श्रम मन्त्रालयको छानबिन नसकिँदै केयरगिभरको ‘लक्की ड्र’

काठमाडौँ, भदौ १४ गते । इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयरगिभर) लागि परेका आवेदनहरूमाथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छानबिन गरिरहेको छ । श्रम मन्त्रालयका उप–सचिव मेघनाथ रिमालको संयोजकत्वमा रहेको पाँच सदस्यीय समितिले छानबिन गरिरहेको हो ।

मन्त्रालयको छानबिन नसकिँदै इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरण (पीबा) ले लक्की ड्र गरेको छ । जसबाट दुई हजार २०२ जनाको आवेदन छनौट गरेको छ । जसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष राखिएको छ ।

वैदेशिक रोजगार विभागले नेमचेकका लागि पेस गरेका तीन हजार ४६१ जनामध्ये दुई हजार २०२ जनाको नाम छनौट गरेको हो ।

समितिले हालसम्म ३०३१ जनाको कागजात छानबिन गरिसकेको छ । जसमा ४३ जनाको कागजपत्रमा कैफियत देखिएको छ ।

उनीहरूमा उच्च शिक्षाको प्रमाणपत्र नदेखिएको, चारित्रिक प्रमाणपत्र नभएको, तालिम प्रदायक संस्था सूचीकृत नभएको, तालिमको अवधि पुरा नभएको जस्तो कारण देखिएको समितिले जनाएको छ ।

समितिले छानबिन गरिरहेकै बेला लक्की ड्र गरेको हो । बिहीबार गरिएको ‘लक्की ड्र’ को विवरण नेपाल सरकारलाई उपलब्ध हुन सकेको छैन ।

विभागका इजरायल÷जापान हेर्ने शाखाका निर्देशक गिरिराज ज्ञवालीले लक्की ड्र गरिएकोबारे औपचारिक जानकारी नआएको बताए ।

‘मन्त्रालयबाट समन्वय भइरहेको होला । हिजो लक्की ड्र भयो भन्ने थियो । त्यसको आधिकारिक जानकारी आएको छैन । हाम्रो छानबिन समितिको प्रतिवेदन आएपछि दुवै पक्षको समन्वयमा केही निर्णय हुन्छ होला,’ ज्ञवालीले भने ।

विभागले आवेदन आह्वान गरेपछि चार हजार २४ जनाको आवेदन परेको थियो । जसमा तीन हजार ४६१ को स्वीकृत भएको थियो । ५६३ जनाको आवेदन रद्द गरिएको थियो । नक्कली कागजात पेस गरेको, सरकारी निकायबाट सम्बन्धन नलिई तालिम दिएको जस्ता कारण देखाउँदै विभागले उनीहरूको आवेदन रद्द गरिदिएको थियो ।

चौतर्फी रूपमा चासो व्यक्त भएपछि श्रम मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । उक्त समितिले अझै प्रतिवेदन बुझाई सकेको छैन ।

इजरायलले लक्की ड्र गरेको तर, त्यसको नतिजा भने श्रम मन्त्रालयको छानबिन सकिएपछि मात्रै बुझाउने तयारी गरेको छ । ‘मन्त्रालयको छानबिन सकिएपछि मात्रै लक्की ड्र गरेको विवरण पठाउँछन् होला,’ मन्त्रालयका एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भने ।

इजरायलले पछिल्लो समय नेपालबाट श्रमिकहरू लग्दै आएको छ । यसअघि सन् २०२० मा एक हजारभन्दा बढी केयरगिभर लगेको थियो । यो पटक समेत दुई हजार जनाको लागि आवेदन माग गरेको हो । जसमा एक हजार जना पहिलो चरणमा जान पाउनेछन् । वैकल्पिकमा रहेका एक हजार जनालाई दोस्रो चरणमा माग र आवश्यकताका आधारमा लैजाने इजरायलको तयारी छ ।

उनीहरुले मासिक पाँच हजार ८८० सेकेल (इजरायली मुद्रा) न्यूनतम तलब पाउनेछन् । जुन नेपालको दुई लाखभन्दा बढी हुन आउँछ । इजरायल जाने कामदारको करार अवधि पाँच वर्षको हुनेछ । इजरायलले छिटो र छोटो प्रक्रियाबाट नेपाली कामदार लैजान खोजेको हो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter