• Friday, May 02, 2025

जोखिम न्यूनीकरणका लागि समयमै सही सूचना आवश्यक : मन्त्री शर्मा

काठमाडौँ, असार ५ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बाढी पहिरो लगायत विपद् जोखिम न्यूनीकरण गर्न आम नागरिकलाई समयमै सही सूचना दिने व्यवस्था मिलाउन मातहतका निकाय तथा सरोकारवालाहरूलाई आग्रह गर्नुभएको छ ।

मनसुनजन्य विपद्का घटना बढ्न थालेको बेला इमरजेन्सी टेलिकम्युनिकेसन क्लष्टर (ईटिसी) को बैठक आह्वान गरेर मन्त्री शर्माले सबैलाई तयारी अवस्था रहन आग्रह गर्नुभएको हो । उहाँले आफ्ना सबै संरचनाहरू तयारी हालतमा राखेर नागरिकलाई तत्काल सूचना दिने गरी पूर्वतयारी थाल्ने सरोकारवालाहरूलाई आग्रह गर्नुभयो ।

‘‘आपत्कालीन अवस्थामा सञ्चार नै प्रमुख कुरा हो, समयमै सही सूचना भयो भने एकातिर जनधनको क्षति रोक्न सकिन्छ भने अर्कोतिर उद्धार, उपचार र राहतका काम पनि प्रभावकारी बनाउन सकिन्छ,’’ उहाँले भन्नुभयो, ‘‘विपद्को बेलामा सञ्चार पूर्वाधारमा कुनै समस्या आउन नदिएर सेवा प्रवाह गर्ने र आवश्यक सूचना प्रचारप्रसार गरेर क्षति न्यूनीकरण गर्ने पनि सञ्चार क्षेत्र नै भएकाले यो क्षेत्र थप गम्भीर र संवेदनशील हुन आवश्यक छ ।’’

विपद्का घटना हुनुअघि पूर्व सूचना दिने र स्वयम् सञ्चार सम्बद्ध निकाय तथा संस्थाहरूले आफूलाई विपदबाट बचाएर सेवा प्रवाह गर्ने दुवै तरिकाले सोच्नुपर्ने उल्लेख गर्नुहुँदै मन्त्री शर्माले हरेक निकायले आपत्कालीन उद्धार समूहहरू बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । टेलिफोन र इन्टरनेट सेवा प्रदायकहरूलाई सम्भावित जोखिमस्थलहरुको पहिचान गरेर घटनापछि सेवा अवरुद्ध नहुने गरी वैकल्पिक व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।

नेपाल विपद्का हिसाबले विश्वमै जोखिमयुक्त मुलुक भएकाले एउटा विपदबाट बच्ने तयारी गरिरहँदा अर्को विपद् आउनसक्ने भएकाले दीर्घकालीनरुपमा नै विपदबाट बच्नका लागि सञ्चार व्यवस्था प्रभावकारी बनाउनुपर्नेमा मन्त्री शर्माले जोड दिनुभयो । उहाँले यस्तो अवस्थामा आम सञ्चारका माध्यमको सबैभन्दा प्रभावकारी भूमिका हुने र त्यसमा पनि अझ विपद्को बेलामा पनि सुन्न सकिने रेडियोहरूले क्षणक्षणमा सही सूचना दिनुपर्ने बताउनुभयो ।

यसका लागि सरकारले के गर्नुपर्ने, सरकार मातहतका सञ्चार क्षेत्रले के गर्नुपर्ने, निजी क्षेत्रका सेवा प्रदायक र सामुदायिक तथा निजी क्षेत्रका सञ्चार माध्यहरूले के गर्नुपर्ने भन्ने विषयमा छलफल गरेर ठोस तयारीका लागि इमरजेन्सी टेलिकम्युनिकेसन क्लष्टरको बैठक बोलाइएको जानकारी दिनुहुँदै उहाँले सबै क्षेत्रले आ–आफ्नो तर्फबाट राम्रै तयारी गरेको भएपनि यसलाई एकीकृत र समन्वयकारी रूपमा अघि बढाउन आवश्यक रहेको बताउनुभयो ।

सङ्कटको बेलामा सरकार, समुदाय, गैरसकारी र निजी क्षेत्रको बिचमा कुनै भिन्नता नहुने स्पष्ट गर्दै सबै एकीकृत रूपमा आधारित तथा सही सूचनाका आधारमा अघि बढ्नुपर्नेमा मन्त्री शर्माले जोड दिनुभयो ।

बैठकमा दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र एनसेलका प्रमुख तथा प्रतिनिधिहरूले बाढी पहिरोको जोखिमस्थल क्षेत्रका सेवाग्राहीलाई विपद् जोखिमको सूचना दिन एसएमएस गर्ने व्यवस्था मिलाइएको जानकारी दिएका थिए । त्यस्तै सरकारी स्वामित्वका सञ्चार माध्यम, अकोराब, बानलगायतका संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले विपद्जन्य जोखिमबाट बच्नका लागि सचेतनाका कार्यक्रम र सूचनाहरू नियमित रूपमा प्रवाह गरिरहेको बैठकमा जानकारी गराएका थिए ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter