केपी ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त; सबैलाई सम्मान र धन्यवाद : ओली

काठमाडौँ, असार ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । अध्यक्ष ओलीलाई संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपति पौडेलले प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आइतबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै राष्ट्रपतिले प्रतिनिधि सभाका सदस्य केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको जानकारी दिनुभएको हो ।

शुक्रबार (असार २८ गते) नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको रूपमा प्रतिनिधि सभाबाट विश्वास गुमाउनु भएको थियो । सङ्घीय संसदमा उपस्थित २५८ सांसदमध्ये प्रचण्डले पेस गर्नुभएको विश्वासको मतको पक्षमा ६३ र विपक्षमा १९४ मत परेको थियो । एक सांसद तटस्थ बस्नुभएको थियो ।

प्रचण्डले सदनबाट प्रधानमन्त्री पद गुमाएलगत्तै राष्ट्रपति पौडेलले शुक्रबार प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । सो समय आइतबार अपरान्ह ५ बजेसम्म निर्धारण गरिएको थियो । निर्धारित समयभित्र प्रतिनिधि सभाका प्रमुख दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रधानमन्त्रीमा ओलीलाई नियुक्त गर्न आग्रह गर्दै संयुक्त रूपमा राष्ट्रपतिसमक्ष दाबी पेस गरेका थिए ।

अध्यक्ष ओली कांग्रेसको प्रस्ताव र सहयोगमा नयाँ गठबन्धनबाट प्रधानमन्त्रीमा सिफारिस हुनुभएपछि राष्ट्रपति पौडेलले उहाँलाई सो पदमा नियुक्त गर्नुभएको हो । प्रधानमन्त्रीमा नियुक्त हुनुभएका ओलीको पद तथा गोपनीयताको शपथ सोमबार बिहान ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ । सोमबार नै सानो आकारको मन्त्रिपरिषद् गठन हुनेछ । कांग्रेस र एमालेले आफ्नो दलबाट मन्त्रीमा पठाउनेको नाम टुङ्गो लगाएको दलका नेताले बताएका छन् ।

प्रधानमन्त्रीमा चौथो कार्यकालका लागि नियुक्त हुनुभएका अध्यक्ष ओली यसअघि २०७२ असोज २५ मा प्रथम पटक प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । सो कार्यकाल करिब १० महिना अर्थात् २०७३ साउन १९ गतेसम्म कायम रह्यो । त्यस्तै, दोस्रो पटक ओली २०७४ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । सो कार्यकाल ३ वर्ष ९ महिना अर्थात् २०७८ वैशाख ३० गतेसम्म कायम रह्यो ।

सोहीअनुसार प्रधानमन्त्रीमा उहाँको तेस्रो कार्यकाल २०७८ वैशाख ३० देखि २०७८ असार २९ अर्थात् दुई महिना प्रधानमन्त्रीमा कायम रहनुभयो । तत्कालीन नेकपामा विभाजन आएपछि उहाँ पुनः प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । अहिले चौथो कार्यकालका लागि २०८१ असार ३० गते उहाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

प्रधानमन्त्रीमा नियुक्त ७१ वर्षीय ओलीको राजनीतिक सङ्घर्ष लामो छ । वि.सं. २००८ साल फागुन ११ गते तेह्रथुमको आठराई इवा गाउँको एक किसान परिवारमा जन्मनुभएका ओली पटक–पटक गरी १४ वर्षसम्म जेल बस्नुभएको छ । उहाँको खास नाम खड्गप्रसाद ओली भए पनि राजनीतिमा उहाँलाई केपी शर्मा ओलीको नामले चिनिन्छ ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि ओली : सबैमा सम्मान, सबैलाई धन्यवाद !

प्रधानमन्त्रीमा नियुक्त भएपछि नेकपा एमालेका अध्यक्ष समेत रहेका केपी शर्माओलीले सबैलाई सम्मान र धन्यवाद दिएका छन् ।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेपछि सामाजिक सञ्जालमार्फत ओलीले सबैलाई सम्मान र सबैलाई धन्यवाद भनेका हुन् ।

‘सबैलाई सम्मान, सबैलाई धन्यवाद !’, ओलीले आफ्नो तस्बिरसहित सामाजिक सञ्जालमा भनेका हुन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter