दैलेखमा पेट्रोलियम पदार्थ खोज्दा ग्यास फेला


रजनी योगी / सुर्खेत, पुस २१ गते । दैलेखमा ग्यास रहेको पत्ता लागेको छ । जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ स्थित जलजलेमा चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ गर्दा ग्यास भण्डारणको सङ्केत पत्ता लागेको हो । शनिबार पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत ड्रिलिङको काम सकिएको हो । ड्रिलिङपछि नमुना निकालिएको छ । अब कति मात्रामा ग्यास रहेको छ ? आर्थिक रूपमा कतिको लाभ लिन सकिन्छ ? भनेर अनुसन्धान भइरहेको खानी तथा भूगर्भ विभागले जनाएको छ ।

गत वैशाख २३ गतेदेखि अन्तिम चरणको ‘ड्रिलिङ’ को काम सुरु गरिएको थियो । मेसिनले खनेर पेट्रोलियम पदार्थ भए÷नभएको पत्ता लगाएको छ । चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ गर्दा ग्यास नै भएको पत्ता लागेको पेट्रोलियम पदार्थ आयोजनाका सिनियर डिभिजनल जियोलोजिस्ट सुरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार मात्र ड्रिलिङको काम सकिएको हो । ड्रिलिङपछि नमुना निकालिएको भन्दै उहाँले ड्रिलिङ गर्दा निस्किएको नमुना चीनको ल्याबमा पठाइएको छ ।

पेट्रोलियम पदार्थ हुनसक्ने भन्दै चीन सरकारको जिओलोजिकल सर्भे कम्पनीले भौगर्भिक अध्ययन गरेको अन्वेषण परियोजनामा सिएनपिसी इन्जिनियरिङले उत्खननकाे काम थालेको थियो । श्रेष्ठका अनुसार चीनबाट नमुनाको परीक्षणपछि व्यावसायिक रूपमा उत्खनन् हुने नहुनेमा स्पष्ट हुनेछ । ड्रिलिङको काम सकिएपछि आजसम्म उक्त स्थानमा गरेको कामका बारेमा समेटिएको डेटा र तथ्याङ्क एकै पटक निकालिनेछ । त्यसपछि ग्यास भण्डार भएको वा नभएको पत्ता लाग्नेछ । अहिलेको ड्रिलिङको कामले गर्दा ग्यासको भण्डारण रहेको पत्ता लागेको उहाँको भनाइ छ ।

नेपाल सरकारले २०८२ सम्म पेट्रोलियम अन्वेषणको काम सक्ने तयारी गरेको छ । चैत २०७१ मा नेपाल र चीनबिच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् गर्ने सहमति भएसँगै २०७५ माघमा पेट्रोलियम तथा ग्यास खानीबारे विस्तृत अन्वेषण गर्नेसम्बन्धी परियोजना स्वीकृत भएको थियो । पेट्रोलियम पदार्थको उत्खनन् र अन्वेषणमा गर्न दुई अर्ब ४० करोड रुपियाँसँगै प्राविधिक सहयोग गर्नेगरी चीन र नेपाल सरकारबिच सम्झौता भएको थियो ।

ड्रिलिङको काम सकिएसँगै पहिलो चरणको सम्झौता अवधि सकिएको छ । अब अर्को चरणको सम्झिौता गरेर अन्य काम अघि बढाइने आयोजनाले जनाएको छ ।

व्यावसायिक उत्खननको काम अघि बढाइने

दैलेखमा ग्यास भएको पत्ता लागेसँगै व्यावसायिक उत्खननको काम अघि बढाइनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले पेट्रोलियम पदार्थको नमुना निकालिएको र अब यसलाई प्रयोगशालामा परीक्षण गरी व्यावसायिक उत्खननको कामलाई अघि बढाइने बताउनुभएको छ ।

सामाजिक सञ्जालमार्फत् उहाँले पेट्रोलियम पदार्थ उत्खननको काम अघि बढाउने जानकारी गराउनुभएको हो । सरकारले चालु आर्थिक वर्ष २०८१÷८२ भित्रै पेट्रोलियम पदार्थ अन्वेषणको काम सक्ने लक्ष्य राखेको छ । पहिलो चरणको कामको सम्झौता सकिएको छ भने दोस्रो चरणको काम सुरु गर्न चीन सरकारसँग पहल थालिएको जनाइएको छ । अब लाग्ने बजेटको अनुमानित विवरण र निकालिएको स्याम्पलको परीक्षणको रिर्पोटअनुसार अघि बढ्ने जनाइएको छ । स्थानीय तथा प्रदेश सरकारले समेत व्यावसायिक उत्खननका लागि पहल थाल्न सङ्घीय सरकारलाई आग्रह गरेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter