कांग्रेस महासमिति बैठक : आजदेखि बन्दसत्र; सुशासनलाई मुलमन्त्र बनाएर जनताका मुद्दासँग निरन्तर जोडिनेछौं : महामन्त्री थापा; महामन्त्री शर्माको १० बुँदे राजनीतिक प्रस्ताव

काठमाडौँ, फागुन ८ गते । नेपाली कांग्रेसको महासमिति बैठकको बन्दसत्र आजदेखि सुरु हुँदैछ । सोमबार उद्घाटनसत्रसँगै सकिएको महासमितिको बैठक आज बिहान ९ बजेदेखि बन्दसत्र सुरु गर्न लागिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा छलफलका लागि पाँचवटा प्रतिवेदन पेस हुन लागेका छन् ।

मुख्यसचिव पौडेलका अनुसार बैठकमा पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव पेस हुन लागेको छ ।

यस्तै पार्टीका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्ताव पेस गर्न लागेको पार्टीका सूचना, सञ्चार तथा प्रचार विभागका संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

बैठकमा पेस भएका प्रस्तावबारे महासमितिको बैठकमा छलफल गरी पास हुनेछन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सोमबारदेखि सुरु भएको महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ ।

कांग्रेसको महासमिति बैठकमा भाग लिनका लागि देशैभरका महासमिति सदस्य र विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि काठमाडौँ आइपुगेका छन् । बैठकमा दुई हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ ।

बसको व्यवस्था

महासमितिको बैठकमा भाग लिन आएका सदस्यलाई आवतजावतका लागि २० बसको व्यवस्था गरेको छ । कांग्रेसको सोमदेखि सुरु भएको महासमिति बैठकमा भाग लिन सङ्घीय राजधानी काठमाडौँ आएका प्रतिनिधिलाई ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रसम्म आवतजावत गर्नका लागि बसको व्यवस्था गरेको हो ।

कांग्रेसले महासमिति बैठकलाई व्यवस्थितरूपमा सम्पन्न गर्न निर्माण गरेको यातायात व्यवस्थापन उपसमितिमार्फत काठमाडौँबाट बैठकस्थल गोदावरीसम्म जान दैनिक २० बसको व्यवस्था गरेको हो । काठमाडौँबाट गोदावरी जान विभिन्न चार रुटबाट बस छुट्ने व्यवस्था मिलाइएको यातायात व्यवस्थापन उपसमितिका सदस्य सुवन गिरीले जानकारी दिनुभयो ।

सुशासनलाई मुलमन्त्र बनाएर जनताका मुद्दासँग निरन्तर जोडिनेछौं : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई सामाजिक रूपान्तरणको संवाहक बनाउने बताउनुभएको छ। ललितपुरको गोदवारीमा जारी महासमिति बैठकमा सांगठनिक प्रतिवेदन प्रस्ताव पेश गर्दै उहाँले कांग्रेसको अभियानलाई सामाजिक आन्दोलनसँग जोड्ने जानकारी दिनुभयो।

उहाँले भन्नुभयो–“पार्टीले आफूले नेतृत्व गरेका सबै तहका सरकार सञ्चालनका लागि सुशासनलाई मन्त्र बनाई जनतालाई निरन्तर तीनका मुद्दासँग जोडिएको अनुभुत गराउनेछौं। अवसर पाएको बेला अव्वल सेवा प्रवाह गर्न भविष्यप्रतिको भरोसा दिलाउनेछौं।”

महामन्त्री थापाले काँग्रेसलाई लोकतन्त्रमा आस्थावानको एकमात्र विश्वासिलो र आम जनताको भरपर्दो पार्टी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। महामन्त्री थापाले आन्तरिक प्रतिस्पर्धामा गुटगत भिन्नता देखिए पनि सार्वजनिक हितका विषयमा एकजुट भएर लाग्ने सामूहिक भावना कांग्रेसमा रहेको बताउनुभयो।

गठबन्धनबारे बोल्दै महामन्त्री थापाले तत्कालीन सरकारले पटक पटक असंवैधानीक ढंगले प्रतिनिधिसभा विघटन गरेपछि गठबन्धनको परिस्थिति बनेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “एक विशिष्ट परिस्थितिमा संविधान र लोकतान्त्रिक प्रणालीको रक्षार्थ नेपाली कांग्रेसले पाँच दलीय गठबन्धनको नेतृत्वगर्दै सरकारको जिम्मेवारी बहन गर्नुपरेको थियो। त्यसैको निरन्तरता स्वरुप पार्टीले लोकतन्त्र र संविधानको रक्षार्थ र स्थिरताका लागि निर्वाचनमा गठबन्धन गर्ने निर्णय भएको थियो।”

सरकार र पार्टीको सम्बन्धमा सबै तहमा केही न केही समस्या भए पनि ती समस्या समाधानका लागि छलफलका माध्यमबाट पार्टी अघि बढ्ने महामन्त्री थापाले जिकिर गर्नुभयो।

महासमिति बैठकमा महामन्त्री शर्माको १० बुँदे राजनीतिक प्रस्ताव

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महासमिति बैठकमा १० बुँदे राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभएको छ । सोमबार सुरु भएको बैठकमा महामन्त्री शर्माले केन्द्रीय कार्यसमिति बैठकमा प्राप्त सुझावका आधारमा थप एवम् परिमार्जनसहित राजनीतिक प्रस्ताव पेस गर्नुभएको हो ।

महामन्त्री शर्माले लोकतन्त्रको विकल्प : समुन्नत लोकतन्त्र, समुन्नत लोकतन्त्रका लागि : लोकतान्त्रिक संस्कृति, गठबन्धन : फरक मतको चुनौतीपूर्ण सहयात्रा, सरकारमा सहभागिता : उपलब्धि, चुनौती र अपेक्षा, नेपालमा सुशासन : चरित्र, चुनौती र निदान, नागरिकमा असन्तुष्टि : कारणको चुरो र निवारणको जरो, राज्य र राजनीतिको साझा कार्यभार, राजनीतिले चिन्नु पर्ने, चिर्नु पर्ने र सहकार्यमा गाँस्नु पर्ने नेपाली समाजको बहुआयामिक मनोविज्ञान, व्यवस्थामा परिमार्जन, अवस्थामा रूपान्तरण र नीति, विधि र तिथिको जगमा १५ वर्षे सपना शीर्षकमा १० बुँदे राजनीतिक प्रस्ताव पेस गर्नुभएको हो ।

भ्रष्टाचार अन्त्य गरी सुशासन स्थापना गर्नु कांग्रेसको प्रमुख नीति : उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नु नेपाली कांग्रेसको प्रमुख नीति हुने बताउनुभएको छ ।

मङ्गलबार पार्टीको महासमिति बैठकमा पार्टीको नीतिगत प्रतिबद्धता प्रस्तुत गर्नुहुँदै उपसभापति खड्काले देशमा देशमा भ्रष्टाचारको अन्त्य गरी सुशासन स्थापना गर्नु कांग्रेसको प्रमुख नीति भएको बताउनुभएको हो ।

उपसभापति खड्काले सुशासन तथा सदाचार नीति तर्जुमा, बलियो भ्रष्टाचार ऐनको निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनलाई कांग्रेसले मूल नीतिको रूपमा स्वीकार गर्ने बताउनुभयो । उहाँले समाजमा असमानता बढाउने प्रमुख कारक कुशासन र भ्रष्टाचार भएको भन्दै समुन्नति, सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रण एक अर्काका पूरक भएको जानकारी दिनुभयो । उहाँले कांग्रेसले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताका साथ अपनाउँदै आफ्ना हरेक गतिविधिलाई पारदर्शी बनाउने अठोट र सङ्कल्प गर्ने स्पष्ट पार्नुभयो ।

‘‘नेपाली कांग्रेस संविधानलाई गतिशील दस्ताबेजको रूपमा हृदयङ्गम गर्दछ । संविधानको आधारभूत रचनामा प्रतिकुल असर नपर्ने गरी आवश्यकताअनुसार संविधान संशोधनप्रति नेपाली कांग्रेस खुला छ । संविधान लागूभए यताका हाम्रा आफ्नै अनुभव तथा पार्टी पङ्क्तिबाट आएका सुझावहरू समेतको आधारमा संविधान संशोधनको आवश्यक नेतृत्व नेपाली कांग्रेस आफैँले लिनेछ ।,’’ उपसभापति खड्काले भन्नुभयो, ‘‘आगामी दिनमा सम्पूर्ण पक्षसँग छलफल गर्दै संविधानलाई थप समृद्ध र थप सर्वस्वीकार्य बनाउन नेपाली कांग्रेस सम्पूर्ण नागरिक तथा राजनीतिक शक्तिलाई एकै स्थानमा ल्याएर छलफल, अन्तरक्रिया तथा विमर्शमार्फत समाधान खोज्ने प्रतिबद्धता व्यक्त गर्दछ । सुशासन र भ्रष्टाचार नियन्त्रण आम नागरिकको चासो र सरोकारको विषय हो । नेपाली समाजमा असमानता बढाउने प्रमुख कारक भनेको कुशासन र भ्रष्टाचार हो । समुन्नति, सुशासन स्थापना, र भ्रष्टाचार नियन्त्रण एक अर्काका पूरक हुन् । यो नै लोकतन्त्रको, समृद्धिको आधार पनि हो ।’’

उपसभापति खड्काले वर्तमान सरकारले सुशासनको सम्बन्धमा केही सकारात्मक कदम चालेको भन्दै सो कदम सुखद् र आशालाग्दो सङ्केत भएको उल्लेख गर्नुभयो । उपसभापति खड्काले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि कठोर भएर थप काम गर्नुपर्ने आवश्यकता रहेको र यसका लागि नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताउनुभयो ।

‘‘नेपाली कांग्रेस भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताका साथ अपनाउँदै आफ्ना हरेक गतिविधिलाई पारदर्शी बनाउने अठोट र सङ्कल्प गर्दछ । नेपाली कांग्रेस सम्मिलित वर्तमान सरकारले सुशासनको सम्बन्धमा केही सकारात्मक कदम चालेको छ । यो हाम्रा लागि सुखद् र आशालाग्दो सङ्केत हो । तर यति हुँदाहुँदै पनि सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि कठोर भएर थप काम गर्नुपर्ने आवश्यकता छ ।,’’ उपसभापति खड्काले भन्नुभयो, ‘‘यसकाप्रति नेपाली कांगेस आफ्ना प्रतिबद्धता दोहोर्‍याउन चाहन्छ । देशमा भ्रष्टाचार अन्त्य गरी सुशासन स्थापना गर्न नेपाली कांग्रेसको प्रमुख नीतिमध्येको प्रमुख नीति हो हुनेछ । सुशासन तथा सदाचार नीति तर्जुमा, बलियो भ्रष्टाचार ऐनको निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनलाई नेपाली कांग्रेस मूल नीतिको रूपमा स्वीकार गर्दछ । सामूहिकता, सुकर्म र आत्मअनुशासनलाई सुशासनको आधार मान्दै यसको जगमा उभिएर भ्रष्टाचार नियन्त्रण गर्ने नीति तथा कार्यक्रम तय गर्ने अभिभारा नेपाली कांग्रेसले पूरा गर्नेछ । यो अभियानलाई अगाडि बढाउनेछ ।’’

उहाँले संविधानको आधारभूत रचनामा प्रतिकुल असर नपर्ने गरी आवश्यकताअनुसार संविधान संशोधन गर्न कांग्रेस खुला रहेको स्पष्ट पार्नुभयो । उहाँले संविधान संशोधनको आवश्यक नेतृत्व पनि कांग्रेस आफैँले लिने बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter