च्याउबाट वार्षिक ३० लाख कमाई गर्दै देवेन्द्र


हरिप्रसाद कोइराला / उर्लाबारी, कात्तिक ३० गते । मोरङको उर्लाबारी –७ का ४२ वर्षीय देवेन्द्र बस्नेत च्याउको व्यावसायिक उत्पादनमा लाग्नु भएपछि वार्षिक ३० लाख बढी कमाइ गर्दै आउनुभएको छ ।

अहिले बाह्रै महिना च्याउ खेती गर्न सकिने प्रविधि भित्रिएको छ । स्थानीय ६० जनालाई रोजगार दिएर दैनिक एक हजार दुई सय किलो च्याउ उत्पादन गरिरहनुभएका बस्नेत वार्षिक खर्च कटाएर ३० लाख रुपियाँ आम्दानी हुने गरेको बताउनुहुन्छ । कुनै कुनै वर्ष घाटा हुन्छ । मौसम प्रतिकूल हुँदा लगातार दुई वर्ष १५ लाख र २५ लाख घाटा भएको बस्नेतको भनाइ छ ।

बस्नेतको आधुनिक च्याउ उद्योगले हाल उर्लाबारी बाहेक मोरङकै टाँडी,बेलबारी र गछियामा पनि च्याउ उत्पादन गरिरहेको छ । अहिले च्याउ मात्र होइन । च्याउको बीउ पनि उत्पादनमा लाग्नुभएका बस्नेतले कोशी प्रदेशका १० जिल्ला र मधेसका केही जिल्लामा बीउ बिक्री गरिरहनुभएको छ । विगतमा भारतबाट बीउ आउने गर्थ्याे । हाल नेपाली उत्पादनले नपुग्दा मात्र भारतीय बीउ आउने गरेको उद्योगका व्यवस्थापक भूमिका बस्नेतले बताउनुभयो । बस्नेतका अनुसार हाल उद्योगले २ सय ग्रामका ५ सय पोका बीउ उत्पादन गरिरहेको छ ।

भूमिकाले भन्नुभयो – १० पोका च्याउ उत्पादनबाट व्यवसाय सुरु गर्नुभएको रहेछ । हाल २ करोड रुपियाँ उद्योगमा लगानी भइसकेको छ । उद्योगले आफ्नो उत्पादन मात्र होइन , आफूसँग बीउ खरिद गरेर व्यावसायिक उत्पादन गर्ने किसानको उत्पादन पनि खरिद गरिदिने गरेको छ ।

बस्नेतसँग ५ वटा गाडी छन् । झापाका विभिन्न गाउँ र मोरङमा आफूले उत्पादन गरेको च्याउ सङ्कलन र बजारीकरणका उहाँले ती गाडी प्रयोग गर्नुहुन्छ । हाल च्याउ उत्पादनको मुख्य सिजन हो । यति बेला किसानको बारीमा तरकारी पनि प्रशस्त उत्पादन हुन्छ । त्यसैले हाल च्याउको मूल्य घटेको छ । व्यवस्थापक बस्नेतले भन्नुभयो –तेस्रो र चौथो पटक टिपेको च्याउ प्रति केजी सय रुपियाँमा बिक्री गर्दा पनि घाटा लाग्दैन । सबैतिरका किसानको सङ्कलन गर्दा दैनिक ३ हजार देखि ३५ सय किलो च्याउ उद्योगमा जम्मा हुन्छ ।

बस्नेतको संयुक्त परिवारमा १२ जना हुनुहुन्छ । ६ जना छोराछोरी बाहेक सबै च्याउ, उत्पादन, बजारीकरण र प्रवर्द्धनमा जुट्नु भएको छ । सञ्चालक देवेन्द्र बस्नेतले भन्नुभयो – हाम्रो सबै थोक यही हो । यसैमा भविष्य देखेर ठुलो लगानी गरिसक्यौँ । अब पछाडि फर्कने अवस्था छैन ।

कोशी प्रदेशमा पहिलो पटक बोयल प्रविधिबाट उत्पादन सुरु गर्नु भएका बस्नेतले एकै पटकमा ६ वटा ड्रममा पराल बोयल गर्नु हुन्छ ।यो प्रविधिबाट ७० प्रतिशतसम्म इन्धन बचत गर्न सकिने देवेन्द्रको भनाइ छ । आफ्नै देशमा केही गरौँ भन्ने उद्देश्यले विगत १८ वर्षदेखि च्याउ खेती गर्दै आउनुभएका देवेन्द्रलाई ४ वर्ष साउदी अरब बसेर आएका भाइ गोपालले पनि भरपुर साथ दिनुभएको छ ।

व्यावसायिक सफलता हात लागेपछि बस्नेतलाई कृषि ज्ञान केन्द्र मोरङले १५ लाख रुपियाँ अनुदान पनि दिएको छ । त्यसयता बस्नेतले व्यवसायबाट मान,सान र दाम बटुलिरहनुभएको छ ।

२०५३ सालमा झापा बाहुनडाँगीका हिरन्य भट्टराईसँग च्याउ खेतीका बारेमा औपचारिक प्रशिक्षण लिनुभएका देवेन्द्र सफल च्याउ किसानका रूपमा पूर्वमा कहलिनुभएको छ ।उहाँले उत्पादन गरेको च्याउ कोशी प्रदेशभरि र मधेश प्रदेशसम्म पुग्ने गरेको छ । बढी उत्पादन हुँदा च्याउलाई ड्राई (सुकुटी) बनाउने प्रविधि ल्याउन सके च्याउ कुहिएर नाश हुने थिएन , बस्नेतले भन्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter