पूर्वराजा ज्ञानेन्द्र शाहलाई भव्य स्वागत : राप्रपालाई एक लाख रुपैयाँ जरिवाना गर्ने काठमाडौँ महानगरको निर्णय

काठमाडौँ , फागुन २५ गते । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आज आइतबार अपराह्न काठमाडौँ आइपुगेका छन्।
समिट एयरको ९एन–एकेजेड कलसाइन चार्टर्ड विमानमार्फत उनी काठमाडौँ आएका हुन् । पूर्वराजा शाह आउने सूचना पाएपछि बिहानैदेखि राजतन्त्र पक्षधरहरु विमानस्थल वरपरका सडकहरुमा जम्मा हुन थालिसकेका थिए ।
प्रदर्शनकारीहरुले गणतन्त्र व्यवस्था र वर्तमान सरकार विरुद्ध नाराबाजी गरेका थिए ।
पूर्वराजाका समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए ।
आज विमानस्थल बाहिर जम्मा भएका भीडले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्न थालेपछि प्रहरीसित उनीहरूको धकेलाधकेल पनि भएको थियो ।
एक महिना पोखरा बसेका ज्ञानेन्द्र शाह त्यस वरपरका जिल्लाहरुमा पनि पुगेका थिए ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहितका नेताहर विमानस्थल पुगेका थिए ।
काठमाडौँस्थित त्रिभुवन विमानस्थल उत्रिएपछि उनले विमानस्थलको अति विशिष्ट कक्षमा राप्रपाका अध्यक्ष लिङ्देन, अन्य नेताहरू पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनी र पूर्व अध्यक्ष कमल थापालगायतसँग छलफल गरेका थिए ।
पूर्वराजा शाहको स्वागतका लागि विमानस्थल बाहिर हजारौँको संख्यामा उनका समर्थकहरू भेला भएका थिए । उनीहरूले पूर्वराजा शाहलाई र्याली, झाँकी र बाजागाजासहित निर्मल निवाससम्म लगेका थिए ।
बिहानैदेखि राजतन्त्र पक्षधर समर्थकहरू विमानस्थल वरपर जम्मा भएका थिए ।
पूर्वराजा शाहको स्वागत गर्नका विमानस्थलवरिपरि पुग्न राप्रपा र अन्य राजा समर्थकहरूले पनि सर्वसाधारणहरूलाई आह्वान गरेका थिए ।
प्रदर्शनका कारण दिनभर उपत्यकाको ट्राफिक अवस्था अस्तव्यस्त बनेको थियो ।
पूर्वराजा ज्ञानेन्द्र शाहले यही फागुन ७ गते आँफुलाई साथ दिन आह्वान गरेपछि देशभरका विभिन्न स्थानमा लगातार राजतन्त्र पक्षधरहरुको प्रदर्शन भइरहेको छ ।
राप्रपालाई एक लाख रुपैयाँ जरिवाना गर्ने काठमाडौँ महानगरको निर्णय
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई एक लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । आइतबार राप्रपाले गरेको पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र्यालीका क्रममा फोहोर भएको भन्दै महानगरले एक लाख जरिवाना गराएको हो ।
काठमाडौँ महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछा मगरले जारी गरेको सूचनामा भनिएको छ, ‘प्रस्तुत विषयमा मिति २०८१ फागुन २५ गते त्यहाँ पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरूबाट एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका बिरुवाहरू साथै रेलिङ्गमा भौतिक क्षति र जथाभाबी रूपमा फोहोरमैला समेत गरी वातावरण प्रदूषण गरेकोले तपाईँलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु. १००,०००/०० (अक्षरुपी एक लाख) जरिवाना गरिएको ब्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ ।’