एनआरएनएले थाइल्यान्ड र कम्बोडियामा सम्मेलन गर्दै


काठमाडौँ, पुस २८ गते। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले थाइल्यान्ड र कम्बोडियामा छुट्टाछुट्टै सम्मेलन गर्ने भएको छ । आइतबार बालुवाटारस्थित संघको सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा सम्मेलनबारे जानकारी दिइएको हो ।

संघका अनुसार थाइल्यान्डको बैंककमा दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनको आयोजना गर्न लागिएको छ । सम्मेलन १५ –१६ मार्च २०२५ मा हुने तय भएको संघले जनाएको छ ।

यस्तै १८–१९ मार्च २०२५ मा कम्बोडियाको नामपेन्हमा १० औं एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलनको आयोजना हुँदैछ । यसपटक संघले एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलनलाई ‘संगम’ नामाकरण गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

विदेशमा रहेका युवा अनि दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई पनि अपनत्व महसुस गराई मातृभूमिसँग जोड्नु वर्तमान अपरिहार्यता भइसकेको अवस्थामा युवा सम्मेलन गर्न लागिएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दोस्रो विश्वयुद्ध पछि बर्मा, थाइल्यान्ड, मलेसिया, सिंगापुर, फिजी र मोरिसस जस्ता देशहरूमा नेपाली मूलका युवाहरु पहिचानको खोजी गर्दै नेपालको समृद्धिमा पुस्तौँदेखि जोडिन खोजेको वर्तमान अवस्थामा ‘इम्पावरिङ द युथ, सेपिङ द पीएनओज् फ्युचर’ भन्ने मुल नाराका साथ युवा सम्मेलनको आयोजना गर्न लागिएको अध्यक्ष बद्री केसीले जानकारी दिए ।

‘नेपाली प्रवासी युवाहरूलाई सशक्त बनाई उनीहरूलाई नेपालको समृद्धि र विकाससँग जोड्ने अन्तर्राष्ट्रिय युवा सम्मेलनको मुख्य उद्देश्य रहेको छ’, उनले भने, ‘सम्मेलनले नेपाली प्रवासी युवा, पिएनओज् (नेपाली मुलका नेपाली), र नेपालका स्थानीय युवाहरू बिच मजबुत साझेदारी स्थापना गर्ने, युवामा सशक्तीकरण र नवप्रवर्तनको संस्कृतिलाई प्रेरित गर्नका लागि संघर्ष अनि सफलताका कथा र सिकाइहरूको आदान–प्रदान गर्ने साझा मञ्च प्रदान गर्ने अपेक्षा राखिएको छ।’ सम्मेलनको मूल समारोह समिति युवा उपाध्यक्ष रोशन थापाको संयोजकत्व तथा पिएनओज् विभागका ईन्चार्ज तथा उपाध्यक्ष रामशरण सिमखडाको निर्देशाकत्वमा तयारी तीव्र रुपमा अघि बढाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलनमा सिम्खडाले कार्यक्रमबारे ब्रिफिङ गरेका थिए ।

सम्मेलनले नेपाली प्रवासी युवाहरू र नेपालका स्थानीय युवाहरूबिच मजबुत सम्बन्ध स्थापना गर्दै शिक्षा, रोजगारी र सामुदायिक विकासमा केन्द्रित सहकारी परियोजनाहरू निर्माण गर्न मद्दत पुर्याउने, युवा बेरोजगारी, सीप विकास, र सुरक्षित आप्रवासन जस्ता महत्त्वपूर्ण समस्याहरू समाधान गर्न कार्यात्मक योजना प्रस्तुत गर्ने, सशक्त युवाहरूको नेटवर्क निर्माण गर्न सहयोग पुर्याउने अपेक्षा राखिएको उनले बताए ।

यस्तै एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलनका अवसरमा समृद्ध राष्ट्रको लागि गैरआवासीय नेपालीहरुको भूमिका, गैरआवासीय नागरिकताको पूर्ण कार्यान्वयन, पिएनओज्का माग, लगानी, पर्यटन, विदेशमा बस्ने नेपाली विज्ञहरुको राष्ट्र निर्माणमा भूमिकाबारे छलफल हुनेछ ।

यस्तै सामाजिक रुपान्तरणको लागि महिला सशक्तीकरण एवं लैगिंक समानता साथै गैरआवासीय नेपाली अभियानले उठान गरिरहेका मुद्दाहरू खासगरी सम्मानजनक वैदेशिक रोजगारी तथा सामाजिक सुरक्षा कोषमा प्रभावकारी आबद्धता, प्रवासबाट मताधिकार जस्ता महत्त्वपूर्ण कार्यक्रमहरुबारे छलफल हुनेछ ।

दुवै सम्मेलनमा नेपाल सरकारको प्रतिनिधि तथा सम्बन्धित देशका सरकारी प्रतिनिधि एनआरएनएका संस्थापक अध्यक्षसहित पूर्व अध्यक्षहरु, एनआरएनए अग्रज तथा अभियन्ता एवं एसिया प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रिय समन्वय परिषदका प्रतिनिधिहरु, यूरोप, अमेरिका, ओसियाना, अफ्रिका तथा मध्यपुर्वका देशहरुबाट समेत गरी करिब ३०० प्रतिनिधीहरुको सहभागिता रहने एनआरएनएले जनाएको छ । हाल एनआरएनएमा एसिया–प्यासिफिक क्षेत्रीय संयोजक हरि भट्टराई छन् भने कम्बोडिया अध्यक्षमा लालसिंह खड्का रहेका छन् ।

यसैबीच पत्रकार सम्मेलनमा अध्यक्ष केसीले सरकारले अध्यादेशमा उल्लेख गरेको गैरआवासीय नेपालीको सवाल सकारात्मक भएपनि आफूहरूले आवाज उठाउँदै आएको विषय अझै सम्बोधन हुन नसकेको बताए । उनले एक पटकको नेपाली सधैँको नेपाली हुनुपर्ने आफूहरूको माग भएपनि गैरआवासीय नागरिकता पाइसकेकालाई १० वर्ष निःशुल्क भिसाको व्यवस्था मात्रै गरिएकाले थप व्यवस्थाका लागि निरन्तर प्रयास गरिरहने बताए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter