संविधानको प्रभावकारी कार्यान्वयन सरकारको कर्तव्य; शिक्षालाई प्रविधिसँग जोड्नुपर्छ : प्रधानमन्त्री

सुर्खेत, फागुन २३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको रक्षा र संविधानको प्रभावकारी कार्यान्वयन गर्दै आवश्यकतानुसार परिमार्जन गर्दै जाने सरकारको सोच रहेको स्पष्ट गर्नुभएको छ ।
कर्णाली प्रदेशसभाको बैठकमा शुक्रबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले जनताको बलिदान र सङ्घर्षको आधारमा निर्मित नेपालको संविधानले सबैलाई समान अधिकारका साथै सबैको प्रतिस्पर्धा र क्षमता प्रदर्शनको अवसर गरेकाले यसको रक्षा, कार्यान्वयन तथा देश र जनताको हितमा आवश्यक संशोधन सरकारको कर्तव्य भएको बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठनपूर्व नेकपा (एमाले) र नेपाली कांग्रेसबिच भएको सात बुँदे सहमतिमा संविधान संशोधनको बुँदा समावेश गरिएको स्मरण गराउँदै संविधान संशोधन रहर वा लहडमा नभई राष्ट्रिय आवश्यकतालाई हेरेर गरिने विषय भएको उल्लेख गर्नुभयो ।
“हामीले ल्याएको गणतन्त्रको व्यवस्थामा राष्ट्रिय स्वाभिमानको प्रबन्ध गरिएको छ । जन्मँदै कोही श्रेष्ठ र कोही रैती हुने प्रणाली सदाका लागि अन्त्य गरेका छौँ । यस प्रणालीमा नागरिक सर्वाेच्चता सबैभन्दा माथि हुन्छ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “व्यवस्था र अवस्थामा परिवर्तनसँगै अब हामी विकासका सन्दर्भमा आधुनिक ढङ्गले अगाडि बढ्नुपर्छ । अहिलेको सरकारको ध्यान जनतालाई सूचना र प्रविधको सहायतामा सहज र सरलरूपमा सुविधान उत्पन्न होस् भन्नेमा छ । हामीले जनतालाई केन्द्रमा राखेर उत्पादन र उत्पादकत्व बढाउने हिसाबले जानुपर्छ । सातै प्रदेशसँगको संवाद र छलफलका आधारमा आगामी बजेटमा उचित सम्बोधन गरिनेछ ।”
उहाँले ठुला दुई दल र अन्य सहयोगी दलको समर्थनमा संसदमा लगभग दुई तिहाइको जनमत रहेकाले आफूहरू समझदारीका साथ देशको समृद्धिका लागि काम गर्न तत्पर भएर सहकार्यमा जुटेकाले आगामी निर्वाचनसम्म यो सहयात्रा नटुट्ने उद्घोष गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “तपाईँहरू ढुक्क रहनुहोला–यो सरकार भिजनसहितको स्थिर सरकारको हो । यही बाटोमा यो सरकार अघि बढ्छ ।”
प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश आफ्नो हिसाबले विकासको सुन्दर सम्भावना बोकेको प्रदेश भएकाले यहाँका माथिल्लो कर्णाली, स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली काेरिडोर, राकम कर्णाली, भेरी बबइ, दैलेखको पेट्रोल खानी, आदि आयोजना निर्माण, विस्तार सञ्चालनका क्रममा रहेको अवगत गराउँदै स्रोत सुनिश्चितता बिना नयाँ आयोजना बनाउने बेथितिमा सुधार ल्याइएको जनाउनुभयो ।
उहाँले कुनै आरोप प्रत्यारोपमा नलागी तीनै तहका सरकरको सहकार्यमा देशको विकास र समृद्धिका लागि जुट्न आह्वान गर्नुहुँदै नयाँ कार्ययोजनाभन्दा थालिसकेका काम पूरा गर्ने आफ्नो सङ्कल्प रहेको जनाउनुभयो ।
प्रधानमन्त्री ओलीले केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई पूराका पूरा सहयोग गर्ने सोचका साथ काम गरिरहेको स्पष्ट गर्दै सामाजिक सञ्जालमा असभ्यता प्रदर्शन गरेर नेपालीको सभ्यता र संस्कृतिलाई मास्ने प्रवृत्तिले जनताका बिचमा फाटो ल्याउने भएकाले नियनिन्त्रत अस्थिरताको प्रयास सफल नहुने स्पष्ट गर्नुभयो ।
शिक्षालाई प्रविधिसँग जोड्नुपर्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री एवम् मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले शिक्षालाई प्रविधिसँग जोडेर अघि बढाउनुपर्ने बताउनुभएको छ । शुक्रबार सुर्खेतमा आयोजित मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
‘‘जुन मुलुकले आफ्नो मुलुकमा रहेका स्रोतसाधनको प्रयोग र परिचालन गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्दैन, आजको भूमण्डलीकरणको युगमा युग अनुकूलको नागरिक निर्माण गर्न सक्दैन, त्यो मुलुक विकासको दौडमा पछाडि पर्ने निश्चित हुन्छ ।,’’ उहाँले भन्नुभयो । डिजिटल शिक्षा आजको आवश्यकता भएको समेत उहाँले बताउनुभयो ।
मध्यपश्चिम विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले आजको युग कृत्तिम बौद्धिकतायुक्त प्रविधि र सिर्जनशीलताको युग भएको उल्लेख गर्नुुहुँदै उच्च शिक्षा अध्ययनमा लाखौँ विद्यार्थी र अर्बौं पुँजी विदेश पलायन हुनु चिन्ताजनक रहेको बताउनुभयो । उच्च शिक्षाका लागि विदेशी विश्वविद्यालयमा पुगेका देशका कर्णधारको व्यवस्थित शिक्षा आर्जन, सुरक्षा र स्वदेश फिर्तिलाई सरकारले उच्च प्राथमिकताका साथ हेरिरहेको दाबी गर्नुभयो ।
प्रधानमन्त्री ओलीले मुलुकमा रहेका विश्वविद्यालयले समयानुकूल विषय र कार्यक्रमका माध्यमबाट शिक्षा लिनैका लागि विदेशिनु पर्ने अवस्थाको अन्त्य गर्नुपर्ने जानकारी दिनुभयो । शिक्षा केबल डिग्री प्राप्त गर्नु मात्र नभई जीवनलाई सही दिशा दिने मार्ग रहेको उहाँले बताउनुभयो । दीक्षित भएका विद्यार्थीलाई ओलीले आफ्नै देशमा नवीनतम् काम गर्न सुझाव दिनुभयो ।