एकै महिना १३७ अर्ब रेमिट्यान्स भित्रियो; विदेश भ्रमण र शिक्षामा बाहिरियो १ खर्ब १२ अर्ब; घट्यो मूल्यवृद्धि

काठमाडौँ, फागुन २६ गते । रेमिट्यान्स आप्रवाहले फेरि लय लिन थालेको छ । मंसिर तथा पुसमा घट्दै गएको रेमिट्यान्स माघ महिनामा पुनः लयमा फर्किएको हो । माघ महिनामा मात्रै रेमिट्यान्स आप्रवाह झण्डै १३७ अर्ब रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुुसार माघ मसान्तसम्म विप्रेषण आप्रवाह ९०० अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म यस्तो आप्रवाह ७६३ अर्ब ८ करोड पुगेको छ । योसँगै कुल वृद्धिदर ४.१ प्रतिशतबाट बढेर ७.३ प्रतिशत पुगेको छ । यद्यपि यो वृद्धिदर अघिल्लो वर्षको भन्दा कम हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले बढेको थियो ।
यसमध्ये अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.३ प्रतिशतले वृद्धि भइ ६ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ९८५ अर्ब १७ करोड पुगेको बैंककोृ तथ्यांक छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.९१० अर्ब ७७ करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७४ हजार ६२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार ८८६ रहेको छ । दुवै संख्या अघिल्लो वर्ष भन्दा बढी हो ।
विदेश भ्रमण र शिक्षामा बाहिरियो १ खर्ब १२ अर्ब
साउनदेखि माघ मसान्तसम्मको ७ महिना अवधिमा विदेश भ्रमण तथा शिक्षाका लागि नेपालबाट १ खर्ब १२ अर्ब ९२ करोड रुपैयाँ रकम बाहिरिएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार यो अवधिमा भ्रमणका लागि ४८ अर्ब ७७ करोड रुपैयाँ बराबर रकम बाहिरिएको छ । त्यस्तै अध्ययन तथा शिक्षाका लागि ६४ अर्ब १५ करोड रुपैयाँ बराबर रकम बाहिरिएको छ । त्यस्तै स्वास्थ्य सेवाका लागि ३६ करोड ४४ लाख रुपैयाँ बाहिरिएको छ ।
यद्यपि उच्च रेमिट्यान्सका कारण नेपालको भुक्तानी अवस्था बचतमै छ । सात महिनामा मुलुकको शोधनान्तर स्थिति (भुक्तानी स्थिति) २ खर्ब ८४ अर्ब रुपैयाँ बचतमा छ । यसको अर्थ मुलुकबाट बाहिरिनेभन्दा मुलुकमा भित्रिने रकम २ खर्ब ८४ अर्ब रुपैयाँ बढी छ ।
ह्वात्तै घट्यो मूल्यवृद्धि, कहाँ कस्तो छ अवस्था ?
माघ महिनामा देशको समग्र मूल्यवृद्धि नियन्त्रणमा आएको देखिएको छ । पुस मसान्तसम्म ५.४१ प्रतिशत रहेको वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्क माघ मसान्तमा ४.१६ प्रतिशत विन्दुमा झरेको हो ।
यो वृद्धिदर अघिल्लो वर्षको भन्दा कम हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.०१ रहेको राष्ट्र बैङ्कले जनाएको छ ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७४ प्रतिशत रहेको राष्ट्र बैङ्कको तथ्याङ्क छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ६.५९ प्रतिशत र ३.९८ प्रतिशत रहेको थियो ।
त्यस्तै, समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १२.८० प्रतिशत, दाल तथा गेडागुडीको ९.०६ प्रतिशत, तरकारीको ७.५६ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ६.३६ प्रतिशतले बढेको छ भने मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २.९८ प्रतिशतले घटेको राष्ट्र बैङ्कले जनाएको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.९१ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पलको ५.३६ प्रतिशत, मदिराजन्य पेय पदार्थको ५.०८ प्रतिशत, यातायातको ५.०१ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.१० प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ४.०७ प्रतिशतले बढेको छ ।
समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४.७३ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.९६ प्रतिशतले बढेको छ ।
प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.१५ प्रतिशत, मधेस प्रदेशको ३.९१ प्रतिशत, बागमती प्रदेशको ३.३५ प्रतिशत, गण्डकी प्रदेशको ३.४० प्रतिशत, लुम्बिनी प्रदेशको ४.१६ प्रतिशत, कर्णाली प्रदेशको ४.०५ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ४.७१ प्रतिशत रहेको छ ।
समीक्षा महिनामा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५३ प्रतिशत, तराईको ४.२५ प्रतिशत, पहाडको ४.११ प्रतिशत र हिमालको ५.२१ प्रतिशत रहेको राष्ट्र बैङ्कले जनाएको छ ।