• Friday, May 02, 2025

काठमाडौँ महानगरको गौरव योजना; आइटीदेखि सेनिटरी प्याड मेकिङ तालिमसम्म

सपना थामी / काठमाडौँ, वैशाख १८ गते । काठमाडौँ महानगरपालिकाको गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ अन्तर्गत वैशाख १९ गतेदेखि एक महिने सीप मेला आयोजना हुँदैछ । महानगरका रोजगार संयोजक देवेन्द्र केसीका अनुसार वार्षिक रूपमा १५ हजारलाई तालिम र पाँच हजारलाई रोजगारी दिने उद्देश्यले बृहत् सीप मेला टुँडिखेलमा आयोजना हुन लागेको छ ।

केसीले भन्नुभयो, “रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि हाम्रो गौरव योजना अन्तर्गत वार्षिक रूपमा १५ हजारलाई तालिम दिने र पाँच हजारलाई रोजगारी दिने उद्देश्यले तालिम सुरु हुँदैछ । यस अन्तर्गत विभिन्न तालिमहरु चलिरहेको छ भने कुनै तालिम सुरु हुने तरखरमा छ ।”

उहाँले २०८१ सालमा दुई हजार ८१ जनालाई खुला पहुँचमा एक हप्तादेखि एक महिनासम्मको तालिम सञ्चालन हुने जानकारी दिनुभयो । उहाँका अनुसार न्यूनतम दश क्षेत्रका ३६ भन्दा बढी विधामा तालिमहरू सञ्चालन हुनेछन् ।

सीप मेलालाई रोलमोडलको रूपमा तयार गर्ने उद्देश्यले रोजगारदाता र रोजगारी आवश्यक भएकाबिचको प्रत्यक्ष संलग्नतामा तालिम सञ्चालन हुन गइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यसको मुख्य उद्देश्य रोलमोडलको रूपमा तयार गर्न थालिएको हो । तालिम पनि त्यही र रोजगारदाता पनि त्यही हुन्छ । रोजगारदाता पनि त्यही राखेर एउटा इको सिस्टमको रूपमा यसलाई तयार गर्छौँ । अन्य तालिम एउटा कोठा वा घरभित्र हुन्छ तर यो रोजगारदाताको प्रत्यक्ष निगरानीमा हुने भएकाले अरूभन्दा फरक छ ।”

३० दिनको सीप तालिम सम्पन्न भएपश्चात् आयोजना हुने दुई दिने रोजगार मेलामा काउन्सिलिङ पश्चात् रोजगारदाताले प्रत्यक्षरुपमा कामदार छनौट गर्न सक्ने उहाँको भनाइ छ ।

सञ्चालन हुने तालिम :

महानगरद्वारा सञ्चालन हुने विभिन्न तालिममध्ये अटोमोबाइल क्षेत्रका उपक्षेत्रहरूमा अटो इलेक्ट्रिक, अटो डेन्टपेन्ट, अटो एयर कन्डिसन, इलेक्ट्रिक बाइक-स्कुटर र इलेक्ट्रिक कार रहेका छन् ।

भौतिक निर्माण क्षेत्रभित्रका उपक्षेत्रभित्र मेसन, टायल तथा मार्बल फिटर, इलेक्ट्रीसीयन, वाटर प्युरिफिकेशन टेक्निशियन, सोलार फिटिंग टेक्निशियन र प्लम्बिङ छन् । हस्पिटालिटी एण्ड म्यानेजमेन्ट क्षेत्रभित्रका उपक्षेत्रहरू कफी वारिस्ता, फास्ट फुड कुक, बेकर, बार टेण्डर, र वेटर छन् । आइटी क्षेत्र अन्तर्गत डिजिटल मार्केटिङ, ग्राफिक्स डिजाइनिङ्ग, प्रिन्टर रिपेयरिङ्ग, कम्प्युटर हार्डवेयर तथा नेटवर्क र सिसिटिभी रेपियरिङ्ग छन् ।

यसैगरी, मोबाइल रिपेरिङ्ग, फ्रिज तथा एसी रिपेरिङ्ग, वेल्डिङ्ग, आर्ट एण्ड स्कल्पचर, टेलरिङ्ग अन्तर्गत गार्मेन्ट फेब्रिकेटर, फेसन डिजाइनिङ्ग, ब्यूटीसियन अन्तर्गत नेल आर्ट, मेकअप आर्ट, आईल्यासिस आर्ट, हेयर कटिङ तथा स्टाइल, सैलुन लगायतका तालिम सञ्चालन हुँदैछन् ।

इन्टेरियर डिजाइनिङ अन्तर्गत प्लटर लेजर कटिङ, साइन मेकिङ, स्क्रिन प्रिन्टिङ, ग्रिन सोलुसन क्षेत्र अन्तर्गत रिसाइकलिङ फ्लेक्स तथा स्कुल ब्याग मेकिङ्ग, क्यानभास ब्याग मेकिङ्ग, प्लास्टिक रिसाइकलिङ छन् भने ज्योतिष विद्या र सेनिटरी प्याड मेकिङ लगायतका तालिम सञ्चालन हुने उहाँको भनाइ छ ।

महानगरले तालिममा सहभागिता एवम् रोजगारीका लागि काठमाडौँवासी तथा मतदातालाई पहिलो प्राथमिकता, डम्पिङ साइटमा बसोबास गर्नेलाई दोस्रो प्राथमिकता र बागमती प्रदेश अन्तर्गतका स्थानीयलाई तेस्रो प्राथमिकता राखेको छ ।

काठमाडौँ महानगर र नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घबिच भएको सम्झौताअनुसार तालिमको कोर्स, उपकरण र प्रशिक्षक महासङ्घले उपलब्ध गराउने छ ।

उद्योग वाणिज्य महासङ्घ, गार्मेन्ट लगायतका विभिन्न व्यवसायी तथा कर्मचारी आवश्यक भएको रोजगारदाताहरू तालिममा प्रत्यक्ष सङ्लन्न हुनेछन् ।

महासङ्घका महासचिव छत्रबहादुर बमले भन्नुभयो, “सीप तथा रोजगार मेलामा सात दिने, १५ दिने र बढीमा एक महिनासम्मको कोर्स कन्टेन्ट बनाउने, टुल्स, इक्विप्मेन्ट र प्रशिक्षक महासङ्घले सहयोग गर्नेछ । बजारको मागअनुसारको करिकुलम बनाएर टुँडिखेलमा तालिम सञ्चालन गर्छौँ ।”

उहाँका अनुसार उद्योग वाणिज्य महासङ्घ, गार्मेन्ट लगायतका विभिन्न व्यवसायी तथा कर्मचारी आवश्यक भएको रोजगारदाताहरू तालिममा प्रत्यक्ष सङ्लन्न हुनेछन् । बमले भन्नुभयो, “पहिलोचोटी यस किसिमको तालिम सञ्चालन हुन गइरहेको छ । यो नयाँ पनि हो । यसअघि सात, दश दिनको तालिम हुने गर्दथ्यो । एक महिनासम्म प्रत्यक्ष मेलाका रूपमा सञ्चालन हुने भएकोले महानगरपालिकाको यो राम्रो भिजन हो ।”

तालिमका प्रशिक्षार्थीलाई बजारमा कसरी रोजगारी दिन सकिन्छ भनेर महासङ्घले पनि आफ्नो तर्फबाट आवश्यक भूमिका खेल्ने उहाँको भनाइ छ । (गोरखापत्र)

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter