ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन; ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चित नगरौँ : निगम

काठमाडौँ, फागुन २९ गते । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ ।
आयोगका उपसचिव श्यामबाबु काफ्लेले आज जारी गरेको प्रेस विज्ञप्तिमा कृत्रिम अभाव पैदा गरेको पाइएमा कानुनी दायरामा ल्याउन, अनावश्यक भण्डारण गर्ने प्रवृत्तिलाई नियमन गर्नेतर्फ आवश्यक पहल गर्न र अत्यावश्यकीय वस्तुहरुको आपूर्तिको व्यवस्था अविलम्ब मिलाइ उपभोक्ताको अधिकार संरक्षण गर्न आयोग नेपाल सरकारलाई निर्देशन गरिएको छ ।
आयोगले नेपाल आयल निगम, वाणिज्य विभाग, नेपाल खाद्य व्यवस्था कम्पनी लिमिटेडलगायत ग्यास बिक्री वितरण गर्ने डिपोहरु समेतको अनुगमन तथा अवलोकन गरेको छ ।
“अनुगमन तथा अवलोकनबाट नेपाल पेट्रोलियम पदार्थको आपूर्तिका लागि मुख्यतः आयातमा निर्भर रहेको छ, यसका लागि आयात हुनुपर्ने कच्चापदार्थ साविकबमोजिम नियमित रुपमा नै आपूर्ति भइरहेको छ”, विज्ञप्तिमा भनिएको छ, “केही ग्यास कम्पनीहरूको ढुवानी व्यवस्थापनका कारण आपूर्तिमा केही कमी भए पनि विभिन्न सञ्चारमाध्यममा ग्यासको समग्र आपूर्ति व्यवस्थापनमा नै समस्या भएको भन्ने सन्देश प्रवाह हुँदा उपभोक्ताले आवश्यकताभन्दा बढी भण्डारण गर्नेे प्रवृत्ति बढेकोे र कतिपय व्यावसायीबाट कृत्रिम अभाव सिर्जना गर्ने गरेको लगायतक तथ्य प्राप्त भएको छ ।”
आयोगले मध्यपूर्वमा उत्पन्न परिस्थिति र त्यसपछि देखिएको तनावका कारण विगत केही समयदेखि काठमाडौँ उपत्यकामा एलपिजी ग्यासको अभाव भई उपभोक्तामा चिन्ता र त्रास सिर्जना भएको भनी प्रकाशित एवं प्रसारित विभिन्न समाचारप्रति यस आयोगको ध्यानाकर्षण भएको छ ।
ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चित नगरौँ : निगम
नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक सञ्चित नगर्न आमउपभोक्तामा आग्रह गरेको छ । निगमका प्रवक्ता मनोज ठाकुरले साविककै परिणाममा ग्यासको आयात भइरहेको स्पष्ट पार्नुभयो ।
“नेपालको मासिक खपत ४५-४६ हजार मेट्रिक टन हो । हरेक महिना सोही परिणाममा आयात भइरहेको छ । फागुन २६ गतेसम्म ४५ हजार ५०० मेट्रिक टन आयात भएको छ”, प्रवक्ता ठाकुरले भन्नुभयो, “घरघरमा ग्यासको भण्डारण गरेर जोखिम नमोल्न आग्रह गर्दछु ।”
ग्यासको बिक्री वितरण सहज बनाउन निगमले निर्देशन दिइरहेको स्पष्ट पार्दै उहाँले कहीँकतै अनियमितता भएको देखिए सूचना दिन आग्रह गर्नुभयो । पछिल्लो समय मध्यपूर्वी मुलुकमा विकसित घटनालाई लिएर उपभोक्ताबाट ग्यासको माग उच्च देखिएपछि निगमले आधा सिलिण्डर ग्यास बिक्री गर्न उद्योगलाई निर्देशन दिएको छ । ग्यास उद्योगले आजदेखि ७ दशमवल १ किलो ग्यास भरेर सिलिण्डर बजारमा पठाएका छन् । रासस