• Friday, May 16, 2025

काठमाडौँ महानगरपालिकाद्वारा २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको बजेट घोषणा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको अनुमानित बजेट घोषणा गरेको छ ।

सोमबार आयोजित १५ औँ नगरसभाको बैठकमा उपप्रमुख सुनिता डंगोलले बजेट घोषणा गरेकी हुन् ।

उनले भनिन्, ‘२०८१ ८२ को नीति तथा कार्यक्रमलाई सार्थक पार्न २५ अर्ब ७० करोड ६३ लाख २५ हजारको अनुमानित बजेट तथा कार्यक्रम तयार गरिएको छ।’

डंगोलले ३० वटा स्वर्णिम योजनाका लागि २ अर्ब बजेट विनियोजन गरेको पनि बजेट पेश गर्दै जानकारी गराइन् । यसैगरी महानगरले आगामी आर्थिक वर्षका लागि ११ वटा गौरवका योजना पनि अगाडि सारेको छ ।

त्यसका लागि ३ अर्ब बजेट विनियोजन गरिएको उपप्रमुख डंगोलले बताइन्। चालु आर्थिक वर्ष २०८०/०८१ का लागि महानगरले २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो ।

ललितपुर महानगरले ल्यायो ७ अर्ब ४६ करोडको बजेट

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ४६ करोड ८३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । चालू वर्षका लागि ६ अर्ब ५० करोड रुपैयाँको बजेट ल्याएको ललितपुरले आगामी वर्षका लागि बजेटको आकार १५ प्रतिशतले बढी हो ।

यसमध्ये चालूतर्फ २ अर्ब ७८ करोड ८९ लाख ६९ हजार विनियोजन भएको छ । चालु आर्थिक वर्षका लागि २ अर्ब ४९ करोड ८४ लाख ४२ हजार रुपैयाँ चालू खर्चतर्फ विनियोजन भएको थियो ।

विनियोजन भएकोमा आगामी वर्षमा सामाजिक सुरक्षा भत्ता बापत थप १५ करोड विनियोजन भएको छ । यस्तै अन्य प्रशासनिक खर्च तर्फका पारिश्रमिक लगायतका अनिवार्य दायित्वको रूपमा रहेको खर्चमा हुने वृद्धिका आधारमा चालु खर्च तर्फ गत वर्षको तुलनामा करिब २९ करोड बढ्ने प्रक्षेपण गरिएको छ। अर्थात् यो रकम चालु वर्षको तुलना ११ प्रतिशत बढी हो ।

पुँजीगत खर्चतर्फ आगामी आर्थिक वर्षका लागि ४अर्ब ६७ करोड ९४ लाख २३ हजार विनियोजन गरेको उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले जानकारी दिइन् । चालु आर्थिक वर्षमा पुँजीगत खर्च ४ अर्ब २१ लाख ४६ हजार विनियोजन भएकोमा बहुवर्षीय तथा अधुरा योजनाहरूको भुक्तानी र पूर्वाधार विकासका लागि थप खर्च हुने आङ्कलन गरी गत वर्षको भन्दा करिब ६८ करोड रकम पुँजीगत खर्चमा थप हुने गरी प्रस्ताव गरिएको छ। अर्थात् यो रकम चालु वर्षको तुलना १७ प्रतिशत बढी हो।

वडास्तरीय कार्यक्रम र विषय क्षेत्रगत कार्यक्रम पूर्वाधार विकास बाहेकका लागि चालु आर्थिक वर्षमा विनियोजन भए अनुसार नै हाराहारीमा आगामी वर्षका लागि बजेट प्रस्ताव गरिएको छ । विषय क्षेत्रगत कार्यक्रम अन्तर्गत पूर्वाधार विकास तर्फ १५ करोड थप गरी ४५ करोड ६२ लाख कायम हुने गरी बजेट छुटयाईए‌को छ ।

माथि उल्लेखित सीमा भित्र रही बडा समिति र विषय क्षेत्रगत समितिले बजेट प्रस्ताव गरी पेश गरेको र सोही बमोजिम बजेट विनियोजन भएको उपप्रमुखले घोषणा गरिन् ।

यसबाहेक बोलपत्रको माध्यमबाट बस्तु र सेवा खरिदको लागि सूचना लगायतका कार्य दोस्रो त्रैमासिकभित्र गरी सक्नेगरी आवश्यक व्यवस्था मिलाइने बताइएको छ । यस्तै विगतमा बोलपत्र प्रक्रियामा रहेका आयोजनाहरू तथा निर्माण कार्य सुरु भइसकेका आयोजनाहरूको लागि बजेट सुनिश्चितता गरिएको छ ।

आर्थिक वर्ष २०८१/०८२को लागि महानगरपालिकाको विनियोजन विधेयक सभामा छुट्टै प्रस्तुत गरिएको छ । आगामी वर्षका लागि विनियोजित बजेटमध्ये स्रोत व्यवस्थापनतर्फ सङ्घीय सरकारबाट १ अर्ब ३२ करोड ८० लाख र बागमती प्रदेश सरकारबाट २२ करोड ९२ लाख ९२ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

आन्तरिक स्रोतको रूपमा रहेको आन्तरिक आय (आन्तरिक राजस्व, मालपोत रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर) आदी बाट ३ अर्ब ५५ करोड ९६ लाख सङ्कलन हुने महानगरको अनुमान छ । जसमध्ये विकास निर्माणमा जनसहभागिता बापत ८ करोड ५० लाख बराबरको रकम प्राप्त हुने अपेक्षा गरिएको छ ।

अन्तर सरकारी अख्तियारीबाट ८० करोड ६५ लाख प्राप्त हुने अपेक्षा गरिएको छ । विनियोजन बजेटको लागि नपुग हुने १ अर्ब ५४ करोड ४५ लाख नगद मौज्दातबाट व्यहोरिनेछ । करको दायरा वृद्धिका लागि विगतदेखि नै परिचालन गरिएको कर सचेतना कार्यक्रमलाई निरन्तरता दिई राजश्व अभिवृद्धि गरिने, करका दायरा वृद्धिका लागि अन्य वैकल्पिक उपायहरू र रणनीति समेत अवलम्बन गरिने लगायत नीति महानगरले लिएको छ ।

यस वर्ष नगरवासीको चाहना अनुसार र नक्सा प्रशासनलाई व्यवस्थित गर्न भवन अभिलेखीकरणको कार्य गरिने, भवन अभिलेखीकरण लगायत राजस्वका नयाँ र थप स्रोतहरूबाट १ अर्बभन्दा बढी आन्तरिक राजश्व थप हुने गरी बजेट प्रस्ताव गरिएको छ ।

पोखरा महानगरले ल्यायो साढे ७ अर्बको बजेट

पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि साढे ७ अर्बको बजेट ल्याएको छ । आगामी वर्ष कार्यान्वयन हुने गरी उपमेयर मन्जुदेवी गुरुङले ७ अर्ब ५१ करोडको बजेट प्रस्तुत गरेकी हुन् । यो बजेट चालू आर्थिक वर्षभन्दा ४३ करोड रुपैयाँ बढी हो ।

पोखराले चालू आर्थिक वर्षमा ७ अर्ब ८ करोडको बजेट कार्यान्वयन गरिरहेको छ । आगामी आर्थिक वर्षको पूरा बजेटमध्ये आगामी वर्षका लागि संघ सरकारले ४ अर्ब २० करोड अनुदान दिनेछ भने प्रदेश सरकारले ९ करोड ६३ लाख अनुदान दिने बजेटमा उल्लेख छ ।

पोखराले १ अर्ब ५५ करोड रुपैयाँ आन्तरिक आम्दानी गर्ने अनुमान गरेको छ । संघ सरकारले राजश्व बाँडफाँट मार्फत ३८ करोड ३३ लाख रुपैयाँ उपलब्ध गराउने छ भने प्रदेशले राजश्व बाँडफाँटमै ९ करोड ७२ लाख दिने छ ।

स्थानीय राजस्व बाँडफाँटबाट १ अर्ब १२ करोड र रोयल्टी बाँडफाँटबाट ५४ लाख २४ हजार प्राप्त हुने अनुमान रहेको गुरुङले बताइन् ।

५० लाखमाथिका योजना ठेक्काबाट

आगामी वर्ष पोखराले ५० लाखभन्दा बढीको योजनामा अनिवार्य प्रतिस्पर्धात्मक खरिद विधिबाट सञ्चालन गर्ने, बेरुजु फर्सौट नभएका उपभोक्ता समितिलाई नयाँ योजनाको समितिमा नराख्ने, योजनाहरूमा चैत मसान्तसम्म सम्झौता वा ठेक्का लगाएर जेठ मसान्तभित्र काम सक्नुपर्ने नीति लिएको छ । यस्तै, पुँजीगत तर्फको बजेट चालुमा रकमान्तर नगर्ने भएको छ ।

भरतपुर महानगरपालिकाको कृषिमा १३ करोड, बाँझो जमिनमा खेती गर्ने कृषकलाई प्रोत्साहन

भरतपुर महानगरपालिकाले कृषि क्षेत्रका लागि १३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सोमबार भएको पन्ध्रौँ अधिवेशनमा महानगर प्रमुख रेनु दाहालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि प्रविधि प्रसार कार्यक्रम गर्ने विषय समावेश गरिएको छ ।

वैदेशिक रोजगारबाट फर्केकाहरूलाई कृषि पेसातर्फ आकर्षित गर्नका लागि व्यावसायिक खेती गर्न कृषि उपकरण खरिदमा अनुदान, कृषि तथा पशु बीमा कार्यक्रमलाई निरन्तरता, कृषकको क्षमता अभिवृद्धि गर्ने तथा प्रविधि हस्तान्तरणका कार्यक्रम सञ्चालन गर्न रु ६ करोड विनियोजन गरिएको प्रमुख दाहालले बताइन् ।

दुध उत्पादनमा दिइँदै आएको उत्पादनमा आधारित प्रतिलिटर रु ३ अनुदान कार्यक्रमलाई निरन्तरता, पशु बीमा कार्यक्रम सञ्चालन, मत्स्य फर्महरूमा प्रयोग हुने विद्युत् महसुलमा पचास प्रतिशत अनुदान निरन्तरता लगायत पशुविकास कार्यक्रम कार्यान्वयन गर्न रु ७ करोड बजेट विनियोजन गरिएको छ ।

भरतपुर महानगरपालिकालाई उन्नत बिउ तथा खाद्यान्न उत्पादनको हबको रूपमा विकास गरिने छ,’ उनले भनिन्, ‘वैदेशिक रोजगारबाट फर्केकाहरूलाई कृषि पेसातर्फ आकर्षित गर्नका लागि व्यावसायिक खेती गर्न कृषि उपकरण खरिदमा अनुदान, बाँझो जमिनमा खेती गर्ने कृषकहरूलाई प्रोत्साहन गरिने छ।’

यस्तै रैथानै बालीको प्रवर्धन, प्राङ्गारिक मलको उत्पादन र प्रयोगलाई प्रोत्साहन, आई. पी. एम. कृषक पाठशालालाई निरन्तरता, रासायनिक मलको न्यायोचित वितरण तथा नियमन, कृषि सूचना प्रणालीको विकास गरिने छ। कृषि तथा पशु बीमा कार्यक्रमलाई निरन्तरता, कृषिको तथ्याङ्कलाई सुदृढीकरण, किसानका क्षमता अभिवृद्धि गर्ने तथा प्रविधि हस्तान्तरणका कार्यक्रमहरू सञ्चालन गरिने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग कृषि तथा पशुपालनको क्षेत्रमा प्रविधि विकास तथा विस्तार र विज्ञ सेवाको लागि सहकार्यमा कार्यक्रम सञ्चालन गरिने छ ।

“भरतपुर भ्रमण वर्ष २०२४” को सन्दर्भमा महानगरपालिकामा रहेका उत्कृष्ट कृषि फर्महरूलाई अध्ययन अवलोकन र नमुनाका रूपमा विकास गरी कृषि पर्यटन (एग्रो टुरिजम) लाई प्रवर्धन गर्न कृषक समूह तथा सहकारीहरूलाई प्रोत्साहन गरिने प्रमुख दाहालले बताइन् ।

“स्वस्थ आहार, स्वस्थ व्यवहार” अनुरूप आफैले आफ्ना लागि तरकारी उत्पादन तथा हरियाली प्रवर्धनका लागि सहरी क्षेत्रमा कौशी र करेसाबारीमा तरकारी, फलफूल तथा फूल खेती प्रवर्धन गर्न प्रोत्साहन गरिने छ ।

“खेतखेतमा कृषि प्राविधिक, गोठ गोठमा पशु प्राविधिक” नीतिलाई कार्यान्वयनमा लगिने छ ।

भरतपुर महानगरपालिका र विश्वविद्यालय तथा अन्य शिक्षण संस्थाहरूसँग सहकार्यको माध्यमवाट प्रविधि विकास, प्रसार तथा अनुसन्धानका कार्यक्रमहरू सञ्चालन गरिने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter