विदेशबाट फर्केर पशुपालनमा दाजुभाइ

ठाकुरप्रसाद आचार्य / कात्तिक २५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटाका कृष्ण र शिव खड्काले वैदेशिक रोजगारीबाट गाउँ फर्किएर थालेको व्यावसायिक पशुपालनबाट राम्रो आम्दानी लिनुभएको छ ।

चार वर्षअघि दुबईबाट दाजु कृष्ण र भाइ शिव कतारबाट घर फर्किएर पशुपालन थाल्नुभएको हो । चार भैँसीबाट सुरु गरेको पशुपालनमा खड्का दाजुभाइको लगानी अहिले एक करोड रुपियाँभन्दा माथि पुगेको छ ।

धौलागिरि बहुउद्देश्यीय कृषि तथा पशुपन्क्षी फार्म दर्ता गरी पशुपालन र सुन्तला खेती गर्नुभएको छ । खड्का दाजुभाइको पशुपालन फार्मबाट अहिले मासिक रूपमा साढे पाँच लाख देखि ६ लाख रुपियाँसम्मको दुध बिक्री हुन्छ । सबै खर्च कटाएर मासिक दुई लाख रुपियाँसम्म बचत हुने गरेको शिव खड्काले बताउनुभयो । फार्ममा अहिले मुर्रा जातका १५ वटा भैँसी र दश वटा होलिस्टिन जातका गाई छन् ।

एउटा गाईले एक छाकमा ८ लिटर र भैँसीले ६ लिटरसम्म दूध दिने खड्काले बताउनुभयो । गाईभैँसी गरेर दैनिक रूपमा डेढ सयदेखि दुईसय लिटरसम्म दुध उत्पादन हुने गरेको उहाँले बताउनुभयो । दुधको बजारीकरण गर्ने उद्देश्यले गाउँमै सिद्ध बहुउद्देश्यीय सहकारी संस्थाले सङ्कलन केन्द्र स्थापना गरेको उहाँको भनाइ छ ।

गाईभैँसीमा आज लगानी गरे भोलिदेखि आम्दानी लिन सकिने पेसा भएकाले दाजुभाइले पशुपालन व्यवसाय रोजेको उहाँले बताउनुभयो । बाबुबाजेको जग्गा बाँझै राखेर बिदेसिएका दाजुभाइको प्रदेशमा सोचेजस्तो कमाइ भएको थिएन । अरूको देशमा साहुको अधीनमा बसेर काम गर्नुभन्दा आफ्नै माटोमा पसिना बगाउने अठोट लिएर दाजुभाइ स्वदेश फर्किनुभएको थियो । विदेशमा नै दुई भाइले पशुपालन गर्ने योजना बनाएर गाउँ फर्किएको खड्काले बताउनुभयो ।

दुईभाइ नै विदेश पुगेपछि यहाँको जग्गा बाझिन थाल्यो, बाबुबाजेको जमिन बाँझो हुँदा विदेशमा राम्रोसँग निद्रा लागेन त्यही भएर २६ महिनामा नै गाउँ फर्किएर पशुपालन थालेको खड्काले बताउनुभयो ।

शिव खड्काले भन्नुभयो, ‘‘गाई भैँसी पाल्ने, बाँझो रहेको जग्गा जमिनमा सुन्तला र कागती खेती गर्ने योजना बनाएर दाइ स्वदेश फर्किएको एकवर्ष पछि म पनि फर्किएँ, अहिले दुईभाइ मिलेर पशुपालन गरेका छौँ । सोचेजस्तो सफलता मिलेको छ ।’’

परिवारका चारजना सदस्य र थप दुई जना कामदार गरेर ६ जना दैनिक रूपमा काममा खटिने उहाँको भनाइ छ । ‘‘विदेश गएर अरूको काम गर्दा आत्मसन्तुष्टि मिलेको थिएन । अहिले परिवार सबैजना मिलेर पशुपालनमा काम गर्दा आत्मसम्मानका साथै सन्तुष्टि पनि मिलेको छ । विदेशभन्दा हामी दाजुभाइलाई यही रमाइलो लागेको छ’’ उहाँले भन्नुभयो ।

खड्का दाजुभाइले गाउँपालिका केन्द्र पोखरेबगरमा दुध बिक्री गर्न डेरी पसल समेत खोल्नुभएको छ । डेरीबाट दुधका साथै चिज, पनिर दही बिक्री गर्दै आउनुभएको छ । पोखरेबगर, भुरुङ–तातोपानी, नारच्याङ र जोमसोमसम्म दुध बिक्री हुने खड्काले बताउनुभयो ।

प्रतिलिटर एकसय २० रुपियाँमा दुध बिक्री गर्ने गरेको उहाँको भनाइ छ । अहिले हाम्रो बजार मुस्ताङसम्म विस्तार भएकाले दुधको मागअनुसार पुगाउन कठिन भएको उहाँको भनाइ छ । दुधको माग बढेसँगै पशुपालन व्यवसायलाई थप विस्तार गर्ने योजना बनाएको खड्काले बताउनुभयो ।

४५ रोपनी क्षेत्रफल भएको जमिनमध्ये २५ रोपनीमा खड्का दाजुभाइले सुन्तला खेती गर्नुभएको छ । बाँकीमा गाईभैँसीलाई आवश्यक पर्ने घाँस लगाउनुभएको छ । आफ्नो परिवारसँग बस्न पाइने र समाजको सेवा पनि गर्न पाइने भएकाले पशुपालनमै दाजुभाइलाई सन्तुष्टि मिलेको कृष्ण खड्काले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter