मध्यपूर्वमा रहेका पाँच हजार नेपालीले गराए असुरक्षित रहेको जानकारी; ३० लाख नेपालीको सुरक्षामा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री शर्मा

काठमाडौँ, फागुन २८ गते । मध्यपूर्वमा बढ्दो तनावका बिच पाँच हजार नेपाली नागरिकले आफू असुरक्षित रहेको जानकारी सरकारी संयन्त्रमा गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बुधबार आयोजना गरेको प्रेस ब्रिफिङमा सो जानकारी दिइएको हो । ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले पश्चिम एसियामा रहेका नेपाली नागरिकको अवस्था अद्यावधिक गर्न कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता प्रणालीमा पाँच हजारभन्दा बढीले आफ्नो विवरण टिपाएको उल्लेख गर्नुभयो ।

प्रवक्ता क्षेत्रीका अनुसार, पछिल्लो समय विवरण अद्यावधिक गर्ने क्रममा केही नागरिकले आफू सुरक्षित रहेको जानकारीसमेत गराउन थालेका छन् । असुरक्षित रहेका नागरिकको सुरक्षाका लागि विदेशस्थित नेपाली नियोगहरूसँग आवश्यक समन्वय भइरहेको उहाँले बताउनुभयो ।

“पाँच हजार जनाले आफू असुरक्षित रहेको जानकारी गराउनुभएको छ, तर पछिल्लो समय यो सङ्ख्या घट्दो क्रममा छ,” प्रवक्ता क्षेत्रीले भन्नुभयो, “विशेष गरी ट्रान्जिटमा रहेका नेपालीले बढी असुरक्षित महसुस गरेको पाइएको छ । उहाँहरूको सुरक्षा र उद्धारका लागि सरकार क्रियाशील छ ।”

मध्यपूर्वको तनावबारे अध्ययन गरी सरकारलाई सुझाव दिन गठित ‘इमर्जेन्सी रेस्पोन्स टिम’ ले आफ्नो कार्य जारी राखेको समेत मन्त्रालयले जनाएको छ ।

३० लाख नेपालीको सुरक्षामा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री शर्मा

अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले मध्यपूर्व लगायतका द्वन्द्वग्रस्त क्षेत्रमा रहेका लाखौँ नेपाली नागरिकको सम्भावित उद्धारका लागि सरकारले पूर्वतयारी सुरु गरिसकेको बताउनुभएको छ ।

परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले युद्धको समयमा मात्र नभई पूर्वयोजनाका साथ काम गर्न मन्त्रालयको अगुवाइमा ‘सिचुएसन सेन्टर’ स्थापना गरिएको जानकारी दिनुभयो । मध्यपूर्वमा युद्ध भड्किँदा नेपाली नागरिकलाई किन तत्काल स्वदेश फर्काइँदैन भन्ने जिज्ञासालाई सम्बोधन गर्दै मन्त्री शर्माले यसमा श्रमिकहरूको मनोविज्ञान र बाध्यता जोडिएको बताउनुभयो ।

मन्त्री शर्माका अनुसार हाल औपचारिक रूपमा करिब १९–२० लाख र अनौपचारिक रूपमा समेत गरी २५ देखि ३० लाख नेपाली नागरिक विदेशमा छन् । “यति ठूलो सङ्ख्यामा रहेका नागरिकलाई आवश्यक परेका खण्डमा उद्धार गर्नु सामान्य कुरा होइन, यसका लागि राष्ट्रिय स्तरमै योजना र पूर्वाधार आवश्यक पर्छ,” उहाँले स्पष्ट पार्नुभयो । सोही आवश्यकतालाई मध्यनजर गर्दै स्थापना गरिएको ‘सिचुएसन सेन्टर’ ले विदेशमा रहेका नेपालीको नियमित विवरण राख्ने, तथ्याङ्क सङ्कलन गर्ने र उद्धारका लागि आधार (बेस) को रूपमा काम गर्ने उहाँको भनाइ छ ।

राज्यले आफ्ना नागरिकलाई अलपत्र छाड्न नमिल्ने भन्दै उहाँले ३० लाख नागरिकको उद्धार गर्नुपरे पनि सरकार पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, ट्रान्जिटमा रोकिएका नेपालीको समस्या छिट्टै समाधान हुने उहाँले जानकारी दिनुभयो । मन्त्री शर्माले भन्नुभयो, “हाम्रा नागरिक रोजगारीका लागि गएका हुन्, युद्ध सुरु हुनेबित्तिकै फर्किहाल्ने मानसिकतामा सबै हुँदैनन् ।”

परराष्ट्र मन्त्रालयको आन्तरिक मूल्याङ्कन प्रस्तुत गर्दै मन्त्री शर्माले इजरायल र इरानबीचको युद्ध उत्कर्ष (पिक) मा पुगेर ओरालो लागिसकेको बताउनुभयो । युद्धको तीव्रता अब बिस्तारै घट्दै जाने र त्यहाँ रहेका नेपाली नागरिक प्रत्यक्ष निसानामा नरहेकाले धेरै आत्तिनुपर्ने अवस्था नरहेको उहाँले स्पष्ट पार्नुभयो । अमेरिका र इजरायलको घोषित उद्देश्य पूरा भइसकेकाले अब युद्धको तीव्रता (इन्टेन्सिटी) कम हुँदै जाने मन्त्रालयको निष्कर्ष छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter