• Monday, June 09, 2025

वैकल्पिक चिकित्साले तङ्ग्रिँदै बिरामी


सरोज ढुङ्गेल / काठमाडौँ, फागुन १४ गते । सङ्खुवासभाकी अञ्जु राई वैकल्पिक चिकित्सामार्फत पक्षघात (प्यारालाइसिस) को उपचार गराइरहनुभएको छ । गत माघ ९ गते घरकै शौचालयमा एक्कासि ढलेपछि काठमाडौँको न्युरोड बस्नुहुने राईलाई वीर अस्पताल पुर्‍याइएको थियो ।

दस दिन वीर अस्पतालमा राखेर उपचार गर्दा उहाँको समस्या ठिक नभएपछि वीरले नरदेवी आयुर्वेदिक अस्पतालमा प्रेषण गर्‍यो । तत्काल अञ्जुलाई नरदेवी लगे पनि त्यहाँ शय्या पाइएन । उहाँको अवस्था झन्झन् जटिल बन्दै गयो । उहाँका भाइले इन्टरनेटमा खोज्दा प्यारालाइसिसको राम्रो उपचार हुने भएपछि स्पार्क हेल्थ होम अस्पताल लगेर उपचार गरियो । ४४ वर्षीया अञ्जु अहिले राम्रोसँग बोल्न, हिँडडुल गर्न सक्ने हुनुभएको छ । “प्यारालाइसिसले मुखसमेत बाङ्गिएको थियो । अब बिस्तारै आफैँ हिँड्न थालेकी छु । अझै केही दिन स्पार्क अस्पतालमा उपचार गरेपछि पूर्ण रूपमा ठिक हुन्छु,” अञ्जु राईले भन्नुभयो । अहिले राईको रक्तचाप पनि नियन्त्रणमा छ ।

उहाँलाई उपचार गर्ने डा. गीता केसीले राईलाई विभिन्न थेरापी माध्यमबाट उपचार गराइरहेको बताउनुभयो । “उहाँ सुरुमा अस्पताल आउँदा पूर्ण रूपमा अशक्त हुनुहुन्थ्यो । वैकल्पिक चिकित्सा पद्धतिको उपचारले गर्दा हिँडडुल गर्न सक्नुहुन्छ,” डा. केसीले भन्नुभयो । अस्पतालकी इलेक्ट्रोथेरापी इन्चार्ज मेनुका कार्कीले राईको स्वास्थ्यमा उल्लेख्य सुधार हुँदै गएको बताउनुभयो । कार्कीले भन्नुभयो, “उहाँलाई इलेक्ट्रोथेरापीबाट उपचार गरिरहेका छौँ । अब केही दिन अस्पतालमा बसेपछि सबै ठिक भएर डिस्चार्ज हुनुहुने छ ।” यस्तै कीर्तिपुरका बालकृष्ण अधिकारीको तीन वर्षअघि ढाडको भागको नसा च्यापिएर न्युरो अस्पतालमा भर्ना हुनुभयो । अस्पतालले शल्यक्रिया गर्नु पर्छ भनेपछि शल्यक्रिया नगरी वैकल्पिक चिकित्सा उपचारमा लाग्नुभयो । केही दिनको थेरापीपछि उहाँ पूर्ण रूपमा ठिक भएर जानुभयो । तीन वर्षपछि उहाँको समस्या बल्झियो । अहिले उहाँ अस्पतालमा उपचाररत हुनुहुन्छ । अधिकारीले वैकल्पिक चिकित्साले आफ्नो स्वास्थ्यमा सुधार हुँदै गएको बताउनुभयो ।

पछिल्लो समय नेपालमा वैकल्पिक तथा प्राकृतिक चिकित्साको महत्व बढ्दै गएको छ । विशेष गरी नरदेवी आयुर्वेदिक अस्पताल, स्पार्क हेल्थ होम अस्पताल, सुस्वास्थ्यजस्ता अस्पतालमा प्राकृतिक तथा वैकल्पिक चिकित्सा विधिबाट प्रभावकारी उपचार हुने गरेको छ ।

नरदेवी अस्पतालकी अकुपन्चर रोग विशेषज्ञ डा. जया सत्यालले नरदेवी अस्पतालमा प्यारालाइसिसका १५ जना बिरामी उपचाररत रहेको जानकारी दिनुभयो । डा. सत्यालले भन्नुभयो, “उहाँहरू सुरुमा एलोपेथिक अस्पताल जानुहुन्छ । ती अस्पतालमा ठिक नभएपछि प्रेषण भएर यहाँ आउनुहुन्छ ।” उहाँले नरदेवीमा अकुपन्चर, अकुपे्रसर र फिजियोथेरापी विधिबाट उपचार गराएर बिरामी निको हुने गरेको बताउनुभयो ।

यीबाहेक प्यारालाइसिस, नसा च्यापिएको, हड्डी खिइएको, पिनास, अनुहार प्यारालाइसिस, माइग्रेनलगायत रोगको उपचार प्राकृतिक तथा वैकल्पिक चिकित्सा पद्धतिबाट हुने गरेको छ । डा. केसीका अनुसार इलेक्ट्रोथेरापी, फिजियोथेरापी, मसाजथेरापी गरेर उपचार गर्ने गरिन्छ ।

डा. केसीले वैकल्पिक तथा प्राकृतिक चिकित्सामा लामो समयसम्म उपचार गरेर बस्नुपर्ने बताउनुभयो । प्यारालाइसिसलगायतका रोगको उपचारका लागि कम्तीमा एक महिनादेखि तीन महिनासम्म लाग्ने गर्छ । कतिपय जटिलखालको प्यारालाइसिसलगायतका समस्या ठिक हुनलाई एक वर्षसम्म लाग्ने गरेको छ ।

नरदेवी अस्पतालकी डा. सत्यालले सडक दुर्घटना, रुखबाट लडेका बिरामी, स्पाइनल कर्ड इन्जुरी भएका बिरामीका लागि प्राकृतिक तथा वैकल्पिक चिकित्सा वरदान साबित हुने गरेको बताउनुभयो ।

डा. केसीले प्राकृतिक चिकित्साले वनस्पतिजन्य औषधी र जीवनशैलीलाई बढी महत्व दिने बताउनुभयो । उहाँले आहार, व्यायाम, प्राणायाम, ध्यानका माध्यमले उपचार गर्ने प्राकृतिक चिकित्सा विधाले स्वास्थ्यसम्बन्धी सचेतना र ज्ञान विस्तार गर्ने बताउनुभयो । उहाँले प्राकृतिक चिकित्साले शरीरमा ऊर्जा सञ्चार गरी सन्तुलित र ऊर्जावान् बनाउन सहयोग गर्ने बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter