चक्रपथ दोस्रो खण्ड विस्तार : चिनियाँ पक्षको ‘कूटनीतिक नोट’

विष्णु पाण्डेय / काठमाडौं, चैत १० गते । चक्रपथ विस्तारको दोस्रो खण्ड अन्तर्गत कलंकी–बसुन्धरा सडकखण्डको विस्तारका लागि चिनियाँ पक्षले सकारात्मक चासोसहित कूटनीतिक (डिप्लोमेटिक) नोट पठाएको छ ।

चिनियाँ पक्षले सडक विस्तार गर्ने प्रयोजनका लागि डिप्लोमेटिक नोट पठाएकाले अहिले निर्माणको फाइल अर्थ मन्त्रालय पुगेको छ । सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक डा. विजय जैसीका अनुसार चिनियाँ पक्षले काम थाल्नुअघि डिप्लोमेटिक नोट पठाउने गरेको छ ।

अब यो नोटलाई सरकारले अनुमोदन गरेपछि चिनियाँ टोली नेपाल आएर यसको विस्तृत सम्भाव्यता अध्ययन (डिपीआर ) तयार गर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “चिनियाँ सरकारले काम थाल्नुअघि सुरुमा डिप्लोमेटिक नोट पठाउने गरेको छ ।” चक्रपथको दोस्रो खण्ड विस्तारका लागि चिनियाँ पक्षले नोट पठाएकाले अनुमोदन भएपछि चिनियाँ टोली नेपाल आएर यसको डिपीआर निर्माण हुनेछ ।”

उहाँका अनुसार अबको ६ महिनामा डिपीआर तयार हुने र यसको ठेक्का प्रक्रियासमेत थालनी हुनेछ । एक वर्षअघि नै चिनियाँ पक्ष नेपाल आएर सडकको कन्सेप्ट नोट लिएर गएको थियो ।

चक्रपथ विस्तारको पहिलो खण्ड (कोटेश्वर–कलंकी) विस्तारको काम सकिएको पाँच वर्ष बित्दा पनि दोस्रो खण्ड (कलङ्की–बसुन्धरा) मा काम सुरु हुन सकेको छैन । अब कामको प्रक्रिया अघि बढ्ने उहाँको भनाइ छ । विभागका उपमहानिर्देशक जैसीले भन्नुभयो, “दोस्रो चरणको काम छिटो अघि बढ्छ । डीपिआर तयार हुन ६ महिना लाग्छ, त्यसपछि ठेक्का लागेर काम सुरु भइहाल्छ ।”

अहिले यस क्षेत्रमा धुलोका कारण छेउछाउका नागरिकहरु दिक्क भएका छन् । छेउछेउमा अनधिकृत रुपमा माटो थुपारेका कारण सडक जाम हुनेगरेको स्थानीयको गुनासो छ । उपत्यकाबाट लामो दूरीमा छुट्ने सवारीसाधन बसपार्कदेखि कलङ्कीसम्म यही सडक भएर जानुपर्ने हुँदा कलङ्कीसम्म आइपुग्न एक घण्टा लाग्नेगरेको चालकहरुको भनाइ छ ।

सडक विस्तारका लागि रुख कटान गरिएका कारण छेउछाउमा सवारीहरु अनाधिकृत रुपमा राखेकाले सडक नै कुरुप देखिएको छ । तेस्रो खण्ड (बसुन्धरा चावहिल) मा दोस्रो खण्डको निर्माणको काम भएपछि टुङ्गो लाग्ने बताइएको छ ।

साइट क्लियर

चिनियाँ पक्षले दोस्रो खण्डमा साइट क्लियर नभएसम्म आफूहरुले काम नथाल्ने जनाएपछि नेपाल पक्षले सबै साइट क्लियर गरिसकेको जनाएको छ । सडक छेउछाउका रुखको कटान, बिजुलीका पोलहरु सार्ने काम र मुआब्जा वितरणको काम सकिएको छ ।

काठमाडौं चक्रपथ विस्तार आयोजनाका प्रमुख कृष्णनाथ ओझाका अनुसार नेपाल पक्षले गर्नुपर्ने सबै साइट क्लियरको काम सकेर चिनियाँ पक्षलाई कुरेर बसेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली पक्षले गर्नुपर्ने सबै साइट क्लियर भएको छ । अब चिनियाँ पक्षले काम गर्न सक्ने वातावरण बनिसकेको छ ।”

उहाँका अनुसार नेपाल पक्षले सक्नुपर्ने सडकको दायाँ र बायाँको छ–छ मिटरको सर्भिस लेन निर्माणको क्रममा रहेको छ । यो काम सम्पन्न गर्न बाँकी रहे पनि चिनियाँ पक्षलाई काममा कुनै अवरोध नहुने उहाँको तर्क छ ।

चक्रपथको विस्तार पहिलो खण्डको सडकमा मुख्य लेन, सहायक र सर्भिस गरेर तीन किसिमका लेन छन् । चिनियाँ सरकारले आठ लेन सडक निर्माण गरेको थियो । सरकारले मुख्य सडकभन्दा बाहिरपट्टि दुवैतर्फ सर्भिस ट्रयाक निर्माण गर्दा यो सडक १० लेन बनेको छ । दोस्रो खण्डमा पनि यही मोडालिटिमा काम अघि बढ्ने उहाँको भनाइ छ ।

सडकको बिचमा चार लेन मुख्य लेन, त्यस बाहिर दुई–दुई गरी जम्मा चार लेन छ । चक्रपथको पहिलो खण्ड ललितपुर र काठमाडौं गरी दुवै जिल्लामा रहेको छ । दोस्रो खण्ड भने काठमाडौंमा मात्र छ ।

चिनियाँ पक्षसँग पहिले चाबहिल–धोबीखोलासम्म सडक विस्तार गर्नेगरी छलफल भएको थियो । स्वयम्भू, महाराजगञ्ज लगायतका स्थानमा निर्माणस्थल खाली गराउँदा विभिन्न अवरोध आएपछि कलङ्कीबाट वसुन्धारासम्म सडक विस्तार गर्न लागिएको हो ।

चक्रपथको दूरी कुल २७ किलोमिटर छ । यसमध्ये कोटेश्वर–कलङ्की सडक १०.३९ किलोमिटर चीनको साङ्घाई कन्स्ट्रक्सन ग्रुप्सले २०७० देखि थालेको थियो । २०७३ माघसम्म विस्तार गर्ने लक्ष्य थियो । तर २०७२ को भूकम्प र भारतीय नाकाबन्दीका कारण निर्माण पर धकेलियो । २०७५ सालमा सडक हस्तान्तरण भएको थियो । यो खण्डको विस्तार गर्न करिब पाँच अर्ब रुपियाँ खर्च भएको थियो । (गोरखापत्र)

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter