• Friday, May 23, 2025

एकजुट भएर अगाडि बढ्न एनआरएनलाई परराष्ट्रमन्त्री डा. राणाको आग्रह


काठमाडौँ, वैशाख २० गते। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपालीलाई एकजुट भएर अगाडि बढ्न आग्रह गर्नुभएको छ। आज यहाँ आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनमा सम्बोधन गर्दै उहाँले संस्थाभित्र राजनीति नगरी एकताबद्ध भई अगाडि बढ्न आग्रह गर्नुभयो।

उहाँले भन्नुभयो, “एनआरएनए राजनीति गर्ने संस्था होइन, तपाईँहरू आफू आबद्ध पार्टीमा राजनीति गर्न सक्नुहुन्छ, संस्थाको पवित्र उद्देश्य पूरा गर्न निःस्वार्थ भावनाका एकताका लागि जुट्न म तपाईँहरूलाई आग्रह गर्दछु।” उहाँले एनआरएनको उद्देश्य पूरा गर्नका लागि एकबद्ध भई सक्रियतापूर्वक लाग्न र त्यसका लागि आफू र परराष्ट्र मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले पछिल्लो समय एनआरएनएमा विवाद देखिएको र उक्त विवाद समाधानका लागि सर्वोच्च अदालतको आदेशानुसार भइरहेको एकता महाधिवेशनलाई सफल पार्न भूमिका खेल्ने सबै धन्यवादको पात्र भएको उल्लेख गर्नुभयो।

“तपाईँहरूले आफूभन्दा ठुलो संस्था र संस्थाभन्दा ठुलो देश हो भन्ने भावना बोकेकै कारण अहिले एकता महाधिवेशन सम्भव भएको हो”, उहाँले भन्नुभयो, “तपाईँहरू राजनीति गरेर मन्त्री र प्रधानमन्त्री बन्ने होइन, गैरआवासीय नेपालीहरूको हितका लागि हो, त्यसैले सङ्घमा राजनीति मिसाउनु उचित होइन।” उहाँले सङ्घभित्र भएका मतभेद त्यागेर एकताका साथ एनआरएनएको उद्देश्य पूरा गर्नका लागि सबै एकजुट हुनुको विकल्प नभएको दोहोर्‍याउनुभयो।

परराष्ट्रमन्त्री डा. राणाले विदेशमा रहेर नेपालप्रति देखाएको भावना आफूले बुझेको उल्लेख गर्दै विश्वमा नेपाली संस्कृति, खाना र पहिचानलाई फैलाउन निर्वाह गरेको भूमिका सराहनीय भएको बताउनुभयो। उहाँले नेपालसँग स्रोतसाधन भए पनि विश्वमा विकास भइरहेको प्रविधि, नयाँ व्यवस्थापकीय कला र पुँजीको अभाव भएकाले त्यसको पूर्ति गैरआवासीय नेपालीहरूले गर्न सक्ने उल्लेख गर्नुभयो। उहाँले गैरआवासीय नेपालीहरूलाई नेपालमा लगानी बढाउन आग्रह गर्दै आर्थिक सुधारको बाटोमा सहकार्य गर्न आवश्यक रहेकामा जोड दिनुभयो।

परराष्ट्रमन्त्री डा. राणाले परराष्ट्र मन्त्रालयले पनि नेपाली डायस्पोरालाई हेर्ने एकाइ गठन गरेको उल्लेख गर्दै त्यसबाट सहजीकरण तथा सेवा सुविधा उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको बताउनुभयो। “अहिले एनआरएन कार्डको पनि विषय चलिरहेको छ, यस विषयमा अहिले मस्यौदा बन्दै छ, मस्यौदामा धेरैभन्दा धेरै सेवा सुविधा समावेश गर्नेगरी काम भइरहेको छ”, उहाँले भन्नुभयो। रासस

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter