• Tuesday, June 10, 2025

वडामै पुगेर गर्भवती महिलाको गर्भ परीक्षण


चन्द्र पन्दाक / ताप्लेजुङ, वैशाख २० गते। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा वडा–वडामा पुगेर गर्भवती महिलाको गर्भ परीक्षण गरिएको छ। गाउँपालिकाले वडा वडामा सञ्चालन गरेको घुम्ती शिविरमार्फत गर्भवती महिलाको गर्भ परीक्षण गरिएको हो।

सिदिङ्वा गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको वडा नम्बर ४ साब्लाखु र नजिकैको वडा ५ लिम्बुदिनबाहेक अन्य वडामा शिविर सञ्चालन गरिएको थियो। गाउँपालिकाको वडा १ कालीखोला, वडा २ सादेवा, वडा ३ आङ्खोप, वडा ६ मेहेले र वडा ७ सुरुम्खिममा घुम्ती सेवा शिविर सञ्चालन गरिएको छ।

उक्त वडाहरूमा सञ्चालित शिविरमा २३ जना गर्भवती महिलाको भिडियो एक्स–रेमार्फत गर्भ परीक्षण गरिएको सिदिङ्वा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रदीपकुमार शाहले जानकारी दिनुभयो। शाखा प्रमुख शाहका अनुसार आङ्खोप र मेहेलेमा समान आठ–आठ जना तथा सुरुम्खिममा सात जना गर्भवती महिलाको गर्भ परीक्षण गरिएको छ।

यता शिविर सञ्चालन गरिएका वडामध्ये कालीखोला र सादेवामा गर्भवती महिला नरहेको पाइएको उहाँले जानकारी दिनुभयो। गर्भवती महिला र गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्थालाई दृष्टिगत गरी वडा वडामा घुम्ती शिविर सञ्चालन गरी भिडियो एक्स–रेमार्फत गर्भ परीक्षण सेवा प्रवाह गरिएको गाउँपालिकाले जनाएको छ। वडा ४ साब्लाखु र ५ लिम्बुदिनका सेवाग्राहीका लागि साब्लाखु स्वास्थ्य चौकी नजिक रहेकाले उक्त वडाहरूमा शिविर सञ्चालन नगरिएको पनि गाउँपालिकाले जनाएको छ।

यस्तै घुम्ती शिविरमा गर्भ परीक्षण सेवासँगै टी.वी. रोग शङ्कास्पद भएका १०१ जना सर्वसाधारणको खकारको नमुना सङ्कलन गरिएको छ। शिविरमार्फत नै वडा ३ आङ्खोपका ७० वर्ष पुगेका १८ जना ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा पनि गरिएको स्वास्थ्य शाखा प्रमुख शाहले जानकारी दिनुभयो। शिविरमा ३८ जना अपाङ्गता व्यक्तिलाई सहयोगी सामग्री वितरण गरिएको छ भने ४४४ जना लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर राईले जानकारी दिनुभयो।

वडाहरूमा सञ्चालित घुम्ती शिविरमार्फत गाउँपालिकाअन्तर्गत स्वास्थ्यसहित सम्बन्धितका शाखाका कर्मचारीको प्रत्यक्ष सहभागितामा विभिन्न सेवा प्रदान गरिएका हुन्। त्यस्तै गाउँपालिकाका अध्यक्ष राई, उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना), वडाका जनप्रतिनिधि लगायतले घुम्ती शिविरमा सहभागिता जनाउनुभएको थियो। यता वडा–वडामा घुम्ती शिविर सञ्चालन गरी गाउँपालिकाले विभिन्न सेवा प्रवाह गरेकाले सेवाग्राहीलाई राहत पुगेको बताइएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter