलिकम सरकारको अधिकांश स्वामित्व भएको संस्था भएकाले सरकारको उद्देश्य र कार्यक्रमलाई अवलम्बन गरी सूचना प्रविधिको तीव्र विकास भइरहेको आजको विश्व परिवेशमा ग्राहकहरुलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने गरी आफ्नो नीति योजना तथा कार्यक्रमको सञ्चालन गर्नुपर्ने बताउनुभएको हो ।

फोरजी सेवाको बिस्तार र यसको उपयोगमा उल्लेखनीय वृद्धि, अप्टिकल फाइबर योजनाहरु यथाशीघ्र सम्पन्न, सेवाको गुणस्तरमा उल्लेखनीय वृद्धिमा जोड दिँदै एफटिटिएच व्यवसायको आक्रामक विस्तार, आय चुहावटको नियन्त्रण, एसएमएस गेटवे उचित दरमा दिने गरी विस्तार गर्न आग्रह गर्दै पूर्वाधार कम्पनी, आईटी कम्पनी स्थापनाका साथै नमस्ते पे को व्यापारमा बिस्तार गर्ने बारेमा आवश्यक गृहकार्य गर्न पनि टेलिकमलाई आग्रह गर्नुभयो ।

मन्त्री शर्माले कम्पनीमा भइराखेका अनुत्पादक खर्च नियन्त्रण गर्न र कम्पनीको हालको अवस्था अनुसार कम्पनीले आगामी दिनहरुमा लिने पहलहरुमा सूक्ष्म रुपमा अध्ययन गरेर बजारको आजको अवस्था र आगामी दिनमा आईपर्ने कुरालाई ध्यानमा राखी दीर्घकालीन व्यावसायिक योजना तयार गर्न आग्रह गर्नुभयो ।

आफू मन्त्रालयको जिम्मेवारीमा आएको एक वर्ष पूरा भएको र यस अवधिमा कम्पनीबाट गर्नुपर्ने नयाँ कार्यक्रम, सुधारका कार्यमा धेरै पटक छलफल गरेको स्मरण उहाँले स्मरण गराउनुभयो ।

उहाँले सेवामा गुणस्तर कायम गर्न नेपाल टेलिकमबाट वितरण भएका सम्पूर्ण सेवाको मर्मत सम्भारलाई थप चुस्त र प्रभावकारी बनाउन बिहान ७ देखि साँझ ७ बजेसम्मको मर्मत सेवा सञ्चालन गर्ने, टेलिकमका सम्पूर्ण सेवालाई नमुना दूरसञ्चार सेवाको रुपमा विकास गर्न जोड दिनुभयो ।

उहाँले यो वर्ष १९ जिल्लालाई छनाेट गरिएको र सबै राजमार्गमा पहुँच र गुणस्तरीय सेवा विस्तारको कार्यक्रम राखिएको जानकारी दिनुभयो ।

यो वर्ष सस्तो दरमा इन्टरनेटको अन्तर्राष्ट्रिय ब्यान्डविथ सेवा खरिद भएको जानकारी दिंदै उहाँले भन्नुभयो– ‘तर हामी यतिमै सन्तुष्ट हुने अवस्था छैन । हामीले अघि सारेका सेवा प्रवाहमा सुधार र आयवृद्धिका कार्ययोजनाको प्रगतिको पनि स्मरण र मूल्याङ्कन गर्ने बेला हो । हासिल हुन नसकेको बाँकी उपलब्धिको कारण पहिल्याई कमी कमजोरीमा सुधार गरी थप कार्ययोजना र ऊर्जाका साथ एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ ।’

सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिंदै मन्त्री शर्माले सूचना प्रविधिको आधारभूत पूर्वाधार दूरसञ्चार नै भएकाले सरकारको डिजिटल नेपालको अवधारणा कार्यान्वयन गर्ने भइरहेको जानकारी दिनुभयो ।

उहाँले त्यसका लागि अप्टिकल फाइबर विस्तार गरी सूचना महामार्ग निर्माण गर्ने, मुलुकका सबै क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच र गुणस्तर वृद्धि गर्नेतर्फ कम्पनीका कार्यक्रमहरु परिलक्षित रहेको बताउनुभयो ।

दूरसञ्चारको क्षेत्रमा देखिने बेथिति र अन्योल हटाउन मन्त्रालयले नीति र प्रशासनिक दुबै खालका काम अघि बढाइएको जानकारी दिंदै उहाँले लाइसेन्स खारेज भएका कम्पनीका सम्पत्ति व्यवस्थापन गर्ने कानुन संशोधनदेखि एनसेलको शेयर खरिद बिक्री प्रकरणमा छानबिन गरी प्रतिवेदन लिने लगायतका काम सरकारले गरेको बताउनुभयो ।

यो वर्ष मात्रै नयाँ फ्रिक्वेन्सी नीति, २०८० जारी गरेर नेपालको विकासमा अत्यावश्यक र राष्ट्रलाई महत्वपूर्ण योगदान दिने दूरसञ्चार क्षेत्रलाई थप व्यवस्थित गर्ने गरी कार्यान्वयनमा ल्याएको उल्लेख गर्दै उहाँले नेपाललाई डिजिटलाइजेसनमा लैजान डिजिटल पूर्वाधार अनिवार्य शर्त भएको बताउनुभयो ।

टेलिकमको गुणस्तर सुधार र विकासमा कर्मचारीको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उहाँले कर्मचारीले पाउनुपर्ने सबै सुविधा कम्पनी लिने र कर्मचारीले पनि आफ्नो पेशागत दायित्वलाई राष्ट्रिय दायित्व सम्झेर काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका टेलिकमका सेवा सुविधा र आगामी योजनाबारे नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक सङ्गीता पहाडीले जानकारी गराउनुभएको थियो । कम्पनीका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्ष नवराज अधिकारी र नेपाल टेलिकम सञ्चालन समितिका सदस्य शङ्कर लामिछानेले पनि शुभकामना दिनुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter