• Tuesday, June 10, 2025

मुलुकमा विगतजस्तो हिंसा सम्भव छैन : प्रधानमन्त्री ओली

काठमाडौँ, भदौ १५ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कहिल्यै पनि विगतको जस्तो हिंसात्मक गतिविधि हुन नसक्ने र हुन नदिने बताउनुभएको छ ।

क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इन टु द फायर’ पुस्तकको विमोचन कार्यक्रमलाई शनिबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले श्रीलङ्का वा बङ्गलादेशको जस्तो अवस्थाबाट सिक्न भनेर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएका अभिव्यक्तिप्रति असहमति व्यक्त गर्दै नेपाल कुनै मुलुकको ‘फोटोकपी मेसिन’ नभएकाले यहाँ त्यस्तो हुन सम्भव नरहेको स्पष्ट गर्नुभएको हो ।

“नेपालको आफ्नै पहिचान, सभ्यता र संस्कृति छ।बङ्गलादेशमा जे भयो, त्यो यहाँ हुँदैन।हामीले लडेर ल्याएको लोकतन्त्र र संविधानलाई सबल बनाउन हामी लागेका छौँ।लोकतन्त्रविरुद्ध लड्नेहरूले हामीलाई तर्साउन सम्भव छैन’’, नेकपा (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीलाई सिक भनेर चर्को स्वरमा बोल्नेलाई म राम्ररी सिक भन्न चाहन्छु। नेपालमा अब बेथिति, अराजकता र हिंसाको राजनीति सम्भव छैन।सम्भव हुन दिइँदैन ।’’

माओवादीको ‘अन्धाधुन्ध’ हिंसात्मक गतिविधि चलेका बेला आफूले हिंसाको चर्को विरोध गरेको र राजनीतिक समाधानका लागि वार्ताको पनि पहल गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक शासन प्रणालीमा अरूको अधिकार हनन् हुने गरी हुने कुनै पनि गतिविधि वा अराजकतालाई राज्यले कानुनीरुपमा रोक्ने स्पष्ट गर्नुभयो।

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्र र देश बनाउने अभियानमा आफू छ दशकदेखि लागिरहेको स्मरण गराउँदै भन्नुभयो, “मैले १७ हजार मान्छे मारेको छु र डराउने ? लोकतन्त्रविरुद्ध लड्नेहरूले हामीलाई तर्साउने ?’’

उहाँले समाजको सुव्यवस्थाका लागि मानव जातिले राजनीति र राजनीतिक दल सिर्जना गरेकाले राजनीतिकप्रति घृणा फैलाउने प्रयासले समाजलाई संस्कारहीनता, अराजकता र बेथितितर्फ लगेर छिन्नभिन्न बनाउने धारणा राख्नुभयो।

“अहिलेको सरकारले कसैमाथि अन्याय र अत्याचार गर्दैन।आफ्नो हित र रक्षाका लागि केही गलत काम गर्दैन तर जनताको हित र रक्षाविरुद्ध कसैले काम गरेमा विधिको शासनबमोजिम शान्ति सुरक्षा र सम्मान कायम गर्छ’’, प्रधानमन्त्री ओलीले थप्नुभयो, “राज्यका निकायले कानुनको पालना गर्छन्।न्यायोचित कानुनलाई सबैले मान्नुपर्छ। कानुनको विवेकसम्मत कार्यान्वयन हुनुपर्छ।लोकतन्त्र सरकार र सबैको जीवन पद्धति हुनुपर्छ।हामी परिपूर्ण लोकतन्त्रको पक्षमा छौँ ।’’

प्रधानमन्त्री ओलीले आफ्नो न्यायिक कमाइबाहेक अरू सम्पत्तिमा लोभ नगर्ने, अनैतिक काम नगर्ने, जानी जानी झुट नबोल्ने, अरूको अहित नगर्ने, भ्रष्टाचार नगर्ने र गर्न नदिने सङ्कल्प दोहोर्‍याउँदै देशको अर्थतन्त्र शिथिल भएका बेला अर्थतन्त्रलाई सुधार्दै गरिबीको दुष्चक्रबाट मुलुकलाई माथि उठाउन आफूहरू लागिरहेको जनाउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओली, सभापति देउवा र बालगुरु आदित्यनाथले थापाको पुस्तक लोकार्पण गर्नुभएको थियो।प्रधानमन्त्री ओली र सभापति देउवाले नेपालको शान्ति प्रक्रिया, राजनीतिक स्थिरता र विकासका लागि थापाले आफ्नो ज्यान जोखिममा राखेर पनि महत्त्वपूर्ण पहल गर्दै आएकामा प्रशंसा गर्नुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter