• Wednesday, April 16, 2025

कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद्को निर्णय; नयाँ गभर्नर नियुक्त गर्न समिति बनाउने


काठमाडौँ, फागुन २१ गते। सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तीन दिनको म्याद दिएर उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

सरकारले कुलमानलाई हटाउने उद्देश्यका साथ स्पष्टीकरण सोधेको ती मन्त्रीको भनाइ छ ।

मन्त्रालयका सचिव सुरेश आचार्यले कार्यसम्पादन मूल्याङ्कनमा शून्य अंक दिइएका उनलाई हटाउने प्रक्रिया अघि बढाउन लागिएको बताएका थिए । यसअघि घिसिङलाई मन्त्रालयले सोधेको स्पष्टीकरणमा उनले आफूलाई मन्त्रिपरिषद्ले नियुक्त गरेकाले हटाउने र स्पष्टीकरण सोध्ने अधिकार पनि मन्त्रिपरिषद्लाई नै भएको बताएका थिए ।

एकापसमा टसल बढ्दै गएपछि सरकारले घिसिङलाई हटाउन खोजिरहेको छ । यद्यपि घिसिङले भने आफूले अन्तिम समयसम्म पनि प्राधिकरणको सुधारमा काम गरिरहने बताएका छन् ।

नयाँ गभर्नर नियुक्त गर्न समिति बनाउने मन्त्रिपरिषद्को निर्णय

सरकारले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समिति बनाउने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले समिति बनाउने निर्णय गरेको एक मन्त्रीले बताए ।

गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिन लागेसँगै नयाँ गभर्नरको नियुक्तिका लागि सरकारले प्रक्रिया अघि बढाएको हो।

गभर्नर अधिकारीको कार्यकाल यही चैत २४ गते सकिँदैछ । सिफारिस समिति अर्थमन्त्रीको संयोजकत्वमा हुने व्यवस्था छ । गभर्नरका लागि आकांक्षीहरुले दौडधुप बढाइसकेका जानकारहरु बताउँछन् ।

अग्नि खरेल प्रधानमन्त्री ओलीको विज्ञ सल्लाहकारमा नियुक्त

सरकारले एमाले नेता अग्नि खरेललाई प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञ सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले खरेललाई विज्ञ सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

खरेललाई प्रधानमन्त्रीको विज्ञ सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरिएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । झापाको गौरादह स्थायी घर भएका खरेल यसअघि पूर्वमहान्यायाधिवक्ता पनि थिए ।विज्ञ सल्लाहकारले राज्यमन्त्री सो सरह सुविधा पाउँछ ।

जनक भट्टराईलाई प्रहरी एआईजीमा पदोन्नति गर्ने निर्णय

सरकारले जनक भट्टराईलाई प्रहरी एआईजीमा पदोन्नति गर्ने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको एक मन्त्रीले बताए ।

स्वास्थ्य सचिवमा विकास देवकोटा

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा.विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अन्य प्रतिस्पर्धीलाई पाखा लगाउँदै उनलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले बताए।

स्वास्थ्य सचिव सिफारिस समितिले डा. देवकोटासहित डा.संगीता कौशल मिश्र र डा. टंक बाराकोटीको नाम सिफारिस गरेको थियो । लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी, लोक सेवा आयोगका अध्यक्षले तोकेको आयोगको सदस्य, मुख्यसचिव एकनारायण अर्याल र विज्ञ पूर्व स्वास्थ्य सचिव डा.किरण रेग्मी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ सदस्य सचिव रहेको बढुवा सिफारिस समितिको बैठकले उनीहरुको नाम सिफारिस गरेको थियो ।

जसअनुसार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल डा. देवकोटालाई सचिव बनाउन चाहन्थे । उनकै चाहनाअनुसार मन्त्रालयले सचिव पाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter