तनहुँबाट ४० करोडको सुन्तला विक्री


अमरराज नहर्की / तनहुँ, मङ्सिर ३ गते । सुन्तला बिक्री गरेर तनहुँका किसानले मनग्य आम्दानी गर्न सफल भएका छन् । गत आर्थिक वर्ष २०८०÷०८१ मा यहाँका किसानले ४० करोड रुपियाँ हात पारेका छन् ।

११ हजार पाँच सय १८ मेट्रिकटन सुन्तला उत्पादन हुँदा उक्त रकम हात पारेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । गत वर्ष ४० करोड हात पारेको र यस वर्ष क्षेत्रफलमा वृद्धि हुँदा उत्पादन बढ्ने र मूल्य पनि वृद्धि हुँदा करिब ५० करोड आम्दानी गर्ने सम्भावना रहेको केन्द्रका सूचना अधिकारी किरण परियारले बताउनुभयो । केन्द्रले सुन्तला खेती कृषकलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ । कृषकलाई प्रोत्साहन गर्न बगैँचामै पुगेर पनि आवश्यक परामर्श दिइने गरिएको छ ।

कार्यालयबाट सुन्तला खेतीका लागि क्षेत्र बिस्तार कार्यक्रम अन्तर्गत अनुदान दिन थालेपछि बर्सेनि जिल्लामा सुन्तला खेती विस्तार हुँदै गएको केन्द्र प्रमुख गोपाल शर्मा लामिछानेले बताउनुभयो । लामिछानेका अनुसार जिल्लामा हाल आठ वटा ब्लकमा सुन्तला खेती हुँदै आएको छ । ब्लक बन्नको लागि न्यूनतम ७० हेक्टर क्षेत्रफल हुनुपर्ने प्रावधान रहेको छ । ब्लकमा सुन्तला खेती गर्न चाहने किसानले व्यक्ति,समूह र सहकारी मार्फत कलष्टर बनेर आउनुपर्ने व्यवस्था रहेको छ ।

ब्लकमा सुन्तला खेती गर्न चाहने किसानले व्यक्ति, समूह र सहकारी मार्फत कलष्टर बनेर आउनु पर्ने प्रावधान रहेको छ । जिल्लाको व्यास नगरपालिका, म्याग्दे, भीमाद, आँबुखैरेनी, ऋषिङ, शुक्ल गण्डकी र बन्दीपुर गाउँपालिका सुन्तला खेतीका लागि पकेट क्षेत्रको रूपमा रहेका छन् । खाल्टो खन्न, सिँचाइको लागि पोखरी बनाउन, अनावश्यक हाँगाहरू काट्ने मेसिन तथा घरदैलोमा नै पुगेर प्राविधिक ज्ञान दिने गरिएको लामिछानेको भनाई छ ।

तनहुँमा उत्पादित अधिकांश सुन्तला काठमाडौँका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन् । काठमाडौँका अलवा पोखरा, नारायणगढ, विराटनगर लगायत ठुला सहरमा यहाँको सुन्तला बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै आँबुखैरेनी, डुम्रे, दमौली, दुलेगौडा, खैरेनीटार, भिमादलगायतका स्थानीय बजारहरूमा समेत यहाँको सुन्तला बिक्री हुने गरेको केन्द्रले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter