• Wednesday, April 23, 2025

आजबाट सुपथ मूल्य पसल बन्द, अब दसैँपछि खुल्ने

काठमाडौँ, असोज २४ गते । देशभरमा ४२ जिल्लाको ६५ स्थानमा असोज ३ गतेदेखि सञ्चालन भएको सुपथ मूल्य पसल आजबाट बन्द भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिहीबारदेखि खसी–बोका बजार बोका खुला रहेपनि खाद्यान्न पसल बन्द रहने बताएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार काठमाडौँ उपत्यकामा थापाथली, रामशाहपथ, नख्खु, भक्तपुर, सूर्यविनायक भक्तपुर र काठमाडौँको दक्षिणकाली गरी ६ स्थानमा सो पसल सञ्चालनमा छन् ।

जसमध्ये कम्पनी आफ्नैको चार वटा र नगरपालिकासँग सहकार्य गरी दुई सुपथ मूल्यका पसल सञ्चालनमा छन् । यसैगरी, उपत्यका बाहिरका जिल्लाहरूमा सदरमुकाम तथा पाइक पर्ने स्थानमा यस्ता पसल सञ्चालनमा छन् ।

उहाँले अहिलेसम्म सामान्यरुपमा सुपथ पसलहरू सञ्चालन भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “दसैँ अगाडि बिहीबारबाट चाहिँ बिदा हुन्छ । यी पसलहरू सामान्यरुपमा सुचारु भइरहेका छन् । थापाथलीको खसी–बोका चाहिँ रहन्छन्, खाद्यान्नको चाहिँ देशैभरीको बन्द हुन्छ ।”

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले कतिपय ठाउँमा चाडबाडको मौका छोपेर अस्वस्थकर खाद्यान्न बिक्री भइरहेको समेत पाइएको बताउनुभयो ।

आम उपभोक्ता दसैँको मुखमा प्राकृतिक विपद्को समस्यामा परेका छन् । तर, पछिल्लो समयको एक अनुगमनमा मात्रै बल्खुमा बाढीले बगाएको सडेगलेको केरा बिक्री गर्दै गरेको पाइएको उहाँ बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “अस्तिको बाढीले बगाएको लेदोमा परेका केराहरू निकालेर ल्याएर बेच्दै गरेको पाइयो । ललितपुर महानगरपालिकाको नेतृत्वमा गरेको बजार अनुगमनका क्रममा यो पाइएको हो । पैसा पाएपछि जे गरेपनि हुने ? कम्तीमा मर्यादामा बस्नुपर्‍यो भन्ने केरो कुरा हो ।”

उहाँले साल्टट्रेडिङ कर्पोरेसनले सुपथ मूल्यमा चिनी बिक्री गरेसँगै निजी व्यवसायीले पनि सोही अनुसारको मूल्यमा बाध्य भएको भन्नुहुँदै सरकारको बलियो उपस्थिति देखाउन सक्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “बजारमा सरकारको उपलब्धता हुने बित्तिकै हुने रहेछ नि । सरकारले आफ्नो उपस्थिति दरिलो रूपमा देखाउनुपर्‍यो । त्यो नहुँदा कतिपयलाई कालाबजारी, तस्करी गर्ने, कालो धन्दा गरेर रातारात कमाउने मौका भइरहेको छ ।”

उहाँका अनुसार सागसब्जीको मूल्य महँगो छ नै, विभिन्न जिल्लाबाट कतिपय स्थानमा सडेगलेको मासु बेचेको पाइएको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter