सर्वोच्चले दियो बद्री केसीलाई एनआरएनए अध्यक्षको मान्यता, अघिल्लो फैसला के हुन्छ ?

काठमाडौँ, साउन २९ गते । सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ महाधिवेशनबाट निर्वाचित डा बद्री केसी नेतृत्वको कार्य समितिलाई मान्यता दिने फैसला गरेको छ ।

एनआरएनएको विवादमा न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले साउन २२ गते गरेको फैसलाको मंगलबार पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले केसीले अध्यक्षको रूपमा काम कारबाही गर्न पाउने ठहर गरेको हो ।

यसअघि सर्वोच्च अदालतले चैत २१ मा एनआरएनएको १० औँ महाधिवेशनमा भएको विवादबारे फैसला गर्दै सबै कामकारबाही २०७८ माघ १ को अवस्थाबाट सुरु गर्न आदेश दिए पनि ४ महिनापछि सर्वोच्चले फेरि ११ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिनेगरी फैसला गरेको हो ।

‘संघको दशौँ महाधिवेशन विवादमा परेपछि त्यस पछि भएको कुनैपनि कामले वैधता पाउन सक्दैन भनी सुनुवाइमा सरिक हुन उपस्थित पक्षको तर्फका विद्वान कानुन व्यवसायीहरूले गर्नु भएको तर्क छ, सो सम्बन्धमा हेर्दा, गैर आवासीय संघको सर्वोच्च अङ्गको रूपमा अन्तर्राष्ट्रिय महाधिवेशन रहेको, विधानमा व्यवस्था भए बमोजिम आवधिक रूपमा २/२ वर्षमा सम्पन्न हुने महाधिवशेनहरु एक अर्काको मातहतमा रहने अङ्ग नभई हरेक अन्तर्राष्ट्रिय महाधिवेशन स्वयंमा सार्वभौम र स्वायत्त अङ्ग हुने भएकोले दशौँ महाधिवेशनको वैधता विवादित भएको भन्ने आधारमा गैरआवासिय नेपाली सम्बन्धी ऐन, नियमावली र विधान बमोजिम हरेक दुई वर्षमा सम्पन्न हुनैपर्ने त्यस पछिको महाधिवेशन समेत गर्न नमिल्ने वा त्यसको वैधतामा स्वतः प्रश्न उत्पन्न हुने भनी गरिएको तर्कको कानुनी, न्यायोचित एवं विवेकसम्मत आधार देखिन आएन’, सर्वोच्चको फैसलाको पूर्णपाठमा भनिएको छ ।

सर्वोच्चले केसीलाई वैधानिकता दिनुका आधारको रूपमा संघको २०७९ असोज २४ गते र २०७९ असोज २४ मा सम्पन्न साधारण सभाले गैरआवासीय नेपाली संघको विधान २००३ को संशोधन भएको र त्यसलाई मातहतको निकाय परराष्ट्र मन्त्रालयले प्रमाणीकरण समेत गरेको देखिएको उल्लेख गरेको छ । सोही विधान बमोजिम ११ औँ महाधिवेशन समेत सम्पन्न भइसकेको देखिएको फैसलाको पूर्णपाठमा उल्लेख छ ।

संघको विधान बमोजिम हुनुपर्ने २२ औँ र २३ औँ साधारण सभासमेत सम्पन्न भएको उल्लेख गर्दै फैसलामा भनिएको छ, ‘११ औँ अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न भई मिति २०८०।७।५ देखि नै निर्वाचित अन्तर्राष्ट्रिय समन्वय समितिले काम कारबाही गरिरहेको देखिएको, यस बिचमा संघको दर्ता नवीकरण गर्नको लागि गैर आवासीय नेपाली सम्बन्धी ऐन, २०६४ को दफा १६ र गैर आवासीय नेपाली सम्बन्धी नियमावली, २०६६ को नियम १२ मा व्यवस्था भए बमोजिम संघबाट पेस भएको विवरण सहितको निवेदन उपर कारबाही समेत भई परराष्ट्र मन्त्रालयको (उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीस्तर) को मिति २०८० । १२ । २३ को निर्णयबाट संघको दर्ता नवीकरण समेत भएको मिसिलबाट देखियो ।’

यस स्थितिमा संघको काम कारबाही साधिकार (अधिकारप्राप्त) निकायबाट अन्यथा नभएको ठहर गर्दै सर्वोच्चले सो सम्बन्धमा गत चैत २१ मा जारी आदेशमा समेत कुनै कुरा उल्लेख भएको नदेखिएको उल्लेख गरेको छ । तर, पूर्ण पाठ नै नआउँदै परराष्ट्र मन्त्रालयले उक्त आदेशमा उल्लेख नै नभएको विषय समावेश गरी गत चैत २८ मा एनआरएनए सचिवालयलाई काम कारबाही रोक लगाउन निर्देशन जारी भएको पत्र समेत कानुनसम्मत नभएको ठहर सर्वोच्चको छ ।

परराष्ट्र मन्त्रालयले गरेको उक्त पत्राचारविरुद्ध ११ औँ महाधिवेशनबाट निर्वाचित कृष्णप्रसाद तिमल्सिनालगायतले रिट दायर गरेका थिए । उक्त रिटमा निवेदकले मन्त्रालयको पत्र गैरकानुनी भएकाले बदर गर्न माग गर्दै ११ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई काम गर्न दिन उपयुक्त आदेशको माग गरेका थिए ।

फैसलाको पूर्णपाठमा परराष्ट्रको चैत २८ को पत्र बदर भएपनि चैत २१ को सर्वोच्चको पुरानो फैसलाअनुसार परराष्ट्र मन्त्रालयले जेजे कर्तव्य निर्वाह गर्नुपर्ने हो, सो कार्य भने गर्न आदेश दिइएको छ । ‘परराष्ट्र मन्त्रालयले जेजे कर्तव्य निर्वाह गर्नुपर्ने हो, त्यो गर्नु’ भन्नुको अर्थ अझै पनि एकताको महाधिवेशन गराउन घलेलाई म्यान्डेट छ । तर नयाँ फैसला देखाएर केसी नेतृत्वको कार्यसमितिले अब नटेर्न सक्ने अवस्था उत्तिकै रहेको जानकारहरू बताउँछन् ।

सर्वोच्चको पुरानो फैसलाअनुसार ९ औँ महाधिवेशनपछिका सबै कार्यसमिति अवैध भएको बताइएको थियो । तर, सर्वोच्चले हाल आएर नयाँ व्याख्या गरेसँगै अब बद्री केसीको ‘कमब्याक’ मात्रै भएको छैन शेष घलेको नेतृत्वमा गराउने भनिएको एकताको महाधिवेशन पनि कमजोर बन्ने देखिएको छ ।

एनआरएनएको १० औँ महाधिवेशनमा विवाद भई दुई वटा समानान्तर कमिटी बनेपछि विनोद कुँवर पक्षले आफू आधिकारिक भएको दाबी गर्दै सर्वोच्चमा दिएको मुद्दामा चैत २१ मा सर्वोच्चले घलेको नेतृत्वमा एकताको महाधिवेशन गराउने गरी फैसला गरेको थियो । त्यसपछि ११ औँ महाधिवेशनबाट निर्वाचित बद्री केसीलाई काम कारबाही नगर्न भन्दै परराष्ट्रले पत्राचार गरेपछि विवाद फेरि सर्वोच्च पुगेको थियो ।

तीव्र राजनीतिकरण, व्यक्तिगत इगोलगायतका कारण विश्वभरका नेपालीहरूको साझा संगठन एनआरनए १० औँ महधिवेशन (२०७८ साल) देखि तिव्र विवादमा छ । विवादकै कारण एक पक्षले अर्को पक्षविरुद्ध मुद्दा मामिला गर्दै आएका छन् भने सोही कारण एनआरएन बदनाम समेत हुँदै आएको छ ।

घले पक्षका विनोद कुँवरले सर्वोच्चको पछिल्लो फैसलाको पूर्णपाठ आफूहरु अध्ययनमा रहेको र अब कसरी अघि बढ्ने भन्नेबारे निर्णय लिइने बताए । घले पक्षका एक कानुनविद्ले पनि लगायतरको दुई फैसलाले अन्यौलता उत्पन्न भएको स्विकार्दै यसबारे टिममा छलफल गरेर अघि बढिने बताए । ती कानुनविद्का अनुसार दुई फैसलाले केही अन्यौलता रहेकाले अब अर्को मुद्दा लगेर पूर्ण इजलासमार्फत सुनुवाइ गरेर देखिएको अन्योलताको अन्त्य गर्न सकिने बाटो खुला नै छ ।

यस्तै ११ औँ महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष डा हेमराज शर्माले सर्वोच्चको फैसला सकारात्मक रहेको भन्दै संस्थामा सबै मिलेर जानुको विकल्प नभएको बताए । उनले नयाँ फैसलासँगै अध्यक्ष डा बद्री केसीले घलेलगायतसँग संवाद गरेर संस्थालाई एकताबद्ध बनाएर लैजाने विश्वास व्यक्त गरे ।

यस्तै ११ औँ महाधिवेशनका क्रममा डा बद्री केसीविरुद्ध चुनाव लडेर मत परिणाम अस्वीकार गरेका आरके शर्माले पनि संस्थामा सहमति, सहकार्य र एकताको आवश्यकता भएको औँल्याए । उनले अहिलेको आवश्यकता संस्था बचाउनु भएको उल्लेख गर्दै त्यसका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter