• Wednesday, April 23, 2025

१६ लाख किशोरीलाई एचपिभी खोप लगाइँदै; कुन प्रदेशमा कति ?


सिर्जना खत्री / काठमाडाैँ, माघ २० गते । सरकारले माघ २२ गतेदेखि फागुन ६ गतेसम्म ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १६ लाख किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरसविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको हो ।

परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार विद्यालय जाने ६ देखि १० कक्षासम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका देशभरका १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप अभियान सञ्चालन गर्न लागेको हो । सरकारले विद्यालयमा खोप केन्द्र तोकेको हुँदा लक्षित किशोरीलाई विद्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

कुन प्रदेशमा कति ?

सरकारले कोशी प्रदेशका दुई लाख ५९ हजार ८८१, मधेश प्रदेशका चार लाख सात हजार २९१, बाग्मती प्रदेशका दुई लाख ७३ हजार १२१ जनालाई खोप लगाउने लक्ष्य लिएको छ । त्यसैगरी, गण्डकी प्रदेशका एक लाख १८ हजार ७७४, लुम्बिनी प्रदेशका दुई लाख ९९ हजार ४७१, कर्णाली प्रदेशका एक लाख २८ हजार २९६ र सुदूरपश्चिम प्रदेशका दुई लाख एक हजार ९३६ जना लक्षित समूह छन् ।

योभन्दा पहिले आर्थिक वर्ष २०७२/७३,७३/७४ मा दुई वर्ष चितवन र कास्की जिल्लामा परीक्षणको रूपमा एचपिभी खोप अभियान सञ्चालन गरिएको थियो । आर्थिक वर्ष २०८०/८१ मा परीक्षणको रूपमा सातै प्रदेशका एक/एक वटा अस्पतालबाट खोप प्रदान गरिएको थियो ।

क्यान्सर रोग विशेष डा.सरिता घिमिरेका अनुसार पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एचपिभी भाइरस हो । यो भाइरसको दुई सयभन्दा बढी किसिमका प्रजाति हुन्छन् र तीमध्ये कम्तीमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक मानिन्छ । नेपालमा १६ र १८ प्रजाति ८० प्रतिशतले पाठेघरको मुखको क्यान्सर बनाउने अध्ययनले देखाएको छ ।

सरकारले अभियानमा लगाउन लागेको एचपिभी विरुद्धको खोपले १६ र १८ प्रजातिबाट सङ्क्रमण हुने पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउने डा.गौतमको दाबी छ ।

विश्व स्वास्थ्य सङ्गठनबाट मान्यताप्राप्त हुनुका साथै औषधी व्यवस्था विभागले समेत स्वीकृत गरेको हुँदा यो खोप सुरक्षित र प्रभावकारी भएको डा.गौतमको भनाइ छ । यसको प्रभावकारिता शतप्रतिशत रहेको विभिन्न अध्ययनले देखाएको छ ।

डा.गौतमका अनुसार यो खोपले महिनावारीमा कुनै असर गर्दैन । उहाँ भन्नुहुन्छ,“किशोरीको महिनावारी नियमित प्राकृतिक प्रक्रिया हो । यसले एचपिभी खोप लगाउँदैमा महिनावारी छिटो वा ढिलो हुने हुँदैन।” साथै एचपिभी खोप र बाँझोपनबिच कुनै सम्बन्ध नरहेको ढुक्क भएर खोप लगाउन डा.गौतमको सुझाव छ ।

यो खोप ९८ देखि १०० प्रतिशतसम्म प्रभावकारी हुने अध्ययनले देखाएको छ । यो खोप लक्षित किशोरीलाई एक मात्रा डोज दिए पुग्छ । यो खोप ०.५ एमएलले पुग्ने डा.गौतम बताउनुहुन्छ। खोप सुइको माध्यमबाट बायाँ पाखुराको माथिल्लो भागमा मासुभित्र दिनुपर्दछ । यो खोप लक्षित समूह बाहेक अन्य व्यक्ति, गर्भवती, पहिला कुनै खोप लगाउँदा विगतमा गम्भीर एलर्जी भएको व्यक्तिले लगाउनु हुँदैन।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter