• Friday, June 13, 2025

आन्दोलनरत चिकित्सक र मन्त्रालयबिच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता


काठमाडौँ, फागुन ९ गते । चिकित्सकको सेवा सुविधा सम्बन्धमा सुरु भएको आन्दोलन अन्त्य गर्न नेपाल चिकित्सक संघ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबिच नौ बुँदै सहमति भएको छ । मन्त्री प्रदीप पौडेलको उपस्थितिमा भएको सहमतिसँगै संघले आह्वान गरेको सम्पूर्ण आन्दोलनका कार्यहरू शुक्रबारदेखि फिर्ता लिने र नियमित कार्यहरू सुचारु गरिएका हुन् ।

शुक्रबार साँझ स्वास्थ्य मन्त्रालयमा नेपाल चिकित्सक संघ र मन्त्रालयका अधिकारीहरूबिच वार्ता भएको थियो । सहमतिपछि मन्त्री पौडेलले मन्त्रालयका तर्फबाट भएका सहमति कार्यान्वयनमा लैजाने प्रक्रिया थाल्ने घोषणा गरे ।

वार्ताका क्रममा सरकारको प्रचलित नियम अनुसार इन्टर्नशीप र रेजिडेन्सीमा अध्ययनरत चिकित्सकलाई सेवा सुविधा, बिदा र स्वस्थ कार्यस्थलको सुनिश्चितताका लागि आवश्यक प्रबन्ध गर्न चिकित्सा शिक्षा आयोग लगायतका निकायहरूलाई पत्राचार गर्न मन्त्रालय सहमत भएको छ ।

संघले राखेको स्नातकोत्तर सिट सङ्ख्या थप्ने माग सम्बन्धमा यसअघि नै चिकित्सा शिक्षा आयोगको १७ औ बैठकबाट निर्णय समेत भइसकेको छ ।

यसैगरी संघले राखेको आवासीय चिकित्सकको निर्वाह भत्ता नेपाल सरकारको आठौँ तहसरह उपलब्ध गराउने विषयमा पनि आयोगको बैठकले निर्णय गरिसकेकाले कार्यान्वयनका लागि सरोकारवालासमक्ष पहल गर्ने मन्त्रालयले प्रतिबद्धता जनाएको छ ।

मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्भेको लागि मन्त्रिपरिषद्को निर्णयबाट पूर्वस्वीकृति प्राप्त भइसकेकाले चिकित्सक एवं स्वास्थ्यकर्मीहरूको दरबन्दी थप गर्ने विषय सर्भे पुरा गरी मन्त्रिपरिषद् बैठकमा लैजाने प्रतिबद्धता जनाएको छ ।

यसैगरी विकास समितिका कर्मचारीलाई स्थायी गर्ने सम्बन्धमा मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीको नेतृत्वमा प्रशासन तर्फको उप–सचिव (१ जना) र नेपाल चिकित्सक संघका प्रतिनिधि १ जना रहने गरी ३ सदस्यीय कार्यदलले १ हप्ताभित्र कार्यविधि तयार गरी पेस गर्ने निर्णय पनि गरेको छ । यसैगरी, बैठकमा अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत सबै चिकित्सकहरूलाई जोखिम भत्ताका लागि तीन महिनाभित्र आवश्यक कानुन तर्जुमा गर्नेसमेत मन्त्रालयले प्रतिबद्धता जनाएको छ ।

बन्दै गरेको ‘चिकित्सक ऐन’को मस्यौदामासमेत चिकित्सकका मागहरू समेट्ने प्रतिबद्धता जनाएको छ । यसैगरी, चिकित्सा सेवा आयोगको गठन गर्ने कार्यलाई समेत प्रस्तावित चिकित्सक ऐन समावेश गरी ३ महिनाभित्र स्वीकृतिको लागि पेस गर्ने प्रतिबद्धता वार्ताका क्रममा मन्त्रालयले जनाएको छ ।

संघले आफ्ना माग पुरा नभएको भन्दै आन्दोलन थालेपछि मन्त्री पौडेलले माग पूरा गर्न वार्ता गर्न टोली खटाएका थिए । दुई चरणको वार्तापछि शुक्रबार साँझ सहमति भएसँगै अब नियमित रूपमा चिकित्सकहरू आन्दोलन छाडेर कार्यस्थलमा खट्ने भएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter