जुम्लामा महिला मिलेर खोले ‘आमा घर’; महिलाहरू एकताबद्ध भएमात्रै समाज परिवर्तन हुन्छः उपसभामुख राना

नेत्र शाही / जुम्ला, फागुन २४ गते। जुम्लामा हिंसा पीडित महिलाको सशक्तिकरण, आपतकालीन आश्रय, न्याय पैरवीका लागि ‘दिमा आमा घर’को स्थापना गरिएको छ। बढिरहेको हिंसालाई न्यूनिकरण गर्न तथा न्यायीक निकायमा पुर्याउने भन्दै सात जना घरेलु हिंसा पीडित महिलाले कार्यालय स्थापना गरेका हुन्। जुम्ला सदरमुकामको चन्दननाथ नगरपालिका ६ मा आमा घर स्थापना गरिएको हो।
११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा संस्थाका अध्यक्ष दिलमाया शाहीले जुम्लामा आमा घरको आवश्यकताका विषयमा जानकारी दिनुभयो। उहाँले जुम्लामा पत्रकारिता क्षेत्रबाट गरेको सेवावाट आफूसँग जोडिएका सात जना महिला मिलेर हिंसा पीडितकाको न्याय, आत्मनिर्भरता, पैरवी तथा सशक्तिकरणका लागि दिमा आमा घर स्थापना गरिएको जानकारी दिनुभयो।
संस्थाले हिंसामा परेका महिला र छोरीलाई आश्रय सहित न्यायको पैरवीसँगै स्वास्थ्य उपचारमा सघाउने छ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय सदस्य तथा सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल, प्रमुख जिल्ला अधिकारी रामबहादुर शाही, तातोपानी गाउँपालिका उपाध्यक्ष रेवती रावल संस्थाका अध्यक्ष दिलमाया शाही सहितले उद्घाटन गर्नुभएको हो।
महिलाहरू एकताबद्ध भएमात्रै समाज परिवर्तन हुन्छः उपसभामुख राना
उपसभामुख इन्दिरा रानाले महिलाहरू एकताबद्ध भएमात्रै समाज परिवर्तन हुनसक्ने बताउनुभएको छ । शनिबार काठमाडौँमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
उपसभामुख रानाले ठुला कुरा गरेर भन्दा अनुशासित भएर काम गरे सफलता मिल्ने जिकिर गर्नुभयो । उहाँले सामाजिक, आर्थिक, राजनीतिक रूपान्तरणको कुरा गर्ने तर अर्कोतिर यसमै खेल खेल्ने कुराले कहिल्यै परिवर्तन हुन नसक्ने बताउनुभयो ।
उपसभामुख रानाले भन्नुभयो, ‘‘हामीले ठुलो ठुलो कुरा गर्ने भन्दा पनि हामी अनुशासित हुनुपर्छ । टाइमलाई हामीले समात्न सकेनौँ भने हामी कहिले पनि कतै पुग्न सकिँदैन । महिलाहरू एकताबद्ध हुनुपर्छ र मात्रै समाज परिवर्तन हुन्छ । सामाजिक, आर्थिक, राजनीतिक रूपान्तरणको कुरा गर्दछौँ तर हामी खेल खेल्छौँ । कहिले पनि परिवर्तन हुँदैन ।’’
उपसभामुख रानाले पुरुष र नारी दुवै मिलेमात्रै परिवर्तन सम्भव रहेको बताउनुभयो । उहाँले नारी र पुरुष एक भएर मात्रै समाजलाई रूपान्तरण गर्नसकिने बताउनुभयो ।