विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च; तीन महिनामा चार खर्ब सात अर्ब विप्रेषण भित्रियो; खाद्यवस्तुको मूल्यवृद्धि उच्च


काठमाडौँ, मङ्सिर ४ गते । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ भने विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च देखिएको छ ।

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आवको तीन महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनअनुसार उक्त अवधिमा चालु खाता रु एक खर्ब ११ अर्ब ८७ करोडले बचतमा छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु ५९ अर्ब ६५ करोडले बचतमा थियो । यस अवधिमा खुद पुँजीगत ‘ट्रान्सफर’ रु दुई अर्ब कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु चार अर्ब ८१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर रु एक अर्ब १५ करोड कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (ईक्विटि मात्र) रु तीन अर्ब ३८ करोड रहेको थियो ।

पहिलो तीन महिनामा शोधनान्तर स्थिति रु एक खर्ब ८४ अर्ब ९९ करोडले बचतमा रहेको छ । त्यस्तै गत असार मसान्तसम्ममा रु २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति तीन महिनामा नौ दशमलव चार प्रतिशतले वृद्धि भई गत असोज मसान्तमा रु २२ खर्ब ३२ अर्ब २८ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १५ अर्ब २७ करोड रहेकामा असोज मसान्तमा आठ दशमलव सात प्रतिशतले वृद्धि भई १६ अर्ब ६० करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कको सञ्चिति रु १९ खर्ब ८८ अर्ब पुगेको छ । बैङ्क तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति रु दुई खर्ब ४४ अर्ब २७ करोड कायम भएको छ । गत असोज मसान्तसम्मको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव नौ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षको तीन महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति र वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैङ्कले जनाएको छ ।

तीन महिनामा चार खर्ब सात अर्ब विप्रेषण भित्रियो

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाह ११ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असोज मसान्तसम्ममा विप्रेषण आप्रवाह वृद्धि भई चार खर्ब सात अर्ब ३१ करोड रुपियाँ पुगेको छ ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह तीन अर्ब चार करोड पुगेको राष्ट्र बैङ्कले जनाएको छ । गत असोज मसान्तसम्ममा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु चार खर्ब ४२ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु चार खर्ब चार अर्ब सात करोड रहेको थियो ।

असोज मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख १० हजार छ सय ५४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५९ हजार नौ सय ३९ रहेको छ ।

खाद्यवस्तुको मूल्यवृद्धि उच्च

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गैरखाद्य वस्तुको तुलनामा खाद्य वस्तुको मूल्यवृद्धि भएको छ । मुख्यगरी तरकारी र गेडागुडीको मूल्यमा उच्च वृद्धि देखिएको हो ।

“२०८१ असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ८२ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति सात दशमलव ५० प्रतिशत थियो”, प्रतिवेदनमा भनिएको छ, “समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति सात दशमलव १८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ४९ प्रतिशत छ ।”

खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २५ दशमलव १५ प्रतिशतले वृद्धि भएको छ । जुन सबैभन्दा उच्च मूल्यवृद्धि हो । त्यस्तै, दाल तथा गेडागुडीको १० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको नौ दशमलव ५७ प्रतिशत र घिउ तथा तेलको चार दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ ।

यो अवधिमा केही वस्तुको मूल्य भने घटेको छ । माछा तथा मासु उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क एक दशमलव १८ प्रतिशत, मरमसलाको शून्य दशमलव ७९ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको शून्य दशमलव ७८ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १० दशमलव ४९, मदिराजन्य पेय पदार्थको छ दशमलव ३२, कपडाजन्य तथा जुत्ता चप्पलको छ दशमलव १२ प्रतिशत र घरायसी उपकरणको चार दशमलव ८८ प्रतिशतले बढेको छ ।

गत असोजमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क पाँच प्रतिशतले वृद्धि भएको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क चार दशमलव ७६ प्रतिशतले वृद्धि भएको छ ।

प्रदेशगत रुपमा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति छ दशमलव २६, मधेश प्रदेशको पाँच दशमलव ०८, बागमती प्रदेशको चार दशमलव २४ र गण्डकी प्रदेशको तीन दशमलव ९८ प्रतिशत रहेको छ । त्यस्तै, लुम्बिनी प्रदेशको चार दशमलव ४२, कर्णालीको तीन दशमलव २५ प्रतिशत र सुदूरपश्चिम प्रदेशको छ दशमलव ५६ प्रतिशत छ ।

काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ५०, तराईको पाँच दशमलव २३, पहाडको चार दशमलव ३२ प्रतिशत र हिमालको पाँच दशमलव ०८ प्रतिशत छ । रासस

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter