• Sunday, May 25, 2025

अतिरिक्त हवाई रुटका लागि नेपालले फेरि आग्रह गर्‍यो भारतलाई


काठमाडौं, माघ १६ गते । नेपालले फेरि एक पटक भारतलाई अतिरिक्त हवाई रुटका लागि आग्रह गरेको छ ।

भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरसँगको भेटघाटमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले अतिरिक्त हवाई रुटका लागि आग्रह गरेकी हुन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नेपालले भारतसँग अतिरिक्त रुटका लागि आग्रह गर्दै आएको छ ।

परराष्ट्र मन्त्रालयमा भएको भेटघाटमा मन्त्री आरजुले भारतसँग अतिरिक्त हवाई रुटका लागि अनुरोध गरेको तथा भैरहवास्थित गौतम बुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विभिन्न सहरबाट हवाई उडानका लागि आग्रह गरेको उनको निजी सचिवालयले जनाएको छ ।

मन्त्री राणाले अतिरिक्त हवाई रुटको विषयलाई विशेष प्राथमिकतामा राखिदिन सचिव महावरमार्फत् भारत सरकारलाई आग्रह गरेकी हुन् । उनले महाकाली नदीको पूर्वी तर्फबाट दार्चुला हुँदै टिंकरसम्म पुग्ने सडक निर्माणमा आवश्यक सामग्री ढुवानीका लागि सहजता बनाइदिन समेत आग्रह गरेकी छन् ।

सो सडकका लागि भौगोलिक विकटताका कारण निर्माण कार्यका लागि आवश्यक उपकरण एवं सामग्री ढुवानीका लागि समस्या भइरहेकाले भारतको भूमि भएर ती सामग्रीको ओसारपसार गर्नुपर्ने देखिन्छ ।

त्यसका लागि नेपालले यसअघि नै भारतलाई औपचारिक रुपमा पत्र पठाएर सहजीकरण गरिदिन आग्रह गरे पनि भारतले बेवास्ता गर्दै आएको छ ।

भेटको क्रममा दुई देशबिचको सीमासम्बन्धी कार्यदल, बाउन्ड्री वर्किङ ग्रुपको विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सीमासम्बन्धी कार्यदल, बाउन्ड्री वर्किङ ग्रुप दुई देशका लागि एक महत्त्वपूर्ण संयन्त्र रहेको र दुई देशका बिचमा सीमा सम्बन्धमा कुनै मुद्दा उठेमा सोही समूह बसेर आवश्यक कार्य गर्दै आएको थियो । केही वर्षदेखि त्यसको बैठकसमेत बसेको छैन । सो बैठक नबस्दा सीमा सम्बन्धी केही विवाद थाँती छन् ।

सन् २०२४ को जनवरीमा बसेको नेपाल इन्डिया ज्वाइन्ट कमिसनको बैठकले पनि सो ग्रुपको बैठक तत्कालै बसेर सीमाका सम्बन्धमा आवश्यक कार्य गर्न निर्देशन दिएको थियो । यद्यपि बैठक बस्ने सुरसार छैन । बैठक चाँडै बस्नेबारे छलफल गर्दै यस्ता बैठक तथा द्विपक्षीय संयन्त्रका बैठकले सम्बन्ध सुधार तथा आपसी सहकार्यमा सहजीकरण गर्नेबारे भेटघाटमा चर्चा भएको बताइएको छ ।

यसै महिना काठमाडौँमा बसेको द्विदेशीय व्यापारसम्बन्धी इन्टर गभर्मेन्टल कमिटी, आइजीसीका साथै नेपाल भारत ऊर्जासम्बन्धी बैठक फलदायी रहेको उल्लेख गर्दै द्विपक्षीय बैठकलाई निरन्तरता दिनुपर्ने विषयमा पनि उनीहरूबिच कुराकानी भएको थियो ।

सो भेटका क्रममा नेपाल–भारत सम्बन्धका विविध विषयका साथै आपसी चासो, साझा हित र आगामी दिनमा गरिने सहकार्यबारे पनि कुराकानी भएको बताइएको छ ।

भेटका अवसरमा परराष्ट्रमन्त्री राणाले नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्त्व दिएको चर्चा गर्दै नेपाल र भारतका नागरिक तथा दुई देशको पारस्परिक हितका लागि नेपाल सधैँ भारतसँग नजिक रहेर सहकार्य गर्न चाहेको बताएकी थिइन् ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter