• Wednesday, April 16, 2025

जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सामूहिक सहकार्य : परराष्ट्रमन्त्री; परराष्ट्रमन्त्री डा. देउवा र भारतीय विदेशमन्त्री जयशंकरबिच द्विपक्षीय वार्ता


काठमाडौं, चैत ५ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनले पारेको असरलाई गम्भीर रुपमा लिएर यसको न्यूनीकरणका लागि सामूहिक सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ । भारतको विदेश मन्त्रालयले राजधानी नयाँ दिल्लीमा आयोजना गरेको राइसिना डायलगको जलवायु परिवर्तन सम्बन्धी सत्रलाई मङ्गलबार सम्बोधन गर्दै उहाँले विकासशील राष्ट्रहरूले जलवायु परिवर्तनको अकल्पनीय प्रभावहरूको अनुभव गरिरहेका र नेपाल यसको अग्रपंक्तिमा नै रहेको बताउनुभयो ।

मन्त्री डा. राणाले जलवायु परिवर्तनको वर्तमान अवस्था र यसका कारण नेपालमा परेको असरका बारेमा आफ्नो अवस्था दर्शाउँदै यसकारण नेपालले जलवायु न्याय (क्लाइमेट जस्टिस) को मागलाई अन्तर्राष्ट्रिय रुपमा उठाउँदै आएको पनि स्पष्ट गर्नुभयो । उहाँले जलवायु परिवर्तनको असरले नेपालजस्ता हिमाल तथा पहाड भएका देशलाई मात्र नभएर सिंगो विश्वलाई नै असर गर्ने भएकाले सबै देशहरुले साझा एजेण्डाका साथ सामूहिक सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले जलवायु न्याय अन्तर्गत क्षतिपूर्तिको पक्षमा नेपाल रहेको बताउँदै उहाँले यसका लागि आवश्यक क्लाइमेट फाइनान्सिङका विषयमा अब ब्यापक मात्रामा छलफल हुनुपर्छ भन्नुभयो ।

मन्त्री डा राणाले गत वर्षको सेप्टेम्बरमा जलवायु परिवर्तनको सबैभन्दा नराम्रो परिणामको नेपालले सामना गर्नुपरेको र भीषण वर्षाका कारण २५० भन्दा बढी मानिसको ज्यान जानुका साथै करिब ४५ अर्ब रुपियाँ बराबरको क्षति ब्यहोर्नुपरेको बताउनुभयो ।

सो भीषण वर्षा र बाढीले पिउने पानी, सडक, ऊर्जा, सिँचाइ, पूर्वाधारहरु तथा कृषिसम्बन्धी पूर्वाधारमा ठूलो क्षति पुगेको पनि मन्त्री डा राणाले जानकारी दिनुभयो । उहाँले क्लाइमेट फाइनान्सिङका क्षेत्रमा अब नयाँ स्वरुपले सोच्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘‘अहिले विश्व नयाँ ढङ्गले अघि बढिरहेको छ । मलाई लाग्छ, अब परम्परागत दाताहरुबाट त्यसैगरी अनुदान तथा सहयोग नआउन पनि सक्छ, त्यसैले अब नयाँ ढंगले सोच्नुपर्ने बेला आएको छ ।’’

उहाँले यसका लागि राष्ट्रहरुले निजी क्षेत्रसँग पनि सहकार्य गरेर अघि बढ्न सकिने धारणा राख्नुभयो । नेपालले विश्वको अन्य क्षेत्रको तुलनामा जलवायु परिवर्तनको असर अकल्पनीय रुपमा अनुभव गरिरहेको दृष्टान्त पेश गर्दै उहाँले नेपालका लागि थप क्षतिपूर्ति आवश्यक छ भन्नुभयो । नेपाललाई वर्षा, बाढी पहिरो तथा अन्य प्राकृतिक प्रकोपहरुको पूर्व सूचना आदिका क्षेत्रमा प्राविधिक सहयोग आवश्यक रहेको धारणा राख्नुभयो ।

परराष्ट्रमन्त्री डा. देउवा र भारतीय विदेशमन्त्री जयशंकरबिच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबिच मंगलबार नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ।

भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रममा सहभागिताका लागि नयाँ दिल्लीमा रहनुभएकी मन्त्री डा. राणा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच आज सो भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएका छ।

उक्त भेटका क्रममा उहाँहरुबिच नेपाल भारत ऐतिहासिक द्विपक्षीय सम्बन्ध, दुई देशका साझा चासो र आपसी हितकासाथै पारस्पारिक लाभका विभिन्न विषयमा कुराकानी भएको छ। भेटका क्रममा मन्त्री डा. राणाले नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको र आगामी दिनमा पनि दुवै देशको साझा हितका लागि भारतसँग सहकार्य गर्न नेपाल सदैव इच्छुक रहेको बताउनुभएको छ।

नेपाल र भारतबीचका पछिल्लो समयमा जारी रहेका द्विपक्षीय भेटवार्ता, भ्रमणको आदानप्रदान तथा आपसी सहकार्यका साथै दुई देशका बिचको ट्रेड ट्रान्जिट तथा जलस्रोत विकासका क्षेत्रमा भएका प्रगतिका बारेमा पनि सो भेटका क्रममा कुराकानी भएको थियो।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter