• Sunday, May 18, 2025

भारतका प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा; माओवादी अध्यक्ष प्रचण्ड र सभापति देउवासँग भारतीय विदेश सचिवको भेट

काठमाडौं, साउन २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनु भएको छ ।

शिष्टाचार भेटका लागि नेपाल भ्रमणमा आउनु भएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको हो ।

प्रधानमन्त्री ओलीसमक्ष नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले आइतबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटका अवसरमा दुई पक्षीय र मित्रवत सम्बन्धलाई अझै सुदृढ बनाउने बारेमा छलफल भएको जानकारी प्रधानमन्त्रीको निजी सचिवालयले दिएको छ । भेटमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी हुनुहुन्थ्यो ।

सभापति देउवासँग भारतीय विदेश सचिव मिस्रीको भेटवार्ता

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा आउनु भएका भारतीय विदेश सचिव विक्रम मिस्रीले भेटवार्ता गर्नुभएको छ ।

सभापति देउवाको निवास बुढानिलकण्ठमा आज भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ । भेटमा नेपाल–भारत सम्बन्ध र पारस्परिक हितकारी सहयोगलाई अगाडि बढाउने तथा थप सुदृढीकरण गर्ने विषयमा छलफल भएको थियो ।

भारतीय सचिव मिस्री परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुग्नुभएको हो । यो भ्रमण दुई छिमेकी देशबीचको नियमित भ्रमण आदानप्रदानको निरन्तरता भएको बताइएको छ ।

सचिव मिस्रीको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै छिमेकी पहिलो नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गरेको जनाइएको छ । विदेश सचिव मिस्री भ्रमण सम्पन्न गरी भोलि साउन २८ गते काठमाडौँबाट प्रस्थान गर्नुहुने तालिका छ ।

माओवादी अध्यक्ष प्रचण्डसँग भारतीय विदेश सचिवको भेट

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका विदेश सचिव विक्रम मिस्रीले भेट गर्नुभएको छ।प्रचण्डको निजी निवास खुमलटार पुगेर आइतबार साँझ विदेश सचिव मिस्रीले भेटवार्ता गर्नुभएको हो।

भेटमा नेपाल भ्रमणमा रहेको भारतीय प्रतिनिधि मण्डलका सदस्य सहभागी हुनुभएको प्रचण्डको निजी सचिवालयले जानकारी गराएको छ।

भेटका अवसरमा दुई देशबिचको आपसी हित एवं पारस्परिक सम्बन्ध अभिवृद्धि गर्ने विषयमा महत्त्वपूर्ण कुराकानी प्रचण्डको निजी सचिवालयले जनाएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter