रास्वपा सभापति लामिछानेको सांसद पद निलम्बन; डीपी अर्याल बने रास्वपाको कार्यबाहक सभापति

काठमाडौं, पुस ८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पदबाट निलम्बन गरिएको छ । संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सोमबार सूचना प्रकाशित गरी निलम्बन भएको जानकारी गराउनुभएको हो ।
महासचिव पाण्डेयद्वारा जारी सूचनामा भनिएको छ, “प्रचलित कानुन बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक ऐन बमोजिम थुनामा रहेकोमा थुनामा रहेको अवधिभर सो मुद्दाको किनारा नलागेसम्म निलम्बन भएको मानिनेछ ।”
लामिछानेविरुद्ध आइतवार मात्र जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सम्पत्ति शुद्धिकरण, संगठित अपराध र सहकारी ठगीसमेतमा गरी तीनवटा मुद्दा दायर गरेको थियो ।
डीपी अर्याल बने रास्वपाको कार्यबाहक सभापति
डीपी अर्याल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको कार्यवहाक सभापति बनेका छन् । सोमबार जुममार्फत बसेको सचिवालय बैठकले उनलाई कार्यवाहक सभापति बनाइएको कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
उनका अनुसार संसदीय दलको नेता भने तोकिएको छैन । अहिले उपनेता विराजभक्त श्रेष्ठकै अध्यक्षतामा दलको बैठक बस्ने उनले बताए । दलको नेता भने थप छलफल गरेर तोकिने उनले जानकारी दिए ।