• Wednesday, April 23, 2025

सामूहिक काममा थारु महिलाको अग्रसरता

अविनाश चौधरी / धनगढी, फागुन ५ गते । चुल्होमा दनदनी आगो बलिरहँदा सनम (सखी) हरू भात पकाउन, भाँडा धुन व्यस्त हुनुहुन्थ्यो । उहाँहरूलाई काममा सघाउन थपिनुभयो, पानफूलाहरु । दुना–टपरी गाँस्ने, तरकारी केलाउने काममा उहाँहरू कस्सिनुभयो ।

कैलालीको धनगढी उपमहानगरपालिका –१६ भादा गाउँस्थित थारु बस्तीमा महिलाले सामूहिक काम गरिरहेको दृश्य हो, यो । सनम युवतीसहित तन्नेरी महिलाको साथी समूह हो । एक अर्कालाई नामले बोलाउनुभन्दा कामकाज गर्ने बेलामा सनम भनेर बोलाउन उहाँहरूले सनम साथी समूह बनाउनुभएको छ । थारु समुदायमा यस कामलाई ‘सखी–गोही मिलैना’ भनिन्छ ।

यसैगरी, पानफूला भने अलि अधवैसे महिलाको साथी समूह हो । सनम र पानफूला यी दुवै समूहमा आबद्ध महिला सामूहिक काममा क्रियाशील छ । “सामूहिक रूपमा कुनै पनि काम गर्दा रमाइलो लाग्नुका साथै चाँडै काम सफल हुन्छ” धनगढी उपमहानगरपालिका –१६ भादाकी द्रोपतिदेवी चौधरीले भन्नुभयो, “गाउँघरमा हामी महिला यसरी नै काम गर्दैआएका छौँ ।”

थारु समुदायमा महिलाबिच गोही मिलाउने अभ्यास पहिलेदेखि नै चलनचल्तीमा रहेको छ । गाउँघरमा कुनै सार्वजनिक काम, भोजभतेरमा सखी समूहका महिलाले सामूहिक खाना पकाउनेदेखि लिएर सरसफाइ, लिपपोत, नाचगान लगायतका काम गर्ने गरेका छन् ।

समूहमा कोही सासू, कोही बुहारी वा उमेरले ठुला–साना पनि रहने गरेकाले नामले बोलाउँदा अप्ठ्यारो पर्ने कारणले गोही मिलाउने गरेको स्थानीय पार्वती चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “सनम वा पानफूला भनेर बोलाएमा सजिलो हुन्छ । साथै, सबैप्रति समान आदर सम्मान पनि देखिने गर्छ ।”

थारु होमस्टे गाउँ भादामा पाहुना आउने–जानेसहित विभिन्न कार्यक्रम भइरहेका हुन्छन् । त्यस्ता, कार्यक्रममा पाहुनालाई स्वागत गर्ने, खुवाउने, मौलिक थारु नृत्य देखाएर मनोरञ्जन गराउने अभिभारा महिलाको काँधमा छ । जुन, काम यही सनम र पानफूला सखी समूहका महिलाले गरिरहेका छन् ।

एक हप्तामा तीन–चार दिन सामूहिक काममा बिताउने गरेको द्रोपतिले बताउनुभयो । “भादामा हरेक वर्ष लाग्ने थारु होमस्टे महोत्सव पनि हामी महिलाकै सामूहिक कार्यबाट सफल बन्ने गरेको छ” उहाँले भन्नुभयो । “समूहका २७–२८ जना यसरी काममा खटेकै हुन्छौँ ।”

सामूहिक रूपमा काम गरेर महिलाले आम्दानी गरिरहेका छन् । उनीहरूले काम गरेबापत निश्चित शुल्क लिने गरेका छन् । यसैगरी, नाचगान देखाएर पनि आम्दानी हुने गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter