नेपाल र बेलायत सरकारबीच १२ अर्ब रुपियाँ भन्दाबढी अनुदान सहयोगका लागि समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ, भदौ १२ गते । नेपाल सरकार र बेलायत सरकारबिच अनुदान सहायता सम्बन्धी दुई छुट्टा-छुट्टै समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

पहिलो समझदारीपत्र “नेपालमा उत्थानशीलता, अनुकूलता तथा समावेशिता” कार्यक्रमको लागि करिब ६.५ अर्ब नेपाली रुपियाँ (बेलायती पाउण्ड ३८.५ मिलियन) को अनुदान सहायता रकम रहेको छ ।

६ वर्षको कार्यान्वयन अवधि रहेको यो कार्यक्रम गृह मन्त्रालय र वन तथा वातावरण मन्त्रालयअन्तर्गत विपद् जोखिम व्यवस्थापन र जलवायु परिवर्तनलाई सुदृढ गर्नका लागि लागू हुनेछ । कार्यक्रम कर्णाली, लुम्बिनी र मधेश प्रदेशमा सञ्चालन हुनेछ ।

त्यस्तै दोस्रो समझदारीपत्र “प्रणाली सुदृढीकरण मार्फत लैङ्गिक तथा मानव विकासका परिणामहरू सुधार” कार्यक्रमका लागि करिब ६.५८ अर्ब नेपाली रुपियाँ (बेलायती पाउण्ड ३८.८ मिलियन) को अनुदान सहायता रकम रहेको छ ।

सात वर्षको कार्यान्वयन अवधि रहेको यस कार्यक्रमले विशेषगरी शिक्षा र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सेवा प्रवाहको गुणस्तर अभिवृद्धि तथा त्यस्तो सेवामा पहुँच बिस्तारमा जोड दिनेछ। प्रदेश तथा स्थानीय तहको क्षमता विकास गर्ने लगायतको उद्देश्य रहेको यो कार्यक्रम लुम्बिनी र मधेश प्रदेशमा कार्यान्वयन गरिनेछ ।

समझदारी पत्रमा नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा र बेलायतको तर्फबाट काठमाडौँस्थित बेलायती दूतावासका विकास निर्देशक एवं उपराजदूत पिपा वर्डले हस्ताक्षर गर्नुभयो ।

सहसचिव शर्माले समझदारीपत्रहरू नेपाल र बेलायत दुई देशबिचको सौहार्दपूर्ण र स्थिर विकास सहयोगको प्रमाण भएको उल्लेख गर्दै सहयोग सामाजिक सेवा, जलवायु अनुकूलता र मानव पुँजी विकास सहित दिगो विकास लक्ष्यहरू र १६औँ आवधिक योजनामा उल्लिखित उद्देश्यहरूमा केन्द्रित हुने बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter