उच्च शिक्षा सुधारका लागि विश्वविद्यालयले विशेष योजना बनाउनुपर्छ : शिक्षामन्त्री श्रेष्ठ
काठमाडौँ, वैशाख १८ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मुलुकको उच्च शिक्षा सुधारका लागि विश्वविद्यालय विशेष योजना बनाएर लाग्नुपर्ने बताउनुभएको छ। नेपाल संस्कृत विश्वविद्यालयको ७६ औँ सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भन्नुभयो, ‘उच्च शिक्षा सुधारका लागि विश्वविद्यालयले विशेष योजना बनाउनुपर्दछ। उच्च शिक्षा अध्ययनका लागि दिनहुँ हजारौँ विद्यार्थीले देश छोडिरहेका छन्। यसलाई रोक्न विश्वविद्यालयले विशेष योजना बनाउनुपर्दछ।’
नेपाल संस्कृत विश्वविद्यालयलाई पूर्वीय दर्शनको केन्द्र बनाउनुपर्ने भन्दै मन्त्री श्रेष्ठले यसका लागि सरकारले योजना बनाउने बताउनुभयो। संस्कृत भाषा, साहित्य र वाङ्मयको अध्ययन, अनुसन्धानका लागि संस्कृत विश्वविद्यालयको स्थापना भएको चर्चा गर्नुहुँदै मन्त्री श्रेष्ठले विश्वविद्यालयले यसको विकासका लागि कार्ययोजना बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो। ‘‘नेपाल संस्कृत विश्वविद्यालयको स्थापनाको तात्पर्य भनेकै संस्कृत भाषा, साहित्य र वाङ्मयको अध्ययन र अनुसन्धान गर्नु हो’’, मन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘संस्कृत विश्वविद्यालयलाई पूर्वीय दर्शनको केन्द्र बनाउनुपर्दछ। पूर्वीय दर्शनप्रति अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई आकर्षण गर्न विश्वविद्यालयले विशेष योजना बनाउनुपर्दछ।’’
संस्कृत विश्वविद्यालयको महत्त्व र नयाँपन झल्काउने गरी लागिपर्न विश्वविद्यालय मन्त्री श्रेष्ठले निर्देशन दिनुभयो। विश्वविद्यालयको जग्गा विवाद समाधान गर्न उच्चस्तरीय कार्यदल बनाउनुपर्ने बताउँदै मन्त्री श्रेष्ठले सरकारले तत्काल कार्यदल बनाउने बताउनुभयो।
बैठकलाई सम्बोधन गर्दै उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले पहिले अस्तित्वमा रहेका शैक्षिक, प्राज्ञिक, प्रशासनिक र संरचनागत क्षेत्रका चुनौती चिरेर विश्वविद्यालय अगाडि बढेको बताउनुभयो। संस्कृतको मौलिकताको रक्षाका साथसाथै यसको आधुनिकीकरण पनि आवश्यक रहेको बताउनुभयो।
विभिन्न समस्या चिर्दै निराशा र नकारात्मकतालाई चिरेर सकारात्मकता र आशातिर अभिमुख तुल्याउन विश्वविद्यालय सफल भएको भन्दै उपकुलपति लामिछानेले विश्वविद्यालयको नाममा दाङ र देउखुरी उपत्यकामा रहेको १७ सय बिघा जग्गामा रहेको द्वैध स्वामित्व अन्त्य गर्नका लागि राज्यस्तरबाटै ठोस नीति निर्माण गरिदिन आग्रह गर्नुभयो।
प्राचीन ऋषिमहर्षिको लामो तपस्याद्वारा निःसृत संस्कृत वाङ्मयमा ज्ञान विज्ञानको अविरल धारा प्रवाहित हुँदै आइरहेको बताउँदै उपकुलपति लामिछानेले भन्नुभयो, ‘‘विश्वविद्यालयले पूर्वीय वाङ्मयका प्रायोगिक विषयहरूको अध्ययन अध्यापन गराउँदै जाने लक्ष्यअनुरूप योग तथा प्राकृतिक चिकित्साको स्नातक कक्षाको पठनपाठन सञ्चालन गराउन पाठ्यक्रम निर्माण प्रक्रिया पूरा गरेको छ। उक्त कक्षा सञ्चालनलाई विश्वविद्यालयले प्राथमिकता दिएको छ। योग तथा जीवनशैली व्यवस्थापन विषयको आचार्य तहको पाठ्यक्रम पनि तयार भैसकेको र उक्त विषयको पठनपाठन निकट भविष्यमै सञ्चालन गर्न लागिएको छ।’’
सभाले विश्वविद्यालयका कुलसचिव प्रा. माधव अधिकारीले प्रस्तुत गर्नुभएको बजेट पारित गरेको छ। आर्थिक वर्ष २०७९/२०८० को ९४ करोड ९८ लाख ८४ हजार ३ सय ५० को बजेट पारित गरेको छ। त्यस्तै चालु आर्थिक वर्षको १ अर्ब ४२ करोड प्रस्तावित बजेटसमेत पारित गरेको छ।