• Wednesday, April 23, 2025

प्रधानमन्त्री प्रचण्डसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट; जापानी विदेशमन्त्री खामिखावा वसन्तपुरमा

काठमाडौँ, वैशाख २३ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालको भ्रमणमा रहनुभएकी जापानी विदेशमन्त्री खामिखावा योकोले शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आइतबार भएको भेटमा उहाँहरूबिच द्विपक्षीय चासो, आर्थिक सहकार्यलगायतका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. रूपक सापकोटाले जानकारी दिनुभयो ।

भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल–जापानबिच कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नै नेपालको आर्थिक एवं सामाजिक विकासमा जापान सरकारले सहयोग पुर्‍याउँदै आएको र पछिल्लो समय नेपालको ठुला पूर्वाधार निर्माणमा पनि महत्त्वपूर्ण सहयोग गरेको बताउनुभयो।उहाँले नेपालको पूर्वाधार एवं आर्थिक–सामाजिक क्षेत्रमा जापान सरकारबाट प्राप्त हुँदै आएको योगदानप्रति आभार व्यक्त गर्नुभयो।

“नेपाल–जापानबिच हुँदै आएको उच्चस्तरीय भ्रमणले दुई देशबिचको कूटनीतिक सम्बन्ध अझ सबल हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “आगामी दिनमा नेपाल र जापान दुवैतर्फबाट उच्चस्तरीय भ्रमण हुने मैले विश्वास लिएको छु ।”

सो अवसरमा जापानी विदेशमन्त्री योकोले नेपाल–जापानबिच सम्बन्ध सदैव सौहार्दपूर्ण रहँदै आएको उल्लेख गर्दै दुई देशबिच रहिआएको समस्यारहित मित्रवत् सम्बन्धलाई आगामी दिनमा अझ बलियो बनाएर लैजानुपर्नेमा जोड दिनुभयो।उहाँले आर्थिक विकासमा नेपालले राखेका लक्ष्य पूरा गर्नका लागि जापान सरकारले सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. सापकोटा, परराष्ट्र सचिव सेवा लम्साल, जापानका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदी, नेपालका लागि जापानी राजदूत किकुता युताकालगायतका उच्च अधिकारीको सहभागिता रहेको थियो।

जापानी विदेशमन्त्री खामिखावा वसन्तपुरमा

जापानका विदेशमन्त्री खामिखावा योकोले वसन्तपुरको भ्रमण गर्नुभएको छ। नेपालको औपचारिक भ्रमणका लागि आइतबार दिउँसो काठमाडौँ आइपुग्नुभएका उहाँ अपराह्न वसन्तपुरमा पुग्नुभएको हो।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गर्नुभएको थियो।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेश मन्त्री खामिखावा नेपाल भ्रमणमा आउनुभएको हो। जापानको विदेशमन्त्री नियुक्त भएपछि उहाँको यो पहिलो नेपाल भ्रमण हो।

भ्रमणका क्रममा उहाँले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। विदेशमन्त्री खामिखावाले आजै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठसँग मन्त्रालयमा भेटघाट र द्विपक्षीय वार्ता गर्नुहुनेछ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter